कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरको योजनाले रोजगारी

कान्तिपुर संवाददाता

प्यूठान — प्यूठान नगरपालिकाले अबदेखि अनिवार्य एक वडा एक योजनमा श्रमिकबाट काम गराउनुपर्ने कार्यक्रम अगाडि सारेको छ । स्थानीय तहका जनप्रतिनिधिले डोजर/स्काभेटर प्रयोग गरेर कमिसन खाएका गुनासा बढेपछि यस्तो कार्यक्रम अघि सारिएको हो । प्यूठान–६ माझकोटको योजनाबाट यस कार्यक्रमको सुरुवात गरिएको छ ।

नगरको योजनाले रोजगारी

माझकोटको सुनार देवस्थल पदमार्ग निर्माणका लागि नगरपालिकाले विनियोजन गरेको ४ लाख ३६ हजार रुपैयाँको काम अब स्थानीयले गर्न थालेका छन् । गाउँको विकास गर्न भनेर आएको बजेटमा स्थानीयले काम गर्न पाउने भएपछि भारतमा नगएर यही काममा लागेको माझकोट निनुखर्कका गुमान पुनले बताए । साढे एक मिटर चौडाइसहितको ४ सय मिटर लामो पदमार्ग निर्माणमा दर्जनौं स्थानीय खटिएको उनले सुनाए ।


नगरपालिकाले ल्याएको कार्यक्रमबाट उत्साहित भएर पदमार्ग निर्माणको काममा लागेको स्थानीय चेतमान सुनारले बताए । ‘दक्ष ज्यामीका लागि दैनिक ६ सय ५० र अदक्ष ज्यामीका लागि ५ सय ५० रुपैयाँ पाउने गरी स्थानीय काममा लागेको उनले सुनाए । ‘गाउँमा आएको विकासले गर्दा स्वरोजगार भयौं,’ उनले भने, ‘अर्कोतर्फ गाउँको विकास पनि भएको छ ।’


स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नका लागि एक वडा एक अनिवार्य स्थानीय उपझोक्ताले गर्ने योजनाको कार्यत्रम बनाएको मेयर अर्जुनकुमार कक्षपतिले बताए । उनले यो कार्यक्रमले नगरभित्र झन्डै २ हजार बढीलाई रोजगारी मिल्ने बताए । यस वर्ष नगरपालिकाले स्थानीयले अनिवार्य आफैंले काम गर्ने योजनामा ५० लाख बढी बजेट विनियोजन गरेको बताए ।


‘६० प्रतिशतभन्दा धेरै बजेट सडकमा लगानी हुन्छ । सबै काम डोजरले गर्दा पैसाजति बाहिर जाने भयो भन्ने गुनासा धेरै भए,’ उनले भने, ‘गत वर्षको पाठ सिकेर यसफालि नयाँ कार्यक्रम ल्याएका हौं ।’ यो कार्यत्रमअन्तर्गतका सबै वडाका योजना वैशाखभरमा सक्ने गरी अगाडि बढिसकेको कक्षपतिले बताए ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?