कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–५, धारपानीस्थित पाण्डवेश्वर मन्दिर क्षेत्रको पर्यटकीय विकास गर्न शनिबारदेखि महायज्ञ सुरु भएको छ । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र पाण्डवेश्वरलाई थप आकर्षणको केन्द्र बनाउन महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

मन्दिरमा राखिएको ५५ दशमलव ५ फिट अग्लो र ८ हजार १ सय १३ किलो तौलको त्रिशूल पर्यटकीय आकर्षणको मुख्य केन्द्र बनेको छ । विश्वकै ठूलो र अग्लो दाबी गरिएको त्रिशूल हेर्न अहिले पनि आन्तरिक पर्यटक आउने गरेका छन् । यसको प्रचारप्रसार

गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउन महायज्ञले सहयोग पुर्‍याउने मन्दिर व्यवस्थापन समिति सचिव विष्णुराम आचार्यले बताए ।


महायज्ञ उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णबहादुर महराले धार्मिक क्षेत्रको पर्यटन विकासमा सबैको चासो हुन जरुरी भएको बताए । धर्मलाई कट्टर रूपमा व्याख्या गर्नुको सट्टा समयअनुसार परिमार्जन गर्दै जानुपर्ने उनले बताए । ‘धर्मलाई गलत व्याख्या गर्नुहुँदैन । समयअनुसार यसका बुझाइ बदल्नुपर्छ,’ उनले भने, ‘धर्मलाई समाजसेवासँग जोड्नुपर्छ । धर्म सबैको कल्याणमा हुनुपर्छ । अन्धविश्वासमा आधारित धर्म ठीक हुँदैन ।’ पाण्डवेश्वर मन्दिर ठूलो त्रिशूल र रमणीय वातावरणका कारण पर्यटकीय गन्तव्य भएकाले यसलाई अझै प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए ।


महायज्ञका मुख्य वाचक दीनबन्धु पोखरेल छन् । उनले समाजसेवा नै ठूलो धर्म भएको बताए । पर्यटन विकास भएमा स्थानीय क्षेत्रको पनि विकास हुन सक्ने विचार उनले व्यक्त गरे । नेपाल धार्मिक पर्यटनको केन्द्र बन्न सक्ने उनले बताए । ‘धेरै देशले धार्मिक पर्यटनबाट प्रगति गरेका छन्,’ उनले भने, ‘नेपालका पनि धेरै गाउँको विकास पर्यटनबाट हुन सक्छ ।’


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, उपप्रमुख श्रीधर पौडेल, घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपाने, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, नागरिक समाजका संयोजक चन्द्रराज पन्तलगायतले पर्यटकीय विकासमा महायज्ञले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।


महोत्सव सुरु गर्नुअघि घोराहीमा विभिन्न सांस्कृतिक झाँकीसहित प्रभातफेरी गरिएको थियो । एक सातासम्म चल्ने महोत्सवबाट पर्यटन प्रवर्द्धनका लागि आर्थिक संकलन हुने अपेक्षा गरिएको महोत्सव आयोजक समिति अध्यक्ष गणेशकुमार अधिकारीले बताए । अहिले पनि त्रिशूल अवलोकन गर्न दाङका साथै रोल्पा, सल्यान, रुकुम, प्यूठान, बाँके, सुर्खेत, रूपन्देही, काभ्रेलगायतका जिल्लाबाट भक्तजन आइरहेको उनले बताए । यस क्षेत्रलाई देशकै महत्त्वपूर्ण धार्मिक तपोवन धामका रूपमा विकास गर्ने योजना रहेको अधिकारीले बताए ।


मन्दिर परिसरमा बोरिङसहितको पोखरी, पार्क र स्थानीय ढुंगाबाट १ सय ८ ढुंगेधारा निर्माण भएका छन् । पाण्डवेश्वर मन्दिरबाट २ हजार ४ सय मिटरमाथि रहेको सुनकोट खडकदेवी मन्दिरको पुरानो भग्नावशेषमा नयाँ मन्दिर बनाउने तयारी भरहेको छ । त्यहाँसम्म पुग्न स्थानीय ढुंगाबाट ५ हजार सिढी बनाउने तयारी भइरहेको अधिकारीले बताए । त्रिशूल फलाम, पित्तल, तामा, सुन र चाँदीबाट

तयार गरिएको अध्यक्ष अधिकारीले बताए । करिब २२ लाख रुपैयाँको लागतमा त्रिशूल निर्माण गरिएको उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?