कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सांसद् ओलीको शव दाङ पुर्‍याइयो

दुर्गालाल केसी

दाङ — प्रदेश सांसद् उत्तरकुमार ओलीको शव शुक्रबार दिउँसो हेलिकोप्टरबाट दाङ ल्याइएको छ । सडक दुर्घटनामा गम्भीर घाइते ओलीको शुक्रबार राति ३ बजे ललितपुरको मेडासिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रदेश सांसद् ओलीको शव दाङ पुर्‍याइयो

काठमाडौंस्थित नेकपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताहरुले श्रद्धाञ्जली अर्पण गरी ओलीको शव दिउँसो हेलिकोप्टरबाट दाङ ल्याइएको थियो । तुलसीपुरस्थित नेकपाको कार्यालयमा ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेता कार्यकर्ताहरुको भीड लागेको थियो । ओलीको शनिबार अन्त्येष्टि गरिने भएको छ ।


माघ २४ गते घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं. को बस र विपरीत दिशाबाट आएको सांसद् ओली सवार बा १८ च ६८३६ नं. को कार घोराही उपमहानगरपालिका ३ मसोटखोला नजिक ठोक्किएको थियो । बस अनियन्त्रित भएर पल्टिँदा रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा एक दिन राखेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं थियो । दंगिशरण गाउँपालिका ६ श्रीगाउँका ३७ वर्षीय ओली क्षेत्र नं. ३ ख बाट तत्कालीन एमाले तर्फबाट प्रदेश सांसद् निर्वाचित भएका थिए ।


ओलीका श्रीमती र दुई छोरा छन् । अनेरास्ववियूबाट राजनीति शुरु गरेका ओली एमाले जिल्ला सदस्य हुँदै सांसद् भएका हुन् ।


ओलीको निधनले दाङलाई ठूलो क्षति पुगेको भन्दै बिभिन्न क्षेत्रबाट शोक व्यक्त भएको छ । एक जुझारु युवा नेताको निधनले जिल्लाको विकासमा अपूरणीय क्षति पुगेको स्थानीय तहहरुले बताएका छन् । उनले पश्चिम दाङको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दंगिशरण गाउँपालिकाले शोकमा शुक्रबार सबै सरकारी कार्यालय बिदा गर्‍यो । गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय बिदा गर्ने निर्णय गरेको हो ।


यसैगरी तुलसीपुर उपमहानगरपालिकाले क्षेत्र नं. ३ ख अन्तर्गतका वडाहरु शोकमा बिदा गरेको छ । वडा नम्वर १, २, १० र ११ का कार्यालयहरु शुक्रबार शोकमा बिदा गरेको नगरप्रमुख घनश्याम पाण्डेले बताए । १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राखिने उनले बताए । पाण्डेले शोक विज्ञप्ति जारी गरी ओलीको निधनले दाङको राजनीतिमा ठूलो क्षति पुर्‍याएको बताएका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिले पनि शोक विज्ञप्ति निकालेर ओलीको निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलले विज्ञप्ति जारी गरी ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।


प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले पनि शोक विज्ञप्ति जारी गरी ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार शोकमा प्रदेशसभा सचिवालय बन्द रहेको र आफू पनि कुनै औपचारिक कार्यक्रममा सहभागी नभएको बताएका छन् । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र उपप्रमुख सिता सिग्देल न्यौपानेले शोक विज्ञप्ति जारी गरी ओलीको निधले दाङलाई अपूरणीय क्षति भएको जनाएका छन् ।


शान्तिनगर गाउँपालिकाले पनि ओलीको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा बसेको बैठकले ओलीको निधनले पश्चिम दाङको विकासमा क्षति पुगेको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?