कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँसुरीजस्तो जीवन

मधु शाही

बाँके — ‘यता आउनुस्, त्यहाँ खाल्डो छ,’ ८ वर्षीय फडेन्द्र सुनारले दृष्टिविहीन आफ्ना बाबुआमालाई भने  । गत सोमबार शिवरात्रिको सार्वजनिक बिदाको मौका पारेर उनी बाबु धनबहादुर र आमा प्रमिलालाई कोहलपुर बजार डुलाइरहेका थिए  ।

बाँसुरीजस्तो जीवन

‘छुट्टीको दिन सधैं बाबुआमालाई घुमाउँछु,’ फडेन्द्रले कान्तिपुरसित भने । फडेन्द्रलाई बाबुआमालाई घुमाउँदा खुसी र दुःख एकसाथ हुन्छ । बिदामा खेल्न नपाउँदा मन खिन्न हुन्छ । अर्कोतर्फ आमाबुबाले बजार डुलाउँदै गीत गाउँदा पैसा कमाइन्छ ।

‘धेरै पैसा जम्मा भए मीठो खानेकुरा पाइन्छ,’ उनले बाबुतिर हेर्दै भने, ‘बा किन्दिनू है ।’ छोराको मुहारमा बाबु खुसी देख्न सक्दैनन् तर जिब्रोको स्वाद भने महसुस गर्छन् । सन्तानको मायाले यो दम्पतीले बजारमा कला बेचेर पेट पाल्ने जोहो गर्दै आएको छ । चर्किएको बाँसुरीलाई डोरीले बाँधेर बजाइरहेजस्तै धनबहादुरको जीवनचक्र पनि खण्ड–खण्डमा चलिरहेको छ । ‘टुक्रिएको छ तर पनि बजिरहन्छ,’ बाँसुरीसित जीवनको तुलना गर्दै उनले भने, ‘ज्यान बाँचुन्जेल म पनि बजिरहन्छु ।’


बर्दियाको बढैयाताल गाउँपालिका–८ बस्ने ४४ वर्षीय धनबहादुरको परिवारमा आर्थिक अभाव चर्को छ । अशान्ति भने छैन । सिउँदोभरि सिन्दूर सजाएकी ३७ वर्षीया प्रमिलाको ओठमा लाली र आँखामा गाजल टलक्क छ । बजार हिँड्नुभन्दा पहिले उनी सजिएरै जानुपर्ने बताउँछिन् । उनले आफ्नै अनुहार ऐनामा प्रस्ट देख्दिनन् । धनबहादुर प्रमिलाका दोस्रो पति हुन् । पहिलो पतिले उनलाई प्रस्ट देख्थे । तर, उनको रूपको कहिल्यै प्रशंसा गरेनन् । कान्छी छोरी १५ दिनको हुँदा भारत गएका उनी फर्किएर आएनन् ।

प्रमिला धनबहादुरको माया महसुस गर्दै भन्छिन्, ‘मैले लाली ठीक लाए/नलाएको उहाँले ठ्याक्कै थाहा पाउनुहुन्छ । सायद मनको आँखाले होला ।’ धनबहादुरको जीवनमा उतार–चढाव नआएका होइनन् । उनले तेस्रो पत्नीका रूपमा प्रमिलालाई भित्र्याएका हुन् । यसअघिका दुवै पत्नीले आँखा देख्थे । उनीहरूले धनबहादुरको भित्री मन भने कहिल्यै देख्न सकेनन् । ‘प्रेममा आँखाभन्दा मन चाहिँदो रहेछ,’ उनले भने, ‘त्यसपछि माया आफैं हुँदो रहेछ ।’


धनबहादुर बाँसुरी बजाउन र सारंगी रेट्न सिपालु छन् । बाल्यकालमा सिकेको यही कला अहिले उनको आयआर्जनको गतिलो आधार बनेको छ । धनबहादुरका अनुसार आफ्नो बाँसुरीको धुन कुन्ती मोक्तानको स्वर रहेको ‘चोली राम्रो पाल्पाली ढाकाको’ गीतमा समेत गुन्जिएको छ । उनले रचेका गीत स्थानीय र राष्ट्रियस्तरका कलाकारले समेत गाइसकेका छन् । तर आफूले १ रुपैयाँ पनि पारिश्रमिक नपाएको उनको दाबी छ । ‘हान्यौ छुराले’ बोलको गीत उनैले रचेका हुन् । यसलाई पूर्णकला बीसी र आफ्नो स्वरमा रेकर्ड गर्नर् ेयोजना रहेको उनले खुलाए ।


ब्रेल लिपिमा लेखिएका उनका थुप्रै रचना अलपत्र छन् । ती रचना जोगाउने चिन्ता उनलाई छ । कक्षा ८ सम्म ब्रेल लिपि अध्ययन गरेका धनबहादुरले संगीत क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि पारिवारिक र आर्थिक समस्याले सडकमा भौंतारिनुपरेको सुनाए । दुई छोरी घरमै राखेर प्रमिला र धनबहादुर छोराको सहारामा सहर डुल्दा भने रमाइलो महसुस गर्छन् । छोराले सही गन्तव्यमा पुर्‍याउँछ भन्नेमा उनीहरू ढुक्क छन् । ‘बालखै भए पनि बाबु चलाख छ,’ प्रमिलाले भनिन्, ‘हाम्रो सहारा ऊ हो भने उसको सहारा हामी ।’ दिनभरि गीत गाएर बजार डुल्दा २ हजार रुपैयाँसम्म जुटेको दिन धनबहादुरको घरै उज्यालो हुन्छ । छोराछोरीको त्यही मुस्कानले फेरि ती दृष्टिविहीन दम्पतीलाई सडकमा जान प्रेरित गर्छ । अनि गीत गाउँदै बजारतिर लाग्छन्, ‘तिरिरी मुरली बज्यो वनैमा, मनैमा लौ माया नमारे ...।’

प्रकाशित : फाल्गुन २७, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?