कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सूचना केन्द्र : दैनिक पर्छन् १० उजुरी 

घनश्याम गौतम

रूपन्देही — सर्वसाधारणको गुनासो सुन्न र व्यवस्थापनका लागि तयार गरिएको प्रदेश सूचना केन्द्र प्रभावकारी बन्दै गएको छ । सूचना केन्द्रमा घरायसी लेनदेनदेखि सरकारी कार्यालयका ढिलासुस्ती, अनियमितता, विकास निर्माणको कमजोरीसम्मका उजुरी पर्ने गरेका छन् ।

प्रदेश सूचना केन्द्र : दैनिक पर्छन् १० उजुरी 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार मितव्ययी र पारदर्शी बन्ने घोषणा गरेका थिए । त्यही योजनाअनुरूप पोखरेलकै पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहने गरी गत कात्तिक दोस्रो साता सूचना केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फोनबाट समेत गुनासा टिपाउन सकिन्छ । अहिले फोन, इमेल, हुलाकलगायतबाट दैनिक १० वटासम्म उजुरी आउने गरेका छन् । आएका धेरै उजुरीको समाधानसमेत गरिएको छ ।

बुटवलको ज्योतिनगरकी माया गुरुङलाई पाल्पाको पीपलडाँडामा लु१ख ६८६५ नम्बरको बसले ठक्कर दियो । ठक्करबाट उनको दाहिने खुट्टा भाँचियो । उनी अहिले काठमाडौंको बी एन्ड बी अस्पतालमा उपचार गराउँदै छन् ।

उनको उपचारमा सहयोग गर्नुपर्ने सवारीधनीसँग पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरेपछि उनका श्रीमान् प्रकाश गुरुङले प्रदेश सूचना केन्द्रमा उजुरी दिए । केन्द्रमा परेको उजुरीकै आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र पश्चिम नेपाल बस व्यवसायी समितिलाई पत्राचार गर्दै तत्काल क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिएपछि अहिले सबै उपचार खर्च समितिले नै बेहोर्दै आएको श्रीमान् प्रकाशले बताए । ‘मैले उजुरी दिएको एक सातामै समितिले चासो दिएर उपचारमा सहयोग गर्‍यो,’ उनले भने, ‘अहिले सहज भएको छ ।’

बुटवल उपमहानगरपालिका–५ की मानकुमारी नेपालीले ४ धुर जग्गा किनिन् । तर, नापीका कर्मचारीले नाप्दा पौने चार धुर मात्र देखियो र त्यहीअनुसार नै लालपुर्जा बन्यो । महँगो मूल्यमा किनेको जग्गा गायब भएपछि उनले जग्गाधनीसँग तत्कालै गुनासो गरिन् । तर, पैसा तिरिसकेकाले जग्गाधनीले सुनुवाइ नै गरेनन् ।

उनले मंसिर ८ गते सूचना केन्द्रमा पुगेर उजुरी गरिन् । उनको समस्या मालपोत कार्यालय र जग्गाधनीसँग छलफल गरेर समाधान गरिएको केन्द्रका प्रमुख शाखा अधिकृत बुद्धप्रकाश पौडेलले बताए । केन्द्रमा यस्ता उजुरी ५ सयभन्दा बढी छन् । धेरैको समस्या समाधान गरिएकाले अहिले केन्द्र र सरकारप्रति विश्वास बढेकाले उजुरी गर्नेको संख्या पनि बढ्दो छ । ‘केही उजुरी अध्ययनकै क्रममा छन्,’ उनले भने, ‘समग्रमा गुनासा तत्काल सुनुवाइ हुँदा नागरिकमा सेवाप्रतिको विश्वास बढेको छ ।’

केन्द्रले प्रदेशको अस्थायी राजधानी बुटवलसँगै पश्चिम परासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र पाल्पामा समेत शाखा विस्तार गरेको छ । जिल्ला प्रशासनमा समन्वय इकाइ खोलेर गुनासा संकलन गर्ने गरिएको छ । केन्द्रले जिल्ला प्रशासन कार्यालयको सहयोगमा अहिले १२ वटै जिल्लाबाट सूचना संकलन गर्दैछ ।

जिल्ला समन्वय समितिलाई समेत यसमा जिम्मेवार गराउने र सूचना संकलन गरी साना समस्या स्थानीय स्तरबाटै व्यवस्थापन गर्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले बताए । ‘ती जिल्लामा विपत् व्यवस्थापनका लागि पनि आपतकालीन सूचना केन्द्र सञ्चालनको तयारी भइरहेको छ,’ मन्त्री केसीले भने ।

सूचना केन्द्रले सुशासन कार्यान्वयनसँगै बाढी, पहिरो, भूकम्प, आगलागी, महामारीजस्ता प्राकृतिक प्रकोपका विषयमा समेत सूचना लिने र दिने गर्छ । त्यसका लागि उद्धारका सामग्रीको समेत व्यवस्थापन गरेको छ । प्रदेशभरका सूचना संकलन गरिरहेको केन्द्रले स्थानीय तह र संघीय सरकारसँग समेत समन्वय गर्नेछ ।

सूचना व्यवस्थापनका लागि केन्द्रमा शाखा अधिकृत, अनुसन्धान प्रहरी, प्रहरी र कम्प्युटर अपरेटरसहित ५ जनाको टोली खटिएको छ । केन्द्रको काम प्रभावकारी बन्दै गएपछि मन्त्रिपरिषद्ले उपसचिवको नेतृत्वमा आईटी इन्जिनियरसहित ९ कर्मचारीको टिम बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?