कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौद्रिक नीतिविरुद्ध आन्दोलन

कान्तिपुर संवाददाता

भैरहवा — सरकारको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा व्यवसायीले आशा गरेअनुरूप नभएको भन्दै यहाँका व्यवसायी बैंकविरुद्धको आन्दोलनमा सडकमा उत्रिएका छन् ।

मौद्रिक नीतिविरुद्ध आन्दोलन

उद्योग व्यापार संगठन रूपन्देहीको अगुवाइमा यहाँका उद्यमी व्यवसायीले शुक्रबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा धर्ना दिए । २ घण्टासम्म उनीहरूले चर्को बैंक ब्याजदर घटाउनुपर्ने माग राख्दै कार्यालय घेराउ गरे ।


बैंकको ब्याजदर ८ प्रतिशत कायम गरिनुपर्ने, बैंकिङ सिन्डिकेट हटाइनुपर्ने, बैकिङ कालोबजारी बन्द गरिनुपर्नेलगायत माग राख्दै उनीहरूले कार्यालय घेराउ गरेका हुन् । १५ दिनभित्रमा चर्को ब्याजदर घटाउनेतर्फ पहल नगरिएमा उद्यमी व्यवसायीले आ–आफ्ना प्रतिष्ठान ताल्चा लगाउने र चाबी सरकारलाई बुझाउने चेतावनीसहितको ज्ञापनपत्र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामार्फत नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र सरकारलाई दिएको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । बैंकहरूलाई पनि लगानीका लागि तरलता नआओस् र उद्यमी व्यवसायीलाई पनि राहत हुने किसिमले उपयुक्त ब्याजदर निर्धारण गरिनुपर्ने माग व्यवसायीको रहेको उनले बताए ।


‘सरकारले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बैंकको चर्को ब्याजदरबाट प्रताडित उद्यमी व्यवसायीलाई राहत दिने किसिमको रहेन,’ अध्यक्ष भण्डारीले भने, ‘सरकारको उक्त समीक्षालाई आलोचनात्मक समर्थन गर्दै ब्याजदर ८ प्रतिशत कायम गरिनुपर्ने माग राख्दै आन्दोलनलाई निरन्तरता दिएका हौं ।’


नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका शाखा प्रमुख अशोक पौडेलले कतिपय कमर्सियल बैंकका सञ्चालक आफ्नो व्यवसाय छाडेर बैंक खोल्न लागेको र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भन्दै राष्ट्र बैंकलाई चुनौती दिएको बताए । ‘उनीहरूले एकातिर ब्याज बढाएकामा आफ्ना सीईओलाई धन्यावाद भन्दै धाप मार्ने र अर्कातर्फ बैंकको ब्याजदर बढी भयो भन्दै आन्दोलन गर्नु उपयुक्त भएन,’ पौडेलले भने, ‘दोहोरो चरित्र देखाउनु भएन ।’

प्रकाशित : फाल्गुन ११, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?