चरन खोज्दै हैरान

मधु शाही

बाँके — सुहारत गणरिया उमेरले ६० नाघे । गोठभरिका भेडा उनकै भरमा पालिएका छन् । भेडा चराउनु उनको पुर्ख्यौली पेसा हो । उनको चाहना अहिले पनि भेडा चराएरै गुजारा गर्ने छ । ७१ वर्षे बेचन गणरिया सुहारतकै दौंतरी हुन् । सानैदेखि भेडा पाल्दै आएका उनी अहिले पनि १८ वडा भेडा पालिरहेका छन् ।

चरन खोज्दै हैरान

जानकी गाउँपालिका कठारपुरका भिखन लालले एक वर्षअघिसम्म ४० वटा भेडा पाल्थे । अहिले आधा घटाएका छन् । समय फेरियो । पहिलेजस्तो जंगल, खुलाचौर र हरियालीको अभावमा अहिले भेडापालन व्यवसाय संकटमा परेको उनीहरू बताउँछन् । सहरीकरणले हरियाली घटयो । त्यसपछि चौपाया चराउने पेसा संकटमा पर्दै गएको उनीहरूको अनुभव छ ।


सुहारतले अहिले १६ वटा भेडा पालेका छन् । खेती गर्न जमिन छैन । भेडालाई चराएरै हुर्काउनुपर्ने उनको बाध्यता हो । यसैबाट उनको घरखर्च र दैनिकी चल्छ । जानकी गाउँपालिका गहनापुर–२ का उनी घाँसको खोजीमा दिनभर दौडधुप गर्छन् । उमेरले ६० पार गरेका यी तीनैजना प्रत्येक दिन साँझ–बिहान ४ घण्टा भेडा चराउन व्यस्त हुन्छन् । उनीहरूलाई बाख्राभन्दा भेडा बढी मन पर्छ । उनीहरूका बिचारमा बाख्राले भेडाको तुलनामा बढी चकचक गर्छ । हल्का पानी पर्‍यो भने चर्न मान्दैन । भेडा सोझो जनावर हो । ‘भेडा आफ्नै धुनमा चर्छ,’ सुहारतले भने, ‘पानी पर्‍यो भने पनि चरिरहन्छ ।’ बाल्यकालदेखि नै भेडापालन गर्दै आएको उनीहरूले सुनाए । वृद्ध अवस्थासम्म आइपुग्दा भेडा नपाली बस्नै नसक्ने भएको उनीहरूको साझा भनाइ छ । घरमा छोराछोरीले दुःख नगर्न धेरै चोटी आग्रह गरे । सुहारतले भेडा पाल्न नपाए उल्टो दुःखी हुने गरेको सुनाए । ‘भेडासँग प्रेम छ मेरो,’ उनले भने, ‘दिन बिताउन सजिलो हुने अनि दुई–चार पैसा कमाइ हुने ।’


भेडासँगको उनीहरूको नाता पुरानै हो । कुनै समय थियो, हूल बाँधेर भेडा चराउन साथीहरूसँग कोहलपुर, नेपालगन्जलगायत जंगल चहार्थे । ती दिन सम्झँदा उनीहरूको अनुहार हँसिलो हुन्छ । अहिले सडक, बजार र औद्योगिक क्षेत्र निर्माण भएपछि चौपाया जीवनशैली धरापमा परेको उनीहरूले सुनाए । सुहारतका अनुसार सडकबाट बाटो कटाउँदा एक वर्षमै ४ वटा भेडा मोटरसाइकलले घाइते पारे । अहिले भेडा चराउने चौर छैनन् । ‘खेतीयोग्य जमिनमा बिल्डिङ बन्न थालेपछि चौपाया चरनको अभाव भएको हो,’ उनले भने, ‘चराउने थलो हराउँदैछ, त्यसैले मैले पनि भेडाको संख्या घटाएको छु ।’ यतिबेला खाली खेतमा बेचन आफ्ना १८ वटा भेडाको बथान लिएर चराउन पुग्छन् । एउटा भेडा पालेर बेच्न योग्य हुन ३ वर्ष कुर्नुपर्छ । राम्रोसँग घाँस खुवाउन सके राम्रै मूल्य पाइन्छ । घाँसको अभावमा भेडाले पाउनुपर्ने भाउ नपाएको बेचनको गुनासो छ ।


‘भेडा–बाख्रा जति चरे उति मोटाउँदै जाने जनावर हुन्,’ उनले भने, ‘चराउने ठाउँ छैन । बाँधेर राखौं दुब्लाइहाल्छ ।’ मिहिनेत गरे अनुसारको आम्दानी राम्रै थियो । एउटा भेडा १० हजार रुपैयाँसम्ममा बेचेको उनको अनुभव छ । चरनयोग्य जमिनकै अभावमा उनले भेडाको संख्या घटाउन बाध्य भएको बताए । अहिले २० वटा भेडा पाल्दै आएका भीखन घाँसको खोजीमा सरकारी कार्यालयदेखि नहर, नालामा भौंतारिरहन्छन् । बाख्रा र भेडा पालनबाट राम्रो आय आर्जन जुटाउन सकिए पनि चौपाया चराउने सुविधा नहुँदा यो व्यवसाय नै धरापमा परेको किसानहरूको दुःखेसो छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?