कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–भारत सीमामा संयुक्त गस्ती

सीमा सुरक्षालाई बलियो बनाउन सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्तीलाई प्राथमिकता दिएको छ 
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलको गतिविधि बढेको छ । सीमा सुरक्षालाई सहज बनाउन सशस्त्र प्रहरीले सीमामा संयुक्त गस्तीलाई प्राथमिकता दिएको छ ।

नेपाल–भारत सीमामा संयुक्त गस्ती

सशस्त्र र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्तीले दुई मुलुकबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको सन्देश दिन गस्ती बढाएको हो । संयुक्त गस्ती महिनापिच्छे हुने गरेको छ ।


मंगलबार बाँकेको डुडुवा गाउँपालिका–६, मुन्सीपुर्वा, गंगापुर, नरैनापुर गाउँपालिकको हुलासपुर्वा, मटैया सीमामा संयुक्त गस्ती गरिएको छ । त्यस क्षेत्रमा सीमा अतिक्रमण नभएको, दशगजा क्षेत्रमा खेती नगरिएको र सीमास्तम्भ ठीक र दुरुस्त अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लोपल्ट बाँकेको नेपाल–भारत सीमामा थप दुई बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएपछि सीमा सुरक्षा सहज भएको हो ।


बाँकेको विकट मानिने नरैनापुर र पश्चिम सीमा बढैयामा बीओपी स्थापना गरिएको छ । सीमामा सशस्त्र प्रहरीको १० देखि २५ किलोमिटर दूरीसम्म उपस्थिति छ । भारतले सीमा सुरक्षा भन्दै ३/३ किलोमिटरको दूरीमा एसएसबी तैनाथ गरेको छ । भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर खुला सीमा छ ।


जसका कारण सशस्त्र प्रहरीको बीओपीले लामो दूरीसम्म गस्ती गर्दै आएको छ । नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर ३० का गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले सीमामा संयुक्त गस्ती गर्नुका साथै सीमास्तम्भहरूको अवस्था निरीक्षण गर्दै आएको बताए ।


संयुक्त गस्तीले आपराधिक गतिविधि र चोरी तस्करी रोकिएको उनले बताए । ‘हामीले नियमित रूपमा सीमामा गस्ती गर्दै आएका छौं । हाम्रो उपस्थितिले सीमा सुरक्षासँगै चोरी तस्करीका घटना रोकिएका छन्,’ सशस्त्र प्रहरी उपरीक्षक शाहले भने, ‘नियमित रूपमा स्तम्भहरूको निरीक्षण गर्दै आएका छौं ।’ तर, सघन सुरक्षाका लागि अझै पनि बीओपी आवश्यक छ ।


नेपाल–भारत सीमा छुट्याउने बाँकेका मुख्य र सहायक गरी एक दर्जन सीमास्तम्भ वर्षौंदेखि हराएका छन् । हराएका सीमास्तम्भ खोजीका लागि पटक–पटक आवाज उठे पनि खोज्ने प्रयास गरिएको छैन । त्यस्तै, १९ भन्दा बढी स्तम्भ मर्मत गर्नुपर्ने अवस्थाका छन् । पूर्व कटकुइया र पश्चिम मानखोलासम्मको सीमाका मुख्य ५ (जंगे पिलर) र सहायक गरी दर्जनभन्दा बढी स्तम्भ राप्ती र मानखोलाले बगाएको हो ।


४ वर्षअघि आएको राप्ती नदीको बाढीले नरैनापुर गाउँपालिका भगवानपुरस्थित ६४३ (१४) नम्बरको सीमास्तम्भ बगाएको स्थानीयले बताए । उक्त स्तम्भ स्थानीय आफैंले खोज्ने प्रयास गरेका थिए । तर, सरकारको उदासीनताका कारण उक्त पिलरको अवस्था खुल्न सकेको छैन ।


बाँकेको सीमामा मुख्य र सहायक गरी ३ सय ७ स्तम्भ छन् । ३२ मुख्य स्तम्भमध्ये ५ राप्ती र मानखोलाले बगाएको हो । त्यस्तै २ सय ७५ सहायक स्तम्भमध्ये ५ वटा खोलाले बगाएको र ३ वटा हराएका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?