कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चालकको लापरबाहीले दुर्घटना’

दुर्गालाल केसी

दाङ — लमही– घोराही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३, मसोटखोलानजिक बिहीबार बेलुका यात्रुबाहक बस र कार ठोक्किए । तीव्र गतिमा रहेको कार बसमा ठोक्किएपछि मोडिएर अर्को दिशामा फर्किएर नालीमा पर्‍यो । बस अनियन्त्रित भएर पल्टियो । बसले च्यापिएर बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भयो । कारमा सवार प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भए । गम्भीर घाइते ओलीको एक दिनपछि हेलिकप्टर मार्फत काठमाडौं लगेर मेडासिटी अस्पतालमा उपचार भइरहेको छ ।

‘चालकको लापरबाहीले दुर्घटना’

घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद ओली सवार बा१८च ६८३६ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो । यसैगरी शुक्रबार घोराही–१७, कटुवाखोलामा घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना६ख १५३३ नम्बरको बसले रा१ह २४३३ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा अटोमा सवार घोराही–१८, गिठेपानीकी ५३ वर्षीया मंगली विकको मृत्यु भयो । अन्य ३ जना घाइते भए । मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै आइतबार घोराहीमा प्रदर्शन गरे । जिल्ला प्रहरीमा पुगेर ध्यानाकर्षण गराए ।


पुस ९ मा घोराही–१४, नयाँबजारनजिक बसको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएपछि उनीहरूका आफन्तले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरे । बजार बन्द गराउँदै हिंडे, केही गाडीमा तोडफोड गरे । भीड नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुपर्‍यो । जिल्ला प्रहरीमा लामो समय तनाव भयो । तीन दिनको छलफलपछि मात्रै आफन्तहरू शव बुझ्न तयार भए ।


पुस ६ गते तुलसीपुर–३, राम्रीमा घोराहीस्थित कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टिच्युटका शिक्षक र विद्यार्थी चढेको बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा १९ विद्यार्थी, दुई शिक्षक, गाडीका चालक र सहचालक गरी २३ जनाको मृत्यु भयो । वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरू प्रयोगात्मक अभ्यासका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानको अवलोकन गरी फर्किने क्रममा दुर्घटना हुँदा बस सडकदेखि ७ सय मिटर तल भिरमा खसेको थियो ।


केही समयअघि चितवन गीतानगरबाट दुलही लिएर बाँकेको राप्ती सोनारी गाउँपालिका–८, शमशेरगन्ज जाँदै गरेको गाडी लमही नगरपालिका–९, रिहारनजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । दुलाहाका बुबाआमा चढेको बा१२च ३१२२ नम्बरको स्कार्पियो जिप महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना५ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किंदा स्कार्पियोमा सवार दुलहाका बुबाआमासहित ६ जनाको मृत्यु भएको हो । विवाहको तयारी भइरहेको गाउँ एकाएक शोकमा डुब्यो । जिल्लामा बर्सेनि दुर्घटना बढै गएका छन् । अघिल्लो वर्ष ८६ दुर्घटना भएकामा यस वर्षको साउनदेखि पुससम्म मात्रै १ सय ९८ दुर्घटना भइसकेका छन् । जसमा ५७ जनाको ज्यान गइसकेको छ भने १ सय ४ जना घाइते भएका छन् ।


यस वर्षको ६ महिनामा १६ हजार ७ सय ८१ सवारी साधन कारबाहीमा परिसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । जसबाट १ करोड २ लाख ३३ हजार जरिवाना संकलन भएको छ । ‘यति धेरै सवारी साधन कारबाहीमा पर्नुले पनि सडकमा कति लापरबाहीपूर्वक गाडी चल्छन् भन्ने कुरा संकेत गर्छ,’ प्रहरी प्रमुख पाण्डेले भने, ‘सडक असुरक्षित भइरहेका छन् । दिनहुँ दुर्घटना हुने र मानिसको ज्यान जाने क्रम बढिरहेको छ ।’


आर्थिक वर्ष ०७३/७४ देखि यस वर्षको पुससम्म जिल्लामा ४ सय २४ दुर्घटनामा परी १ सय ८४ जनाको ज्यान गइसकेको र ३ सय १० जना घाइते भएको पाण्डेले बताए । यस अवधिमा ७८ हजार ५२ सवारी साधन कारबाहीमा परेका छन् । जसबाट जरिवाना बापत ३ करोड ८२ लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको एसपी पाण्डेले बताए ।


दुर्घटना बढ्न थालेपछि प्रहरीले पनि न्यूनीकरणका विभिन्न उपाय अपनाएको छ । चालकको लापरबाहीले धेरै दुर्घटना हुने भएकाले चालकलाई सचेतना अभियान चलाइएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पीताम्बर अधिकारीले बताए । राजमार्गमा चालकको स्वास्थ्य परीक्षण गर्नुका साथै चालक, सहचालक र यात्रुहरूलाई सुरक्षित यात्राबारे सचेत पार्ने गरेको उनले बताए ।


‘लामो दूरीका गाडीलाई राजमार्गमा रोकेर प्रशिक्षण दिने र चालकको स्वास्थ्य जाँच गर्ने गरिएको छ,’ प्रदेश प्रहरी प्रमुख अधिकारीले भने, ‘चालकले सावधानी नअपनाउँदा दुर्घटना बढी भइरहेका छन् ।चालकलाई नै बढी जिम्मेवार र गम्भीर बनाउने खालका रचनात्मक अभियानमा जोड दिएका छौं ।’


सडक र गाडीको अवस्थामा प्रहरीको हात नहुने भएकाले दुर्घटना न्यूनीकरणमा समस्या भएको उनले बताए । ‘सडकको दुर्दशा छ । सडकमा खाल्डाखुल्डी छन् । छेउमा बार, रेलिङ छैनन् । सडक राम्रो नभएपछि दुर्घटनाको जोखिम हुन्छ,’ उनले भने, ‘ट्राफिक सचेतनासँगै सडक सुरक्षामा पनि ध्यान दिनुपर्छ ।’


दुर्घटना न्यूनीकरणकै लागि सडक सुरक्षा परीक्षण गर्ने काम भइरहेको उनले बताए । ‘कता बढी जोखिमपूर्ण सडक छन्, कता सुरक्षित छन् भन्नेबारे प्राविधिक सर्वेक्षण गरिरहेका छौं,’ उनले भने, ‘यसले दुर्घटना न्यूनीकरणका काम गर्न मार्गनिर्देश गर्नेछ । दुर्घटना कम गर्ने प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको छ ।’

प्रकाशित : फाल्गुन १, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?