कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तु जोगाउन उच्चस्थली

नवीन पौडेल

परासी — अघिल्लो वर्ष नारायणीमा आएको बाढीले चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तु बगायो । गैंडा, बाघ, हरिण, बँदेल लगायत आँखैसामु बगेको सबैले देखे । त्यसरी बगेका प्राणीको तत्काल उद्धार गर्न सकिएन ।

पूर्वी नवलपरासीको गैंडाकोटदेखि पश्चिम नवलपरासीको सुस्तासम्म नदीको बहाव घटेपछि धेरै वन्यजन्तु मृत अवस्थामा भेटिएका थिए । बगेर मर्नेमा दुर्लभ एकसिंगे गैंडा पनि थिए । अधिकांश त्रिवेणी ब्यारेजमा अडकिएका थिए ।


भारत पुगेर अलमलिएका गैंडालाई लामो समयपछि फिर्ता ल्याइएको थियो । एउटा गंैडा सुस्ता हुँदै बच्चासहित निकुञ्जसम्म आइपुग्यो । यहाँ बसेनि बाढीका कारण वन्यजन्तु बग्ने खतरा बढेपछि नवलपुरको देवचुलीमा उच्चस्थली निर्माण गरिएको छ ।


नारायणी किनारमा अग्लो स्थान निर्माण गरिएको छ । बाढी आउँदा होस् या अन्य खतराका बेला वन्यजन्तु त्यही अग्लो स्थानमा आएर बस्न सकून् भन्ने उद्देश्यले उक्त स्थान बनाइएको हो । तराई भू–परिधि कार्यक्रम (ताल), मध्यवर्ती क्षेत्र र स्थानीय उपभोक्ताको पहलमा साढे ११ लाख रुपैयाँ लगानीमा मुलुकमा पहिलो पटक उच्चस्थली निर्माण गरिएको हो ।


बाढीले गैंडासँगै अन्य वन्यजन्तु बगाएर भारत पुर्‍याउने हुँदा सुरक्षाका लागि उक्त क्षेत्र बनाइएको उच्चस्थली निर्माण समितिका संयोजक नेत्र पाण्डेले बताए । ‘वन्यजन्तु हाम्रा सम्पत्ति हुन्, यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘नारायणी वरपरका वन्यजन्तु बर्सेनि बगेर भारत पुग्ने गरेका छन् । धेरै त मर्छन् । त्यसैले सुरक्षाका लागि यस्तो उपाय अनपाएका हौं ।’ यो उपाय सफल भएमा अन्य स्थानमा पनि निर्माण गरिने बताए । अघिल्लो वर्ष आएको बाढी निकुञ्जभित्र पसेको थियो । त्यस क्रममा सुरक्षित स्थान अभावमा धेरै वन्यजन्तु बगेका थिए ।


जमिनबाट २ मिटर उचाइमा उच्चस्थलीमा निर्माण गरिएको छ । यसको मुख्य उद्देश्य गैंडा जोगाउने रहेको छ । गैडासँगै अन्य वन्यजन्तु आएर बस्न सक्छन् । निर्माण पूरा भएको तीन महिनामै गंैडा आएर आराम गर्न थालेको छ । त्यसमा अन्य वन्यजन्तु पनि रमाउने गरेको स्थानीय ढुण्डीराज केसीले बताए । ‘मानिसलाई बाढी बाट जोगाउन पूर्वतयारी आवश्यक परेजस्तै वन्यजन्तु र र त्यसमा पनि लोपोन्मुख जनावरको संरक्षणमा पूर्वतयारी आवश्यक देखियो,’ उनले भने,‘ मुलुकभरका ठूला नदी किनारमा यस्तो स्थल निर्माण आवश्यक छ ।’


खानेपानी योजना

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत गुन्द्रही ढकाहा सामुदायिक वनभित्र वन्यजन्तुका लागि पानी तान्ने बोरिङ गाडिएको छ । मध्यवर्ती वनमा पहिलोपटक स्वचालित पानी तान्ने बोरिङ जडान गरिएको हो ।


वन्यजन्तुको स्थायी बासस्थान निर्माणका लागि वनभित्र सौर्य ऊर्जाबाट सञ्चालन हुने बोरिङ गाडिएको हो । आवाज नआउने भएकाले वन्यजन्तुलाई असर नगर्ने संरक्षणकर्मीले बताए । करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी योजनाले सुक्न लागेका सिमसार क्षेत्रको अस्तित्व जोगाएको छ । घाम लाग्न सुरु भएपछि यसले लगातार पानी फ्याँकिरहन्छ ।


गर्मी तथा हिउँद याममा वनभित्रका सिमसार क्षेत्रमा पानी सुक्न जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुन जान्छ । वन्यजन्तु पानीका लागि भौंतारिन नपरोस् भन्ने उद्देश्यले खानेपानी योजना सञ्चालन गरिएको स्थानीय नरबहादुर महतोले बताए । ‘मानवलाई जस्तै वन्यजन्तुलाई पनि पर्याप्त पानी र सिमसार क्षेत्रको आवश्यकता छ । ‘वन्यजन्तु देखाएर पर्यटन व्यवसाय चलाएका छौं । त्यसैले तनका लागि उपयुक्त वातावरण बनाउनु आवश्यक छ ।’ पानी भएको स्थानमा गंैडा, मृगजस्ता प्राणी आउने भएकाले जंगल सफारी गर्ने पर्यटकले सजिलै हेर्न पाएको उनले बताए ।

प्रकाशित : माघ २९, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?