कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिसको झोंकमा घर छाड्छन् बालबालिका

मधु शाही

बाँके — नेपालगन्जमा केही दिनअघि अलपत्र २ बालिका भेटिए । जाजरकोटका उनीहरूले प्रहरी र एक गैरसरकारी संस्थालाई आफूखुसी घर छाडेको बताए । मेला हेर्न गएका उनीहरू घर फर्कंदा अभिभावकले गाली गरेपछि रिसको झोंकमा घर छाडेर आएको उनीहरूले सुनाए । 

नेपालगन्ज उपमहानगरपालिका राँझा घर भएका ११ वर्षे बालक घर छाडेर भागे । एक सय रुपैयाँ चोरेर हिँडेका उनी नेपाल–भारत सिमाना रुपैडिया पुगे । त्यहाँ होटलमा भाँडा माझ्ने काम गरे । केही समयपछि रेल चढेर उनी भारतको विहार पुगे ।


केही समय विहारको बालबालिका सहायता केन्द्रको संरक्षणमा बसे । केन्द्रले फेसबुकमा बालक भेटिएको जानकारी दिएपछि झन्डै ६ महिनापछि ती बालकका परिवारले छोरा फेला पारेका थिए । भाग्नुको कारण बुझ्दै जाँदा उनले पनि आफूलाई घरमा गाली गरिरहने हुँदा दिक्क लागेर घर छाडेको बताएका छन् ।


केही महिनाअघि नेपालगन्जस्थित पुष्पलाल चोकमा एक बालिका अलपत्र अवस्थामा भेटिइन् । प्रहरीले उनलाई नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) को जिम्मा लगायो । सुर्खेत घर भएकी उनले बाबुले पिटेपछि घर छोडेको बताइन् । सौतेनी आमाको दुर्व्यवहारका कारण घरमा बस्न मन नलागेको उनले सुनाइन् ।


बालमैत्री परिवार र समाज नहुँदा बालबालिका बिचल्लीमा परेको प्रहरी प्रशासन, समाजसेवी एवं बालअधिकारर्मी बताउँछन् । खासगरी परिवार, स्कुल र समाजको प्रत्यक्ष निगरानीको कमीले बालबालिका घर छाडेर भाग्ने गरेको सिविन नेपाल बाँकेका प्रमुख सिद्धराज पनेरूले बताए । सिविनको सन् २०१८ को तथ्यांक अनुसार ३७ जना बालक र ६० जना बालिकालाई उद्धार एवं पुनःस्थापना गरिएको छ । जसमध्ये ३ बालक र ४ बालिकालाई काउन्सिलिङ आवश्यक देखियो । त्यस्तै, पारिवारिक परामर्शमा ५ बालक र १ बालिका छन् ।


पनेरूले काउन्सिलिङका क्रममा बालबालिकाको समस्या बुझ्दै जाँदा अन्ततः पारिवारिक जटिलता मूल कारण देखिएको बताए । घरमा छोराछोरीले के गर्दै छन्, स्कुलमा के गर्दै छन्, संगत कस्तासँग गरेका छन् भन्नेजस्ता विषयमा अभिभावकले खासै चासो दिएको देखिँदैन । त्यस्तै, अभिभावकले बालबालिकाको कुरा साथी बनेर नसुनिदिँदा पनि बालबालिका डिप्रेसनमा पुगेर जथाभावी गर्न थालेको उनले बताए । ‘घर छाडेर भाग्नेको मूल कारण परिवार नै हो,’ उनले भने, ‘हामी बालबालिकालाई गाली मात्रै गर्छौं, समस्या बुझ्ने प्रयास नै गर्दैनौं ।’


गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ५ जना बालक चोरी अभियोगमा प्रमाणसहित पक्राउ परे । परिवारलाई समेत उनीहरूले के गरिरहेका छन् भन्ने जानकारी थिएन । प्रहरीको सोधपुछबाट ती बालक स्कुल नगएर चोरीमा लागेको खुलेको छ । १८ वर्ष उमेर समूहका बालबालिकाले चोरी गरे पनि कानुन नलाग्ने भनेर उनीहरूले चोरी गर्दै आएको बताए ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?