कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घाँस बोकेर क्याम्पस

दुर्गालाल केसी

दाङ — नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता क्याम्पस बिजौरीमा केही दिनदेखि विद्यार्थी कापी, कलमसँगै विभिन्न किसिमका घाँसपात बोकेर प्रवेश गरिरहेका छन् । कोही घाँस काट्ने हँसिया त कोही पकाउने ठूल्ठूला भाँडाका साथमा छन् ।

क्याम्पस पढ्ने विद्यार्थीले यस्तो के गरेका होलान् ? सडक छेउमै रहेको क्याम्पसमा बाटोबाट देख्नेहरू अचम्म मान्छन् ।


क्याम्पसमा आयुर्वेद उत्तरमध्यमा (कविराज) अध्ययनरत विद्यार्थीहरू पढेको ज्ञानलाई व्यवहारमा बदल्दै स्थानीय जडीबुटीबाट विभिन्न औषधि उत्पादन गरिरहेका छन् । जंगल र पहाडमा जाने, जडीबुटी खोज्ने, काट्ने, बोक्ने अनि क्याम्पसमा आउने ।


विद्यार्थीको दिनचर्या नै अर्कै छ । कविराज तेस्रो वर्षमा अध्ययनरत दिनेशप्रसाद आचार्य यस्तै काममा व्यस्त छन् । उनी क्याम्पस गएर किताब मात्रै पढ्दैनन्, दिनभर जडीबुटी खोज्छन् अनि अर्को दिन त्यसलाई काट्ने, पकाउने, छान्ने र प्रशोधनको काम गर्छन् । उनीजस्तै तेस्रो वर्षका ३६ जना विद्यार्थी जडीबुटीबाट विभिन्न औषधि बनाउन व्यस्त छन् ।


‘सुुरुमा चिन्नै समय लाग्यो । जंगलमा गएर सरहरूको सहयोमा जडीबुटी खोजियो,’ आचार्यले भने, ‘त्यसपछि जडीबुटीलाई काट्ने, पिस्ने, पकाउने, छान्नेजस्ता काममा व्यस्त छौं ।’ सामान्यतया क्याम्पस जाँदा कापी–किताब र झोला बोकेर गइन्छ तर आयुर्वेदका विद्यार्थी भने जडीबुटी काट्ने हँसिया, कुट्ने, पिस्ने औजार, पकाउने भाँडा, छान्ने कपडाजस्ता सामान बोकिरहेका हुन्छन् । किताबमा पढेको कुरा व्यावहारिक रूपमा सिक्न पाउँदा धेरै अनुभव हासिल भएको उनले बताए ।


अब व्यावसायिक रूपमै औषधि उत्पादनको योजना बनाएको आचार्यले बताए । ‘अधिकांश जडीबुटी यहीं पाइन्छन् । स्थानीय जडीबुटीबाट महत्त्वपूर्ण औषधि बनाउन सकिन्छ,’ उनले भने, ‘बाहिरको औषधि महँगोमा किन्नुभन्दा गुणस्तरीय औषधि यहींबाट पाउन सकिन्छ । हामीसँग भएको स्रोत साधनलाई उपयोग गरी पढेको ज्ञानलाई व्यावसायिक बनाउन थालेका छौं ।’


दोस्रो वर्षकी मलक्षा लम्साल पनि जडीबुटीबाट विभिन्न औषधि बनाउन व्यस्त छिन् । उनको कक्षाका ३८ जना विद्यार्थीलाई पनि त्यही काममा भ्याइनभ्याइ छ । शिक्षकको निगरानीमा औषधि बनाउन चाहिने सामग्री र बनाउने विधिबारे विस्तृत जानकारी पाएको उनले बताइन् । ‘आफैं प्रत्यक्ष काममा सहभागी हुँदा धेरै ज्ञान हासिल भएको छ,’ उनले भनिन्, ‘हामीलाई थप काम गर्ने हौसला पनि मिलेको छ ।’


स्थानीय स्तरमा पाइने जडीबुटीबाट च्यावनप्रास, त्रिफला चूर्ण, सितोपलादी चूर्ण, भुवनेश्वरी बटी, शिलाजित शोधन, चुर्णोदक, कञ्जली, पुदिना स्वरस, पारिजात कल्क, त्रिफला क्वाथ, स्फटिक भष्म, टकणं भष्म र गन्धक शोधन गरी १३ प्रकारका औषधि निर्माण भइरहेको क्याम्पसका आयुर्वेद कार्यक्रम संयोजक डा. मनोज अधिकारीले बताए ।


‘यी औषधि निर्माणका लागि आवश्यक पर्ने अधिकांश जडीबुटी यहीं नै पाइन्छन्,’ उनले भने, ‘केही–केही मात्रै भारतबाट मगाउनुपर्छ । भारतलगायत अन्य ठाउँमा बन्ने औषधिमा यति धेरै प्राकृतिक जडीबुटी प्रयोग हुन पाउँदैन ।’ विद्यार्थी आफैंले जडीबुटी चिन्ने र औषधि बनाउने काम गरेकाले यसलाई व्यावसायिक तरिकाले उत्पादन गर्न उनीहरू सक्षम भइरहेको उनले बताए ।


जिल्लामा पुनर्नवा, शालपर्णी, मुग्दपर्णी, बला, कष्टकारी, बिल्व, बासा, गुर्जो, गम्भारी, गिनेरी, अमलालगायतका जडीबुटी प्रशस्त भएकाले यसबाट औषधि उत्पादनमा सहजता भएको डा. अधिकारीले बताए । आयुर्वेदका अधिकांश औषधि ५२ प्रकृतिका जडीबुटीबाट उत्पादन हुने गरेको र त्यसमध्ये ४८ वटा सहजै उपलब्ध भइरहेको उनले बताए ।


विद्यार्थीले प्रयोगात्मक अभ्याससँगै व्यावसायिक तरिकाले नै औषधि उत्पादन गर्न थालेपछि उनीहरूलाई यसमा प्रोत्साहन गरिरहेको क्याम्पस प्रमुख माधव अधिकारीले बताए । पहिलो चरणमा एक क्विन्टल च्यावनप्रास उत्पादन गरिरहेको उनले जानकारी दिए । ‘स्थानीय जडीबुटीबाट यति धेरै मात्रामा औषधि उत्पादन गर्न थालेपछि हामीलाई पनि उत्साहित बनाएको छ,’ उनले भने, ‘विद्यार्थीले किताबमा पढेका कुरालाई व्यावहारिक अभ्यास गर्न खोज्दा उनीहरूको सिर्जनशीलता उजागर भएको छ । सबै व्यावसायिक उत्पादन गर्न सकिनेमा विश्वस्त भएका छन् ।’


विद्यार्थीले व्यावसायिक उत्पादन थालेपछि क्याम्पसले प्राविधिक सहयोग गर्ने उनले बताए । संस्कृत विश्वविद्यालय आयुर्वेदकै कारण परिचित भएकाले औषधि निर्माणमा जोड दिइएको अधिकारीले बताए । आयुर्वेद उपचार पद्धति पूर्वीय दर्शनको महत्त्वपूर्ण अंग भएकाले यसलाई व्यावहारिक उपयोगमा बढावा दिन विद्यार्थी सक्रिय भइरहेको उनले बताए ।


‘धेरैजसोले सैद्धान्तिक पाठ मात्रै पढ्छन् । काम गर्दैनन् । यहाँ पढेको ज्ञानबाट व्यावसायिक उत्पादनमै लाग्न थालेका छन्,’ उनले भने, ‘अधिकांश मान्छे अहिले आयुर्वेद औषधिमै भर परिरहेका छन् । यस्तो बेला विद्यार्थीले स्थानीयस्तरमै गुणस्तरीय औषधि बनाउन थालेपछि बिरामीलाई ठूलो राहत मिल्छ ।’ संस्कृत विश्वविद्यालयअन्तर्गत बेलझुन्डीमा आयुर्वेद डक्टरको पनि पढाइ भइरहेकाले औषधिको परीक्षण र गुणस्तर सुनिश्चिततामा सहज भएको उनले बताए ।

प्रकाशित : माघ ९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?