कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडकमा लापरबाही : कालोपत्रे उप्काएर ग्राभेलमा मिसमास

मनोज पौडेल

कपिलवस्तु — हुलाकी मार्गअन्तर्गत लुम्बिनी–तौलिहवा खण्डको निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ । निर्माण कम्पनीले पुरानो पिच उप्काएर नयाँ ग्राभेलमा प्रयोग गरिरहेको छ ।

हुलाकी सडकमा लापरबाही : कालोपत्रे उप्काएर ग्राभेलमा मिसमास

नयाँ ग्राभेल गर्नुपर्नेमा पहिलाको कालोपत्रे उप्काएर फोहरसहित एक ठाउँबाट अर्कोमा प्रयोग गरिरहेका छन् । यसरी निकालिएका पदार्थ एक ठाउँमा डम्प गरिन्छ । त्यसपछि अर्को ठाउँमा लगेर प्रयोग गरिरहेका छन् ।


सम्झौताअनुसार १० मिटर चौडा सडकको ३८ सेन्टिमिटर मोटाइ रहने उल्लेख छ । २१ किलोमिटर तौलिहवा–लुम्बिनी खण्डका ठाउँ–ठाउँमा यस्तो काम भइरहेको छ । अहिले सडकको लेबल मिलाइसकिएको छ । ६/७ किमि बाँकी छ । पुराना पिच उप्काएर त्यसमुनिको ग्राभेल निकालेर प्रयोग गर्दा निर्माण कम्पनीलाई लाभ हुने गर्छ ।


एक साताअघि सदरमुकाम नजिक मैनिहवामा पुरानो पिच र ग्राभेल झिकेर अर्को ठाउँमा लैजाँदै गर्दा स्थानीयले विरोध गरेका थिए । सर्तभन्दा बाहिर गएर गुणस्तरहीन काम गरेको कपिलवस्तु नगरपालिका–८ का वडाध्यक्ष शिवकुमार पाण्डेले बताए ।


भैरहवा–लुम्बिनी–तौलिहवा खण्डअन्तर्गत सडक फराकिलो बनाउने काम भइरहेको छ । सन् २०२१ सम्म निर्माण पूरा गर्ने लक्ष्य छ । उक्त खण्ड फराकिलो बनाउन २ अर्ब रुपैयाँमा ठेक्का लगाइएको हो । गावर कन्स्ट्रक्सन लिमिटेडले ठेक्का लिएको हो । उक्त कम्पनीले पेटी ठेक्का लगाएर काम गराइरहेको छ ।


जिल्लास्थित शुद्धोदन गाउँपालिकाको बिमिहादेखि तौलिहवासम्म १० किमिको यो सडक भैरहवाको चैतन्य निर्माण सेवाले १५ करोड रुपैयाँमा ठेक्का लिएको छ । अहिले चैतन्यको कार्यक्षेत्रअन्तर्गत मैनिहवामा काम रोकिएको छ । ‘ठेकेदारले नयाँ ग्राभेल राखेर काम गर्नुपर्छ,’ सांसद अतहर कमालले भने, ‘पुरानो प्रयोग गर्नु छलछाम हो ।’ पटक–पटक ठेकेदारलाई गलत काम नगर्न आग्रह गरेको उनले बताए । अटेर गरेपछि स्थानीय विरोधमा उत्रिएको उनले बताए ।


सम्झौता अनुसार काम गरेको चैतन्य निर्माण कम्पनीका सञ्चालक विक्रम मल्लले बताए । सडकबाट निकालिएको कालोपत्रे र ग्राभेल अन्यत्र लगेर प्रयोग गरेको उनले स्वीकारे । अहिलेको सडक ३ सय ५ मिटरसम्म सजिलै हेर्न मिल्ने गरी बनाइरहेको उनले बताए ।


त्यसैले लेबल मिलाउन पुरानो खन्नु परेको उनले बताए । गावर कन्स्ट्रक्सनका कार्यक्रम निर्देशक पवन नयनले सडक निर्माण कार्य तोकिएको मापदण्डअनुसार भएको दाबी गरे । निर्माणका लागि जिल्ला समन्वय समितिले महेन्द्रकोटस्थित कोन्द्रे खोलाबाट उपलब्ध गराउने गरी तोकिएको परिमाणको गिटी भने अहिलेसम्म नपाएकाले समस्या परेको उनले बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?