कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुख–दु:खमा साथ दिने संस्कृति

रोल्पा — मगर परिवेशमा कुनै बेला परम्परा धान्न भान्सामा मदिरा (जाँड–रक्सी) अनिवार्य थियो । यो समुदायका हरेक प्रचलन, पर्व र संस्कारमा मदिराको प्रयोग सामान्य हो । मैतालुले कोसेलीका रूपमा जोखेरै एक धार्नी रक्सी–जाँड ल्याउने चलन कायम छ । समुदायमा धार्नी मदिरा भए मात्र कोसेली पूरा भएको मानिन्छ ।

चेलीले कोर्रे (काठबाट बनाइएको ठेकीजस्तै रक्सी राख्ने भाँडो) मा आफैंले बनाएको जाँड–रक्सी पाहुर (कोशेली) का रूपमा लैजान्छन् । यदि चेलीबेटी माइतीमा जाँदै गर्दा दाजुभाइ वा आफन्तसँग बाटैमा भेट भइहाले त्यहींनेरै खाजाका रूपमा मदिरा ‘पाहुरका रूपमा’ चखाउने गर्छन् । मगर चेलीले माइतीमा जाँदा तयारी खाना बोकेरै लैजाने प्रचलन छ । चेली वा मैतालुले गहुँको रोटी, पकाएको मासुको परिकार, फलफूल र घरमा तयार पारेको तयारी खाना बोक्छन् ।


माइती जाने चेलीले पाहुरका रूपमा तयारी खाना बोकेरै जाने चलन पुरानै हो । चेलीको बिहेबारी जति टाढा भए पनि आफ्नै संस्कारअनुसारको कोसेली लैजाने चलन अहिले पनि कायम छ । परम्परा धान्न मगर परिवेशमा मदिरालाई बढी मान्यता दिने गरेको पाइन्छ । मगर समुदायमा जन्म, बिहेबारी र मृत्यु संस्कारका क्रममा जाँड–रक्सीको बढी प्रयोगको विकल्प छैन । भाइबन्धु र मैतालुले कोसेलीका रूपमा रक्सी नै लिई आउने प्रचलन सुरुदेखि नै चलेको हो । यो चलन पुस्तौंअघि पनि हाबी थियो ।


मगर समुदायमा मृत्यु संस्कार पूरा गर्न मदिराको प्रयोग गर्ने चलन छ । कुलदेवता पुज्न, पुर्खाको नाममा छिट्याउन (देवता र पुर्खालाई चढाउन) र आगन्तुकलाई ‘सगुन’ बाँड्न मदिरा प्रयोग हुन्छ । मृत्यु संस्कारमा मगर पुरोहित (भान्जालाई पुरोहित मान्ने चलन छ) ले यसकै प्रयोग गरी काजकिरिया पूरा गर्छन् । मैतालुले लिने कोसेली होस् वा मृत्यु संस्कारलाई विधिपूर्वक सम्पन्न गर्दा होस् जाँड–रक्सी खोजेरै प्रयोग गर्ने चलन छ । अहिले भने यसको प्रयोग घटदै गएको छ । अहिले समुदायमा मिठाइँ, गोरस (दूध, दही) र फलफूलको प्रयोग गर्न थालेका छन् ।


संस्कारगत मूल्य मान्यता र विधि पूरा गर्न भने यसैकै प्रयोग गरिन्छ । पछिल्लो पुस्ताले यसको प्रयोग गर्न छाडेको पाकाले बताए । महिलाले सेवन गर्न थालेपछि प्रयोग घटेको हो ।


समुदायमा मृत्यु संस्कारका बेला चेलीका साथै भाइबन्धु (सगोत्रीय) ले जोखेरै जाँड–रक्सी पाहुरका रूपमा पुर्‍याउने चलन छ । मदिराका साथै भाइबन्धुले चामल, मकै र जौको पिठो लैजाने चलन छ । यसरी अन्न लिएर सुख–दु:खमा साथ दिने चलन परम्परादेखि चल्दै आएको हो । मगर संघ जिल्ला अध्यक्ष कुम पुनमगरले यस्तो चलनले परम्परा धानेको बताए । ‘एकले अर्कालाई सघाउने र साथ दिने उद्देश्यले यस्तो चलन सुरु भएको हुनुपर्छ,’ पुनले भने, ‘चलन हराउँदै गएको छ, चिन्ता बढेको छ ।’ विविध कारणले पुख्र्यौली चलन र संस्कार बदलिँदै छ । मृत्यु संस्कारका क्रममा शव बाँध्ने सेतो कपडा (स्थानीय भाषामा ‘बाटो’ भन्ने चलन छ) पनि भान्जा र इष्टपट्टिकाले खरिद गरी लैजाने चलन छ । कम्तीमा ३ देखि १३ दिनसम्म सगुन र ‘पञ्चामृत’ का रूपमा जाँड–रक्सी प्रयोग गर्ने चलन छ ।


मगर संस्कृतिका अध्येता खेमबहादुर बुढामगरका अनुुसार हरेक संस्कार र पर्वमा सहयोग गर्ने परम्परागत प्रचलन हो । आदिमकालदेखि चेलीले खानेकुरा पाहुरका रूपमा लिएर माइतीमा आउने चलन रहेको उनले बताए । ‘दु:ख–सुखका बेलामा सगोत्रीय भाइबन्धु भेला हुने र अन्न तथा नगद पैसा जुटाउने चलनले तत्कालीन समयमा आर्थिक सहजता मिलेको हुनुपर्छ,’ उनले भने । दु:ख परेका एकले अर्कालाई दाउरा, घाँस, अन्नपात र पैसा उपलब्ध गराएर सघाउने चलन जिल्लाका अन्य जातजातिमा पनि केही मात्रामा रहे पनि मगर समुदायमा झन् गहिरो गरी झाँगिएको छ ।


मृत्यु भएपछि तत्काल आफन्त र मलामीले घरदेखि घाटसम्म नगद पैसा जम्मा गर्छन् (जसलाई स्थानीयले ‘संगाती’ भन्छन्) । उक्त रकम चेलीबेटीलाई बाँड्ने चलन छ तर आधुनिकताको प्रभावले मगर समुदायको परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको उनको निष्कर्ष छ । उनका अनुसार तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा मगर समुदाय प्रत्यक्ष रूपमा प्रभावित भएकाले मगर संस्कृतिमाथि संकट वृद्धि भएको हो ।


लोप हुने कारण

कम्युनिस्टको गतिविधि, भारतीय र बेलायती सेनामा मगरको आबद्धता र बढदो धर्म परिवर्तनको प्रत्यक्ष प्रभाव संस्कृतिमाथि परेको अगुवाको भनाइ छ । ‘आफ्नो संस्कृति भुल्दै गएका छन् । धार्मिक परिवर्तन पनि संस्कृति लोप हुने कारण हुनसक्छ,’ जिल्ला समन्वय समिति प्रमुख राजबहादुर बुढामगरले भने ।’ मगरले ‘वराह’ लाई मुख्य देवताका रूपमा पुज्छन् ।


जलजला क्षेत्रलाई ‘बाह्र भाइ वराह’ मध्यको मुख्य धार्मिक केन्द्र मानिन्छ । अन्य जातिले समेत पुज्ने वराह देवताका मुख्य पुजारी मगर समुदायकै हुन्छन् । जलजला मूल थलो भए पनि रोल्पा(रुकुमका अधिकांश क्षेत्रमा ‘बाह्र भाइ वराह’ फैलिएको विश्वास छ । जलजलामा वर्षको तीन पटक पूर्णिमाका दिन विशेष पूजाआजा गरिन्छ । मगरका मुख्य पर्व भूमे र माघे संक्रान्तिलगायत हुन् ।


जिल्लामा तीव्रतर भइरहेको धर्म पविरर्तनले मगर समुदायलाई बढी प्रभावित तुल्याएको छ । कुन धर्म अँलाल्दै आएको छ वा कुन धर्मालवम्बीमा पर्छन् भन्ने निश्चय नभएकाले मगर संस्कृति र प्रचलन खतरामा परेको अध्येता बुढामगरको निष्कर्ष छ । उनी भन्छन्, ‘मगरको निश्चित धर्म छैन, प्रकृति पूजक हुन् भनिएकाले मगरले आफ्ना संस्कृति गुमाएका हुन् ।’


उनले कम्युनिस्ट गतिविधिले मगरको आफ्नै संस्कृति र प्रचलनमाथि प्रत्यक्ष प्रभाव पारेकाले भाषा र संस्कृति लोप हुने अवस्थामा पुगेको बताए । परम्परागत रूपमा मगर समुदायले पूर्वीय दर्शनमा आधारित आस्था विश्वास मान्दै आएको जस्तो भए पनि उनीहरूको गतिविधि हिन्दू धर्मप्रति पूर्ण रूपमा नमिलेको दाबी उनले गरे । मगरमा परसंस्कृति ग्रहण र परधर्म पालन गर्नेको संख्या अत्यधिक रूपमा वृद्धि भइरहेको छ ।


जलजला बहुमुखी क्याम्पस उपप्रमुख गोकर्ण पुनमगरका अनुसार मगरको संस्कृति र प्रचलन लोप हुनुमा पछि भित्रिएको संस्कृति र गतिविधि मुख्य कारण छ । उनले विभिन्न पेसा र अध्ययनका लागि मुलुकबाहिर पुग्ने मगरमार्फत् अन्य धर्म र जातको संस्कृति सरेकाले मगरको ‘मौलिकता’ हराएको बताए । मगरहरूमा ‘लाहुरे’ संस्कृतिप्रति उच्च आकर्षण र विश्वास गर्ने चलन भएकाले आफ्नो मौलिक संस्कृति लोप भएको थाहै नपाएको अवस्था भएको उनको धारणा छ । करिब ४५ प्रतिशत मगरहरू रहेको रोल्पामा एउटै प्रकारको मगर भाषा छैन ।


जिल्लाका विभिन्न भागमा बेग्लाबेग्लै शैलीको मगर भाषा बोलिन्छ । मगर भाषा अध्ययन गरेका लिबाङ निवासी भोलानाथ आचार्यले मगरको आफ्नै भाषा पनि लोप हुने अवस्थामा पुगेको बताए । उत्तरका थबाङ, कुरेली, मिरुल, पूर्वका गाम, जेलबाङ र उवा तथा मध्य रोल्पाका माडीचौर, भाबाङ, जंकोट, कोटगाउँ, होमा, लिबाङ र धबाङलगायतका गाउँहरू एकापसमा गाँसिएका भएद पनि ती स्थानमा फरक(फरक शैलीमा मगर भाषा बोलिन्छ ।


राजनीति र नीति निर्माणको तहमा रोल्पा–रुकुमका मगर नेताहरू पटक–पटक सत्तामा पुगे पनि उनीहरूले मगर भाषा र संस्कृति संरक्षणका लागि ठोस पहल गरेको पाइँदैन । रुकुमपूर्वका केही स्थानबाहेक मगर बाहुल्य जिल्लामा मगर भाषामा विद्यालयमा पढाइ हुने व्यवस्था मिलाइएको छैन । स्थानीय पाठ्यक्रम निर्माणको विषयमा मगर नेतृत्वबीच वर्षौंदेखि विवाद हुँदै आएको छ ।

प्रकाशित : माघ ५, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?