कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानी संरक्षणमा बजेट

हरि गौतम

रुकुमपूर्व — चालु आर्थिक वर्ष जिल्लामा पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत १५ योजना सञ्चालन हुने भएका छन् । प्रतिनिधिसभा सदस्य कमला रोकाले जिल्लाका तीन गाउँपालिकामा भौतिक पूर्वाधार निर्माणका काम गर्ने गरी योजना छनोट गरिएको बताइन् ।

तातोपानी संरक्षणमा बजेट

अधिकांश बजेट भौतिक संरचना निर्माणमा खर्चिन योजना बनाइएको छ । पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ४ करोडमध्ये ३ करोड ९६ लाख रुपैयाँका विभिन्न योजना सञ्चालन हुनेछन् । ४ लाख रुपैयाँ प्रशासनिक खर्चका लागि जिल्ला समन्वय समितिमा राखिएको छ ।


यस वर्ष ६ सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ । ५ भवन निर्माण गर्न कार्यक्रम तथा बजेट तय गरिएको छ । यसैगरी विद्युत् उत्पादन र तातोपानी संरक्षणमा पनि बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी ६५ लाख रुपैयाँ पुथाउत्तरगंगा गाउँपालिका १२ को छमारीदेखि त्रिवेणी सडकमा विनियोजन गरिएको छ ।


दोस्रोमा भूमे गाउँपालिका–२ र ७ नम्बर वडाको सिमाना मारिङमा बनाइँदै गरेको कृषि अनुसन्धान केन्द्र जोड्ने सडक बाघतारे–गुनाम–मारिङ सडकमा ५० लाख विनियोजन गरिएको छ ।


सिस्ने गाउँपालिका २ को नायगाडदेखि १ नम्बर वडाको सिस्ने जोड्ने सडकमा ४० लाख, भूमे गाउँपालिका ६ र ७ वडामा पर्ने लाबाङदेखि तामरी सडक निर्माणमा ४० लाख छुट्याइएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटमा अल्पकालीन सुरक्षित आवासगृह निर्माणमा ३० लाख, पुथाउत्तरगंगा गाउँपालिकाको ११ वडाको छेरापाङा–नाम्टी–तातुङ्ग सडकमा २५ लाख र ३ नम्बर वडाको रन्मामा स्वास्थ्य भवन बनाउन २१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


यसैगरी सिस्ने गाउँपालिका ७ को सान्चौरमा विद्यालय भवन बनाउन २० लाख, सोही गाउँपालिका २ को छिपखोलामा बन्दै गरेको छिपखोला लघु जलविद्युत् आयोजनाका लागि २० लाख, सिस्ने गाउँपालिका २ को हिमालय माविमा छात्रावास बनाउन २० लाख बजेट विनियोजन गरिएको छ ।


पुथाउत्तरगंगा गाउँपालिका १४ नाखादेखि जामाबगर झर्ने सडकका लागि १५ लाख, सोही गाउँपालिका १ मैकोटमा सामुदायिक महिला भवन बनाउन १५ लाख र २ नम्बर वडाको हार्दिबाङमा विद्यालय भवन बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ । सिस्ने गाउँपालिका ४ को तातोपानी मुहान संरक्षणमा १० र भूमे गाउँपालिका २ को त्रिवेणी माविमा तारबार गर्न १० बजेट विनियोजन गरिएको छ ।


परामर्श समिति तथा निर्देशक समितिको बैठकबाट योजना छनोट तथा बजेट विनियोजन गरेको सांसद रोकाले बताइन् । ‘स्थानीय तहबाट आएका सिफारिस, स्थानीयको माग, आवश्यकता र महत्त्वको आधारमा कार्यक्रम छनोट तथा बजेट विनियोजन गरिएको छ,’ उनले भनिन्, ‘यो वर्षमा यी नै योजना प्राथमिकतामा परे ।’ उनले कार्यक्रम गरी बजेट विनियोजन गरिएपछि कामका लागि अख्तियारीसमेत सम्बन्धित स्थानीय तहमा गइसकेको जानकारी दिइन् । ‘उपभोक्ता समिति बनाउने र काम गर्ने मात्रै बाँकी छ, पूर्वाधार क्षेत्र विकास कार्यक्रमका अरू प्रक्रिया टुंगिएर अब कार्यान्वयनमा जान मात्रै बाँकी छ,’ सांसद रोकाले भनिन् ।

प्रकाशित : माघ ५, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?