कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामग्राममा टिक्दैनन् पर्यटक

भारतीय गाइडले केही घण्टाका लागि ल्याउने र भारतमा नै लगेर राख्ने प्रवृत्तिले नेपालको पर्यटन व्यवसाय समस्यामा
नवीन पौडेल

परासी — पश्चिम परासीका बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलमा विदेशी पर्यटकको आकर्षण बढ्दो छ । विदेशी पर्यटक लुम्बिनीसँगै रामग्राम स्तुपको दर्शन तथा अवलोकन गर्न आए पनि उनीहरू नेपालमा हवाई माग भएर आउँदैनन् ।

भारतमा हवाई मार्गबाट आउने र त्यसपछि स्थलमार्ग हुँदै केही घण्टाका लागि मात्र नेपाल प्रवेश गर्ने गरेका छन् । जसले गर्दा यस क्षेत्रका होटल तथा अन्य व्यवसायीले फाइदा लिन सकेका छैनन् ।


पुस ३० गते करिब ३ सय दक्षिण कोरियाली नागरिक (भिक्षु) पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आए । भारतीय नम्बर प्लेटका ६ वटा बसमा आएका उनीहरू करिब ३ घण्टा ध्यान गरेर फर्किए । भारतको बोधगयामा आएका उनीहरू स्तुप दर्शनका लागि मात्र आएका थिए । भिक्षुले स्तुपको परिक्रमा, पूजापाठसँगै ध्यान गरेका थिए ।


भगवान् गौतम बुद्धको भौतिक अस्तु रहेको एक मात्र रामग्राम स्तुप हो । स्तुप क्षेत्रमा पाइला टेकेर पुण्य लाभ लिने मान्यताले भारतमा आउने विदेशी भिक्षु यहाँ आउने गर्छन् । अधिकांश पर्यटक लुम्बिनी, रामग्राम स्तुप घुम्नका लागि भारतमा हवाई मार्ग हुँदै नेपाल स्थलमार्गबाट आउने गर्छन् । जसले नेपालमा धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन सकिएको छैन ।


पर्यटन व्यवसायी रमेश चौधरीले पर्यटक भित्रिनुभन्दा पनि कति समय टिक्छन् र कति पैसा खर्च गर्छन् भन्नेम ध्यान दिनु जरुरी रहेको बताए । ‘स्थलमार्ग हुँदै आउने पर्यटक न त यहाँ एक रात बिताउँछन्, न खाजा नै खान्छन्,’ उनले भने, ‘खुला सिमानाका कारण नेपाल प्रवेशको अनुमतिसमेत लिँदैनन् ।’ भारतीय गाइडले केही घण्टाका लागि ल्याउने र भारतमा नै लगेर राख्ने प्रवृत्तिले नेपालको पर्यटन व्यवसाय समस्यामा पर्दै गएको उनले बताए ।


लुम्बिनी र रामग्राम स्तुपमा आउने पर्यटकमध्ये अधिकांशले बेलहिया नाका हुँदै डिपार्चर स्टार्म लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ । तर, खुला सिमानाका कारण ठूला सवारीमा आउनेबाहेक साना भारतीय सवारीमा आउने विदेशी पर्यटकले कुनै पनि देशबाट अनुमति लिएको पाइँदैन ।


अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले विदेशस्थित राजदूतावासबाट भिसा लगाएर आएका पर्यटकका लागि बेलहिया नाकामा डिपार्चर स्टार्म दिएर मात्र नेपाल प्रवेश गर्न दिइने बताए । ‘भारतीय नाकामा पनि नेपाल प्रवेशको अनुमति खोजिन्छ,’ उनले भने, ‘अनुमति नलिइकन भारतीयबाहेक अन्य देशका नागरिक नेपाल प्रवेश गर्न पाउँदैनन् तर त्यस्तो पनि भएको छैन । चौबीसै घण्टा नाकामा चेकजाँच र सेवा प्रवाह हुने गरेको छ ।’


भारतको भिसा लगाएर नेपाल निर्धक्क घुम्दासमेत सरोकारवालाले यसतर्फ चासो दिएका छैनन् । धार्मिक पर्यटनका नाममा विदेशी नागरिक आउनु सुरक्षा चुनौती हो । ऐतिहासिक स्थलमा स्थलमार्ग हुँदै यसरी पर्यटक आउँदा नेपाललाई राजस्व घाटा लाग्नुका साथै महत्त्वपूर्ण सूचना चुहिने खतरामा नेपाली पक्ष संवेदनशील नभएको नेपाली पर्यटन व्यवसायीको भनाइ छ ।


‘पर्यटक नेपाल आउनु मात्र ठूलो कुरा होइन । कुन माध्यमबाट आएका छन्, हेक्का राख्नुपर्छ,’ पर्यटन व्यवसायी तजबिज बोटेले भने, ‘हवाई मार्ग र केही घण्टाका लागि स्थल मार्ग हुँदै नेपाल आएर फर्कंदा पर्यटन व्यवसायलाई फाइदा हुँदैन ।’ तथ्यांकमा धेरै विदेशी पर्यटक नेपाल आएको देखिए पनि यहाँको बसाइँ र खर्चको दर हेर्दा सन्तोषजनक छैन ।’


पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार भारतबाहेक अन्य मुलुकका नागरिक नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा भिसा लिनुपर्ने हुन्छ । ‘धार्मिक पर्यटक हुन् वा अन्य प्रयोजनका लागि आउने विदशी नागरिक, अनुमति अनिवार्य छ,’ उनले भने, ‘अझ ऐतिहासिक स्थलमा आउँदा वैधानिकताको खोजी हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन ४, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?