कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूतखोलामा दुना–टपरी

माधव अर्याल

पाल्पा — उपभोक्ता समितिकै पहलमा तिनाउ गाउँपालिका–३ भूतखोलामा दुना–टपरी उद्योग खुलेको छ । भूतखोला सामुदायिक वनको उपभोक्ता समूहले १ लाख ३५ हजार लगानीमा उद्योग खोलेको हो । त्यसमा डिभिजन वन कार्यालयले ७५ हजार रुपैयाँ सहयोग गरेको छ । 

भूतखोलामा दुना–टपरी

दुना–टपरी बनाउने दुई मेसिन जडान गरेर काम सुरु गरिएको अध्यक्ष डिलकुमारी रोकाले बताइन् । उद्योगमा सालको पातका दुना–टपरी उत्पादन भइरहेका छन् । ‘आर्थिक अवस्था कमजोर भएका महिलालाई सीप दिएपछि आम्दानीको भरपर्दो माध्यम बन्न सक्छ,’ उनले भनिन्, ‘बजारमा समेत टपरीको माग भएकाले बिक्रीमा समस्या नहोला ।’ यसले विपन्न, बेरोजगार महिलालाई स्वरोजगार बनाउन प्रेरित गर्ने उनले बताइन् । सिद्धार्थ राजमार्गको छेउमै रहेका उपभोक्ताले नजिकको जंगलबाट सालका पात टिपेर ल्याउँछन् र उद्योगलाई उपलब्ध गराउँछन् ।


सालका पातबाट बनेका दुना–टपरीको प्रयोगले प्लास्टिक न्यूनीकरणमा मद्दत पुग्ने डिभिजन वन प्रमुख मोहन पौडेलले बताए । उनले वातावरण तथा जैविक विविधताको संरक्षण र गरिबी निवारणमा दुना–टपरी उद्योगले सहयोग पुग्ने बताए । ‘उद्योगबाट यहींका जनताले फाइदा पाउने हुन्,’ उनले भने, ‘अन्य सामुदायिक वनले पनि सिको गर्नुपर्छ ।’ सचिव सन्तोष शेरचनले टपरी उद्योग सञ्चालन र दिगोपनाका लागि योजना नै बनाइएको बताए । ‘यसबाट समूहका महिला स्वरोजगार बन्न सक्छन् भन्ने देखेका छौं,’ उनले भने, ‘जसले गर्दा आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ ।’


तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिका सामुदायिक वनको धनी भए पनि स्वरोजगारका कार्यक्रम आउन नसकेको बताए । उनले आगामी दिनमा अन्य गाउँपालिकाले पनि यस्ता नमुना काम गर्न आग्रह गरे । दोभान कृषि बहुउद्देश्यीय सहकारीका अध्यक्ष चोपलाल गिरीले महिलाका लागि प्रमुख आय आर्जन हुने गरी काम गर्नुपर्ने बताए । सेक्टर वनका प्रमुख चन्द्रबहादुर भाटले साबिकको दोभानमा मात्रै ३६ वटा सामुदायिक वन भएको र गरिबी निवारणका कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले जलचर संरक्षणको अभियान गर्दै आएको उपभोक्ता समूले यस वर्ष पनि एक हजार माछाका भुरा तिनाउ खोलामा छाडेकामा प्रशंसा गरे ।


बगनासकालीमा तालिम बगनासकाली गाउँपालिका–६ यम्घा ठूलापोखरामा मेसिनबाट सालको पातका टपरी बनाउने तालिम चलेको छ । घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा ५ दिनसम्म तालिम चलेको हो । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले आधुनिक प्रविधिको प्रयोगले समयको सदुपयोगसँगै आय आर्जनमा टेवा पुग्ने बताए । ‘प्रविधिको सही काममा उच्चतम प्रयोग हुनु आवश्यक छ,’ उनले भने ।


जिल्ला समन्वय समितिकी उपप्रमुख मीरा मरासिनीले सीप, आर्थिक अवस्था र महिलाको अवस्थामा यसले सुधार हुने बताइन् । उनले हातमा सीप भएपछि त्यसले समाजलाई सकारात्मक प्रभाव पार्ने बताइन् । मागको आधारमा घरेलु तथा साना उद्योग कार्यालयले मेसिन उपलब्ध गराएको प्रमुख बालकृष्ण गैरेले बताए । यम्घाका २६ महिलालाई आधुनिक मेसिनबाट टपरी बनाउन सिकाइएको छ । खेर गइरहेका पातबाट महिलाले टपरी बनाएर आय आर्जन गर्न सक्ने वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । दुना–टपरी बनाउने तालिममा प्रशिक्षक दिलकुमारी थापाले

सहजीकरण गरेकी थिइन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?