कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुग्ने भयो मारिङमा गाडी

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिकाले बृहत् कृषि तथा वन अनुसन्धान केन्द्र बनाउन लागेको मारिङ क्षेत्र अब सडक सन्जालमा जोडिन लागेको छ । स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट मारिङलाई सडक सञ्जालमा जोड्न लागिएको हो । 

पुग्ने भयो मारिङमा गाडी

भूमे गाउँपालिकाको २ र ७ नम्बर वडामा रहेको मारिङलाई यसै वर्ष सडक सञ्जालमा जोड्ने गरी काम भइरहेको छ । मारिङको दक्षिणतर्फ रहेको ७ नम्बर र उत्तर क्षेत्रमा रहेको २ नम्बर वडालाई सडकले जोड्न चालु आवमै डेढ करोड बजेट विनियोजन गरेर काम भइरहेको छ । भूमे गाउँपालिकाको ५० लाख, प्रदेश ५ सरकारको ५० लाख र पूर्वाधार क्षेक्र विकास कार्यत्रमको ५० लाख गरी डेढ करोड बजेटबाट सडक निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।


वडा ७ को सहिदमार्गबाट र वडा २ को मध्यपहाडी लोकमार्गबाट मारिङसम्म सडक पुर्‍याउन निर्माण कार्य तीव्र गतिमा भइरहेको निर्माण समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठले बताए । ‘सहिदमार्गबाट मारिङसम्मको सडक निर्माण लगभग भइसकेको छ,’ उनले भने, ‘अब मारिङदेखि २ नम्बर वडाको त्रिवेणीस्थित मध्यपहाडी लोकमार्गमा जोडने काम सुरु हुन्छ ।’ बागटारे–गुनाम–मारिङ–काँक्री त्रिवेणी नाम दिइएको उक्त सडक खण्ड झन्डै १६ किलोमिटर लामो छ ।


मारिङमा यसअघि स्याउ उत्पादन गर्ने भन्दै धेरै स्याउका बोट लगाइए पनि त्यसको संरक्षण हुन सकेको थिएन । ०५९ सालमा तत्कालीन नेकपा माओवादीले चलाएको जनसत्तामार्फत उक्त ठाउँमा स्याउका बिरुवा लगाइएको थियो । त्यसपछि ०६७ सालदेखि नेपाल सरकारले विभिन्न शीर्षकमा मारिङमा स्याउ लगाउँदै आएको छ । द्वन्द्व प्रभावित क्षेक्रको कार्यत्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा मारिङमा स्याउ मात्रै लगाइएन, स्याउका लागि आवश्यक पानी जम्मा गर्न पोखरी निर्माण भए । तर, गाउँदेखि टाढा भएकाले स्याउ र पोखरी दुवैको सुरक्षा हुन सकेन ।


स्थानीय तहको निर्वाचनपछि भूमे गाउँपालिकाले मारिङलाई बृहत् कृषि तथा वन अनुसन्धान केन्द्रका रूपमा विकास गर्न खोजेको छ । त्यसका लागि हाल संरचना निर्माणका काम भइरहेका छन् । भौतिक संरचना बनाएर गोरु पाल्ने, जग्गा खनजोत गर्ने तथा बोटबिरुवा लगाउने काम भइरहेको छ । हाल मारिङमा तरकारी लगाउने, फलाउने र अनुसन्धान गर्ने काम भइरहेको छ । यसैगरी रुख, जडीबुटीको नर्सरी, स्याउ बगैंचा बनाउने काम पनि भइरहेको छ । यसको सुरक्षाका लागि गाउँपालिकाले प्राविधिक जनशक्तिसमेत मारिङमा खटाएको छ ।


समुद्री सतहबाट २ हजार ६ सय मिटर उचाइमा रहेको मारिङ कृषि र वन अनुसन्धानको उपयुक्त ठाउँ हुन सक्ने भन्दै त्यसतर्फ लागिएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । ‘उच्च लेकाली ठाउँ भएकाले कृषि र वनको बृहत् अनुसन्धान गर्ने गरी अनुसन्धान केन्द्र बनाउँदै छौं,’ उनले भने, ‘त्यसका लागि पनि सडक नभई नहुने भएकाले सडक निर्माणलाई प्राथमिकता दिएका हौं ।’


चालु आर्थिक वर्षमा विनियोजित बजेटले मध्यपहाडी र सहिद मार्ग दुवै सडकबाट मारिङ जोडिने र अन्य कामकाज गर्न सजिलो हुने भनाइ अध्यक्ष बुढामगरको छ । मारिङबाट धेरै ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले कृषि तथा वन अनुसन्धान केन्द्रका साथसाथै मारिङलाई पर्यटनसँग पनि जोडन खोजिएको छ । मारिङबाट पुथा हिमाल, सिस्ने हिमाल, धौलागिरि हिमशृंखलाका साथै रोल्पाको चर्चित धार्मिक स्थल जलजला पनि हेर्न सकिन्छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?