कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी बिक्रीबाटै वार्षिक ६ लाख

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१० पचेहराका रामवृक्ष केवटलाई ४ दशकअघिसम्म छाक टार्नै समस्या थियो । जागिर गर्न शिक्षा थिएन, व्यापार गर्न सम्पत्ति । पढाइका नाममा ७ कक्षा मात्र उत्तीर्ण गरेका थिए । ‘तरकारी खेती गर्ने जातै पर्‍यो,’ उनले भने, ‘त्यही भएर साथीभाइसँग ५ हजार रुपैयाँ सरसापट गरेर तरकारी खेती सुरु गरें ।’ 

तरकारी बिक्रीबाटै वार्षिक ६ लाख

०३५ सालबाट तरकारी खेती गर्न लागेका उनी अहिले भने लाखौंको मालिक बनेका छन् । २२ वर्षको उमेरबाट खेती गर्न लागेका उनी अहिले ६२ वर्षका भए । उमेर ढल्कँदै गए पनि तरकारी खेती गर्न उनलाई युवा जोस–जाँगर आउँछ । उनको जाँगर देख्नेहरू जिब्रो टोक्छन् ।


तरकारी पनि उनी बेमौसमी बढी लगाउँछन् । राम्रो पैसा हुने हुँदा यतैतिर बढी ध्यान दिएको उनले सुनाए । सबैभन्दा बढी उनी आलुको बीउ बेचेर कमाउँछन् । स्वाद मीठो र उन्नत जातको टीपीएस आलुको बीउ बेचेर उनी मालामाल छन् । यस वर्ष २ बिघा जमिनमा लगाएको आलुबाट ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले सुनाए ।


प्रथम पुस्ताको बीउ ३० क्विन्टल र दोस्रो पुस्ताको ५ क्विन्टल बीउ उत्पादन गरे । प्रथम पुस्ता डेढ सय र दोस्रो पुस्ता प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भएको थियो । टीपीएस प्रविधिबाट उत्पादित आलुको बीउ नै उनको मुख्य आम्दानी हो । उत्पादित प्रथम र दोस्रो पुस्ताका बीउ भैरहवास्थित चिस्यान केन्द्रमा राख्छन् । सिजन आएपछि कात्तिक–मंसिरमा त्यो बीउ बेच्छन् ।


टीपीएस आलु बीउ बेच्ने अगुवा कृषक उनले १५ वर्षदेखि आलुबाटै राम्रो आम्दानी गरेको बताए । ‘तयार भएको आलु र बीउ दुवै बिक्रीका लागि कुनै समस्या छैन,’ उनले भने, ‘घरमै किन्न आउँछन् ।’ सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रले पनि टीपीएस आलुको बीउ किन्न आफूकहाँ पठाउने गरेको उनले बताए । ‘आलु खेती फापेको छ,’ उनले भने, ‘यसैमा रमाएको छु । बर्सेनि ४ लाख रुपैयाँभन्दा बढी खनखनी गन्छु ।’


त्यस्तै ढेड बिघा जमिनमा लगाएको तरकारीबाट वार्षिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनले बताए । ब्रोकाउली, बन्दागोभी, टमाटर, लौका र करेला पनि लगाउँछन् । त्यस्तै बोडी, सिमी, फूलगोभी, घिरौंला र खुर्सानी पनि लगाउँछन् । अमुवा गाउँबाट बसाइँसराइ गरेका उनले यहाँ लाखौंको सम्पत्ति जोडेका छन् । आलु र तरकारी खेतीलाई आम्दानीको मुख्य आधार बनाएका छन् । सुरुमा आउँदा ५ कट्ठा जग्गा खरिद गरी तरकारी खेती थालेका थिए । अहिले तरकारीको आम्दानीबाटै १५ कट्ठा घडेरी र ४ बिघा खेत जोडेका छन् । १५ कोठे पक्की भवन छ ।


तौलिहवा–जितपुर सडक खण्डको मुख्य बाटो छेउमा ४० लाखभन्दा बढी मूल्य पर्ने ६ कट्ठा घडेरी किनेका छन् । ५ लाखभन्दा बढी बैंक ब्यालेन्स छ । उनी बिहानदेखि साँझसम्म कुटो–कोदालो लिएर खेतमा हुन्छन् । व्यापार गर्न बजार गएर श्रीमती र घरका परिवारले स्याहार गर्छन् । परिवारको साथ छ । ‘पैसा कमाउन विदेश जानु पर्दैन,’ उनले भने, ‘मिहिनेत र परिश्रम गरे घरवरिपरि नै पैसा छ ।’


तरकारी खेतीकै आम्दानीले छोरा रामशुभमलाई सीएमए पढाएका छन् । पम्पसेट, ढिकीपम्पलगायतका कृषि उपकरण जोडेका छन् । बालीमा लाग्ने रोगव्याधिको उपचार आफैं गर्छन् । अनुभवले खारिएका छन् । प्राविधिकलाई सोध्न जानु पर्दैन । प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना तरकारी जोन तौलिहवा प्रमुख राकेश ओझाले रामवृक्ष टीपीएस आलुको बीउ उत्पादन गर्ने प्रमुख अगुवा कृषक रहेको बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?