कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वलडाकुको उद्यमी जीवन

दुर्गालाल केसी

दाङ — सिन्धुलीको सुनकोसीबाट राजकुमार तामाङ कामको खोजीमा दाङ आए । चिनजानका व्यक्तिको सम्पर्कबाट ०५६ मा उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालमटियाको पेट्रोल पम्पमा काम पाए । १५ वर्षे ठिटो इन्धन बेच्ने र हिसाब राखिदिने काममा लागे ।

पूर्वलडाकुको उद्यमी जीवन

उनले काम गरेको ३ वर्ष नबित्दै ०५९ मा तत्कालीन विद्रोही माओवादीले पेट्रोल पम्प कब्जा गरे । साहू प्रभात घिमिरेलाई विस्थापित बनाए ।


तामाङ अलपत्र परे । केही समय साहूको घर कुरेर बसे तर बिनाकाम सधैं यसरी बस्न सम्भव भएन । अब कता जानू ? कब्जा भएको घरमा बेलाबेला माओवादी आइरहन्थे । त्यही क्रममा उनको चिनजान भयो र अन्त्यमा लडाकु भएर भूमिगत भए ।


पेट्रोल पम्पमा काम गरिरहेकै बेला ०५८ मा स्थानीय मुक्त कमलरी लोकमाया चौधरीसँग विवाह भइसकेको थियो । आफू पनि घरवारविहीन, पत्नी पनि कमैया परिवारकी । राजकुमार युद्धमा होमिएपछि लोकमाया फेरि कमलरी बस्न काठमाडाैं गइन् । शान्तिप्रक्रिया सुरु भएपछि राजकुमार रोल्पाको दहवनस्थित लडाकु शिविरमा बसे ।


सुरुमा उनलाई सेना समायोजनमै जाने रहर लागेको थियो तर दहवन शिविरमा बस्दा उनी बन्द जीवनबाट वाक्क भए । अन्त्यमा स्वेच्छिक अवकाश रोजेर ०६९ मा शिविरबाट निस्किए । फर्कंदा आफ्नो घर थिएन । पत्नी आफन्तकहाँ बसेर जीवन चलाइरहेकी थिइन् । उनले शिविर छाड्दा पाएको ५ लाख रुपैयाँ थियो । केही समय साढुदाइको बारी छेउमा टहरा बनाएर बसे । अवकाशबापत पाएको ५ लाख रुपैयाँले एउटा घडेरी किने । ‘अब घर बनाउने पैसा थिएन । के गर्नु ?’ राजकुमारले भने, ‘सधैं अर्काको जग्गामा बसेर पनि भएन । अन्त्यमा राप्ती गाउँपालिका–२ मुक्तिनगरस्थित सरकारी खाली जग्गामा बस्न थाल्यौं ।’


५ हजार रुपैयाँ ऋण निकालेर उनले कुखुरापालन थाले । सुरुमा २ सय चल्ला किने । कुखुराको मलबाट तरकारी खेती गर्न थाले । कुखुरापालन र तरकारी खेती राम्रै फस्टायो । अहिले उनले वार्षिक १२ लाख रुपैयाँको कुखुरा बिक्री गर्छन् । १८ सय कुखुरा छन् । आलु, टमाटर, मकै खेती पनि गरेका छन् । १६ बाख्रा पालेका छन् । दुवै काममा खट्छन् । उक्त कमाइबाट अहिले थप ६ कठ्ठा जग्गा किनिसकेका छन् । छोरा रञ्जित १० र छोरी सोनु ७ कक्षामा पढिरहेका छन् ।


राजकुमार अझै पनि लडाकु हुँदाको फौजी पोसाकमा कुखुरा फर्म र तरकारी बारीमा काम गरिरहेका भेटिन्छन् । आफ्नै कमाइले राम्रो घर बनाएका छन् । परिवार सुखी र खुसी छ । विगतको जीवन सम्झँदा राजकुमार अचम्म मान्छन् । ‘जीवन कहाँबाट कहाँ पुग्यो । सिन्धुलीमा भएको जग्गा पनि पहिरोले बगाइसकेको थियो । केही बचेको जग्गा पनि ऋण तिर्दा गयो,’ उनले भने, ‘हामी दुवै जनाको जीवन उस्तै खालको दु:खद थियो । अहिले भने जीवन धेरै बदलियो ।’


युद्धमा होमिँदा उनले गरिबी अन्त्य गर्ने र जनताको शासन ल्याउने सपना देखेका थिए तर जीवन बदल्न उनी आफैंले मिहिनेत गर्नुपर्‍यो । ‘युद्धले हामीलाई गरिबीबाट माथि उठाउन सकेन । हाम्रो जीवन आफ्नै मिहिनेतले बदल्यो,’ उनले भने, ‘त्यत्तिकै खेर गइरहेको सरकारी जग्गामा खेती गरेर कमाइ गर्‍यौं । अहिले घर गृहस्थी चलाउन सजिलो भएको छ ।’


देशभर बुधबार २४औं जनयुद्ध दिवस मनाइयो तर त्यही युद्धमा होमिएर किशोरावस्था बिताएका तामाङ भने आफ्नै बारीमा व्यस्त थिए । उनलाई दिवसले छुन सकेन । अब त्यतातिर कुनै चासो पनि छैन । आफ्नै काममा लिप्त छन् ।


लोकमाया पनि अहिले गाउँ–समाजको अगुवा भएकी छन् । उनी टोल विकास संस्थाको अध्यक्ष भएकी छन् । गाउँको अगुवाइ गरिरहेकी छन् । मुक्तिनगर बस्तीमा २ सय घर मुक्त कमैयाका छन् । त्यसमध्ये १ सय ३३ घर मुक्त कमैया परिचयपत्र पाएकाहरू छन् । अन्य सबै लोकमायाजस्तै कमैयाको सूचीमा नपरेका हुन् ।


लोकमाया पनि उद्यम गरी जीवन बदल्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् । ‘बाल्यकाल कमलरी बसेर बित्यो । ठाउँठाउँमा काम गर्दै हिँडियो तर केही पाइएन,’ उनले भनिन्, ‘त्यो जीवन र यो जीवन धेरै फरक छ । विगत सम्झँदा सपनाजस्तै लाग्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?