कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्ती प्रादेशिक अस्पताल : नाम फेरियो, काम फेरिएन

दुर्गालाल केसी

दाङ — राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको छ । पहिले राप्ती अञ्चल अस्पताल रहेकामा अहिले प्रदेश ५ सरकार मातहत चल्ने गरी प्रादेशिक भएको छ । नाम फेरिए पनि सेवासुविधा र जनशक्तिमा कुनै अन्तर आएको छैन ।

राप्ती प्रादेशिक अस्पताल : नाम फेरियो, काम फेरिएन

बिरामीको चाप बढ्दो छ तर चिकित्सकहरूको संख्या अत्यन्त न्यून छ । १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकामा हाल ५ जना मात्रै कार्यरत रहेको निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डा. सर्वेश शर्माले बताए । सबै विषयका विशेषज्ञ नहुँदा उपचारमा समस्या भएको उनले बताए । ‘एनेस्थेसिया, नाक, कान, घाँटी, बाल, हड्डीजस्ता महत्त्वपूर्ण विषयका विशेषज्ञ छैनन्,’ उनले भने, ‘बेहोस पार्ने डाक्टर नहुँदा बिरामीको अप्रेसन गर्नसमेत समस्या छ । गर्न सकिने अप्रेसन पनि रोक्नुपर्ने बाध्यता छ ।’


उपकरण र सामग्रीभन्दा जनशक्तिलाई जोड दिनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । ‘जनशक्ति भएपछि बिस्तारै उपकरण पनि थप्दै जान सकिन्छ । अहिले त आवश्यक चिकित्सक नै नभएर समस्या भयो,’ उनले भने, ‘एक जना डाक्टर बिदा बसे कसरी उपचार गर्ने भन्ने तनाव हुन्छ ।’


दुईवटा मेसिन राखेर एक चरणमा ८ जना बिरामीलाई मिर्गौलाको डायलसिस गर्ने गरे पनि बायोमेडिकल इन्जिनियर नहुँदा मेसिनको प्रयोगमा समस्या हुने गरेको उनले बताए । ‘मेसिनले काम नगरे हामीलाई थाहा हुँदैन । बिग्रियो कि के भयो भन्ने कुरामा अनुमान लगाउन मात्र सकिन्छ,’ उनले भने, ‘मेसिनबारे जानकारी हुने इन्जिनियर नभई यसलाई प्रभावकारी रूपमा चलाउन सकिंँदैन । आवश्यक जनशक्ति नभएपछि मेसिन मात्रै भएर के गर्नू ?’


१६ विशेषज्ञको दरबन्दी भएको अस्पतालमा १६ जना नै मेडिकल अधिकृत हुनुपर्नेमा ४ जना मात्रै भएको डा. शर्माले बताए । भएका पनि सरुवा भएपछि नयाँ नआएको उनले बताए । समायोजनका नाममा अड्किरहेको र नयाँ व्यवस्था हुन नसकेको शर्माले बताए । ‘इमर्जेन्सीमा राख्ने डाक्टर छैनन् । बिरामीले डाक्टर भेटिंँदैनन् भनेर गुनासो गर्छन्, हामीलाई गाली गर्छन्,’ उनले भने, ‘मान्छे नै नभएपछि हामी के गरौं ! आफैं कति ठाउँ बसेर साध्य हुन्छ ?’ १८ जना नर्सको दरबन्दी भए पनि आवश्यकताका कारण आन्तरिक स्रोतबाट ३२ जना राखेर सेवा दिइरहेको उनले बताए ।


जनशक्ति कम भए पनि बिरामीको चाप भने बढै गएको उनले बताए । पुसभन्दा बिरामी दोब्बर बढेर अहिले दैनिक ३ सयसम्म पुगेको उनले जानकारी दिए । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन र विवादले उपचार प्रभावित भएपछि तुलसीपुरमा चाप बढिरहेको छ । महिनामा ३ सयभन्दा बढी सुत्केरी हुने गरेको डा. शर्माले बताए ।


अस्पतालको आवश्यकता अध्ययन गरेर दरबन्दी थप्ने र डाक्टर व्यवस्था गर्ने काममा सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘अध्ययन नगरी दरबन्दी राखेर हुँदैन । अस्पतालमा भइरहेको सेवा र बिरामीको चाप हेरी जनशक्ति व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘दरबन्दी तत्कालै थपेर डाक्टरको व्यवस्था गर्नुपर्छ । एउटा विभागमा कम्तीमा पनि दुई जना विशेषज्ञ चाहिन्छ । एकजना बिदा बस्दा पनि अर्कोले काम चलाउन सकिन्छ ।’ एक जना मात्रै विशेषज्ञ भएको अवस्थामा बिदा बस्दा उपचार नै बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए ।


अस्पताल प्रादेशिक भएपछि प्रदेश सरकारबाट अस्पताल सदृढीकरणअन्तर्गत ३ करोड ३६ लाख बजेट आएको र त्यसबाट इन्डोसकोपी मेसिन, लास घरको फ्रिज, शय्यालगायतका अत्यावश्यक सामग्री खरिद गर्न थालेको डा. शर्माले जानकारी दिए । अहिले भवन पनि सानो भइरहेको उनले बताए । सामग्रीसँगै पर्याप्त भवन र जनशक्ति भएमा उपचार प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?