कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेथेले मनग्गे आम्दानी

मधु शाही

बाँके — आलु खेतीसँगै बारीमा उम्रेको बेथे बिक्री गरेर कोहलपुर–७ की चमेली केसीले घर खर्च चलाउँदै आएकी छन् । आलु किसानको खेतमा उनले अनुमति लिएरै बेथेको साग टिप्छिन् र बजारमा बिक्री गर्छिन् । 

‘अर्कैको बारीमा उम्रिएको बेथेको साग सित्तैंमा पिटेर बजारमा ल्याई बिक्री गर्छु,’ उनले भनिन्, ‘लगानी गर्नु पर्दैन, एक मुठा बिक्री गर्दा १० देखि २५ रुपैयाँसम्म आम्दानी हुन्छ ।’ सागको मुठाको आकार र गुणस्तरका आधारमा मूल्य निर्धारण गर्ने गरेको उनले बताइन् । यो व्यापार चमेलीको लगानीबिनाको शतप्रतिशत मुनाफा हो ।


उनले दिउँसोमा टिप्ने र साँझ–बिहान बिक्री गर्ने गर्छिन् । सित्तैंमा खेतमा उम्रिएको बेथे बेचेर उनले मासिक २० हजार रुपैयाँ सजिलै कमाउने गरेको बताइन् । यतिबेला बेथे उम्रिने सिजन हो । आलु, बन्दा गोपी, काउली, गहँुलगायत खेतीभित्र बेथे पाइन्छ । किसानको लगानी र मिहिनेतबिनै बेथे उम्रिन्छ । त्यसैले उनीहरू त्यसलाई टिपेर बजारसम्म लैजाने सोच राख्दैनन् ।


केसीजस्तै बेथेको साग टिपेर शतप्रतिशत नाफा कमाउने धुनमा लागेका महिला कोहलपुरमा थुप्रै छन् । गाउँमा भन्दा सहरी क्षेत्रमा बेथेको साग निकै चासोका साथ किन्ने गरेको कोहलपुर–११ की अनिता परियारले बताइन् । दिनभरि घरमा बसेर समय खर्चिनु उचित लाग्दैन उनलाई । आफ्नो खेती गर्ने जमिन छैन । जागिर खाने पढाइ छैन ।


उनले बेथे टिपेर बजारमा ल्याउने काम साथीबाटै सिकेको बताइन् । कतिपय किसानले खेतबाट आलु नै चोरी हुने डरले खेतमा पस्न नदिने अनिताले सुनाइन् । कोहलपुर–१३, सिम्री गाउँमा अहिले बेथे टिप्नेको भीड छ । कतिले घरमै खान टिप्छन् भने कतिले बजारमा बिक्री गर्न ।


६० वर्षीया पंकी बुढाथोकीको दैनिकी चलाउने आय आर्जन नै बेथेको साग बिक्री हो । बेथेको साग टिप्न उनलाई लगानी लाउनु पर्दैन । त्यसैले व्यापार गर्न सजिलो भएको उनले सुनाइन् । उनी बेथे टिप्नकै लागि कोहलपुरका विभिन्न भित्री गाउँमा डुल्छिन् । जतिसक्दो लोकल देखिने बेथे खोज्नु उनको मुख्य ध्येय हुन्छ । कोहलपुर कृषि मेला र हवलदारपुरको कृषि मेलामा उनले बेथे नै बेच्ने गरेको बताइन् । बजारका मान्छेले स्वादिलो मान्ने भएकाले उनले साग आफैंले केलाएर बेच्ने गरेको सुनाइन् ।


कलिला पात टिपेर सफा गरी टोकरीमा सजाएर राख्छिन् । यो सबै गर्दा उनको मिहिनेत बढी लाग्छ । त्यही मिहिनेतको पैसा अरुको तुलनामा बढी लिने गरेको उनले बताइन् । ‘साग केलाएर सफा पारिदिन्छु,’ उनले भनिन्, ‘सजिलो मान्दै मान्छेहरू बढी पैसा दिन तयार हुन्छन् ।’


हवलदारपुरकी ३५ वर्षीया मिठु चौधरी खेती किसानी गर्छिन् । तर, उनले खेतमा लगाएको तरकारीभन्दा सित्तैंमा उम्रिएको बेथेको बिक्रीबाट मनग्गे आम्दानी गर्ने गरेको बताइन् । मसुरो खेती गरेकी उनले त्यसभित्र उम्रिएको बेथे बेचेर पुस र माघ महिनामा मात्रै ५० हजार रुपैयाँ कमाएको सुनाइन् । ‘जाँगर गर्नुपर्‍यो, बेथे बेचेर टन्नै कमाइ हुन्छ,’ उनले भनिन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?