कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाकी सडक : संरचना भत्काउन प्रक्रिया सुरु

कमल पन्थी

बर्दिया — हुलाकी सडकअन्तर्गत मापदण्डविपरीत निर्माण गरिएका संरचना भत्काउने प्रक्रिया सुरु भएको छ । असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको सडकको बीच भागलाई केन्द्र बनाई दुवैतर्फ १२ मिटर विस्तार गर्ने मापदण्ड तोकिएको छ । मापदण्डभित्र बनेका घर र संरचना भत्काउन सर्वसाधारणलाई नगरपालिकाले आग्रह गरेको छ । 

हुलाकी सडक : संरचना भत्काउन प्रक्रिया सुरु

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले तीन दिनभिक्र अतित्रमण गरिएका संरचनाको संकेत चिह्न लगाइने र ३५ दिनको म्याद दिएर भत्काउन लगाउने बताए । ०३४ को राजपत्रले हुलाकी सहायक राजमार्ग सडकको केन्द्रविन्दुबाट दुवैतर्फ २१ मिटरको दूरीले ४२ मिटर कायम गरेको थियो । अहिले ४२ मिटर चौडा गर्दा धेरै संरचनामा क्षति हुने भएकाले तत्कालका लागि २४ मिटर कायम गरिएको अधिकृत पौडेलले बताए ।


लामो छलफलपछि शुक्रबार गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । ‘चिह्न लगाएपछि संरचना भत्काउने काम सुरु हुनेछ,’ प्रमुख यादवले भने, ‘विकासको काममा कसैले अवरोध गर्न मिल्दैन ।’ गुलरियास्थित तुलापुरबाट राधाकृष्ण चोक, प्रहरी कार्यालय मोडदेखि नेपाल–भारत सीमा सुरजपुरसम्मको सडक २४ मिटर फराकिलो बनाउने निर्णय भएको छ । सोही अनुसार भौतिक संरचनामा चिह्न लगाइनेछ ।


आयोजनाका इन्जिनियर सुरेश चौधरीका अनुसार करिब साढे ४ किमि सडक २४ मिटर फराकिलो बनाउँदा दर्जनौं घर, पर्खाल र संरचना भत्काउनुपर्ने हुन्छ । जिल्ला प्रशासन, नेपाल टेलिकम, नगरपालिका, हुलाक कार्यालयसहित सर्वसाधारणका संरचना पनि भत्किनेछन् । सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, हुलाकी आयोजना, सडक डिभिजन कार्यालय, सघन सहरी विकास आयोजनाका इन्जिनियरलगायत निर्माण व्यवसायीको उपस्थिति थियो ।


०७३ माघ ८ गते शिलान्यास भएको हुलाकी सडक ०७६ असारभित्र निर्माण सम्पन्न गरिने सम्झौता छ । सीमावर्ती मूर्तिहा हुँदै गुलरिया भुरीगाउँ र राजापुरसम्मको ५७ किमि हुलाकी सडक कालोपत्रे भइरहेको छ । सीमा निर्धारण गरिए पनि ठेकेदार कम्पनी र आयोजनाबीच भने ग्रामीण क्षेत्रमा २ लेनको सडकका लागि ७ मिटर चौडाइ कालोपत्रे र दुवैतर्फ २ मिटर फुटपाथ र नाली निर्माण गर्ने सम्झौता छ ।


सम्झौतामा सहरी क्षेत्रमा १२ मिटर कालोपत्रे निर्माण हुने निर्माण व्यवसायी तुलसी भण्डारीले बताए । ‘बजेट अनुसार काम गर्छौं,’ उनले भने, ‘थप फराकिलो गर्न बजेट नगरपालिकाले उपलब्ध गराउने मौखिक सहमति भएको छ ।’ भविष्यमा राजमार्गसरह निर्माण हुने सडकको सीमा निर्धारण ४२ मिटरकै रहने आयोजनाले जनाएको छ । गुलरिया मूर्तिहा सीमासम्म ३५ दशमलव ५ किलोमिटर सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ ।


आयोजनाले निर्माण गर्दा सडकका विद्युत् र टेलिफोनका पोल हटाउने काममा भने ढिलासुस्ती भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै आएको छ ।


विद्युत्, टेलिफोन, खानेपानी पाइप स्थानान्तरण गर्ने काम भने बजेटको अभावमा सुरु हुन सकेको छैन । उक्त संरचना हटाउन १ करोड ५० लाख रुपैयाँ बजेटमध्ये २५ लाख निकासा भएको आयोजना प्रमुख युवराज पोखरेलले बताए । थप रकम केन्द्रसँग माग गरेको उनले जनाए । सडक निर्माण गर्दा क्षति हुने भएको सहिद पार्कलाई पुरानो गेस्टहाउसको प्रांगणमा स्थानान्तरण गरिने भएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?