कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

राजमार्ग सफाइमा मुख्यमन्त्री

कान्तिपुर संवाददाता

रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश स्थापना दिवसका अवसर पारेर बिहीबारबाट राजमार्ग सरसफाइ अभियान सुरु गरेको छ । प्रदेशको सीमा क्षेत्र पूर्वमा नवलपरासीको बर्दघाट र पश्चिममा बर्दियाको चिसापानीबाट अभियान सुरु गरिएको हो ।

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले आपंैm सडक सफाइ गर्दै अभियानको शुभारम्भ गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीले शपथग्रहण गरेको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै शुक्रबार सार्वजनिक बिदासमेत दिएको छ । सोही अवसरमा सरकारले सडक सरसफाइदेखि विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।


सरकारको निर्णयअनुसार बिहीबार पूर्व–पश्चिम राजमार्गका मुख्य ६ स्थानबाट मुख्यमन्त्री र मन्त्री एकैसाथ सरसफाइ अभियानमा सहभागी भएका थिए । मुख्यमन्त्री पोखरेलले बुटवल पाखापानीको मनकामना चोक, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बाँकेको कोहलपुर चोक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले बर्दियाको भुरिगाउँ, सामाजिक विकास मन्त्री सुदर्शन बरालले दाङको लमही चोक, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्द्रौटा चोक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पश्चिम परासीको बर्दघाटबाट अभियानको शुभारम्भ गरेका थिए ।


मुख्यमन्त्री र मन्त्रीले सुरु गरेको अभियानमा स्थानीय तहले साथ दिँदै सातामा एक दिन राजमार्ग सफाइ अभियान चलाउने मुख्यमन्त्री पोखरेलले बताए । ‘अब आफ्नो घर मात्र सफा गरेर पुग्दैन,’ अभियान शुभारम्भ गर्दै उनले भने, ‘सातामा एक दिन कम्तीमा राजमार्ग सफा गर्ने बानी बसालौं ।’


राजमार्ग सरसफाइसँगै प्रदेश ५ सरसफाइ गर्न राजमार्गबाट अभियान सुरु गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगर र यस क्षेत्रमा पर्ने राजमार्गलाई सुन्दर र हरियाली बनाइने बताए ।


साताको सार्वजनिक बिदाको दिन गरिने सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, प्रहरीलगायत सर्वसाधारणको समेत सहभागिता हुने गरी कार्ययोजना गराइएको सुवेदीले बताए । प्रदेश स्थापना दिवसमा शुक्रबार सार्वजनिक बिदासँगै प्रदेशभर दीपावली गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बताए ।


सेनाको अगुवाइ

पाल्पामा फोहोर बढेपछि नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ । पर्यटकीय नगर प्रवेशमै फोहोर देखिएपछि बिहीबार सरसफाइ गरिएको हो । नगर आसपासमा फोहोर थुपिंँदा सडक दायाँबायाँको क्षेत्र दुर्गन्धित बनेको थियो । तानसेन बसपार्कदेखि सिद्धार्थ राजमार्गको प्रवास क्षेत्रसम्मको झन्डै १० किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको हो ।


स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले यस क्षेत्रमा सरसफाइको काम नगरेकाले फोहोर बढेको थियो । ‘१० टिपरभन्दा बढी फोहोर व्यवस्थापन गरिएको छ,’ नेपाली सेनाको गोरख दल गणका सेनापति सुरज थापाले भने, ‘यस्तो फोहोर हेरेर बस्न मन लागेन, त्यही भएर संयुक्त सरसफाइ अभियान थालेका हौं ।’


गणको अगुवाइमा सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका साथै विद्यार्थी र स्थानीय टोल विकास संस्थाको सहभागिता थियो । तानसेनमा पहिलोपटक यसरी राजमार्ग क्षेत्रमै बृहत् सरसफाइ गरिएको हो । सडकका छेउछाउमा रहेका प्लास्टिकका साथै अन्य फोहोर संकलन गरिएको मेजर मनोज डंगोलले बताए ।


पर्यटकीय नगर तानसेन प्रवेश गर्ने प्रवासदेखि लामडाँडा, बर्तुङ, काजीपौवा, होलाङदी, बारुदखानलगायतका स्थानमा अत्यधिक फोहोर बढेको स्थानीयको गुनासो आएपछि सरसफाइ गरिएको उनले बताए ।


‘बसपार्कदेखि बर्तुङ लामडाँडा पर्यटकको नजरमा पर्ने क्षेत्र हुन्,’ ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर गिरीले भने, ‘यस सरसफाइ अभियानले धेरै राम्रो सन्देश गएको छ ।’ सरसफाइमा टोल विकास संस्था र स्वस्फुर्त रूपमा स्थानीयको समेत सहभागिता थियो । भुसालडाँडा माविको एनसीसी समूहका विद्यार्थीका साथै शिक्षकले समेत सरसफाइमा सहयोग गरेका थिए ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?