कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सनवागढको विकासका लागि अध्ययन

मनोज पौडेल

कपिलवस्तु — शिवराज नगरपालिका–३ भितिरियास्थित ऐतिहासिक तथा पुराताŒिवक स्थल सोनवागढको टोपोग्राफी अध्ययन गरिएको छ  । उक्त स्थलको एरियल फोटोग्राफी पनि सम्पन्न भएको छ  ।

सनवागढको विकासका लागि अध्ययन

जीर्ण सोनवागढ मन्दिरको अध्ययन गरेर संरक्षण गर्न लागिएको हो । बेलायतको डुह्राम विश्वविद्यालयका पुरातत्वविद् डा. मार्क म्यानुवलले दुवै माध्यमबाट अध्ययन गरेका हुन् । उनले उपकरण प्रयोग गरेर सोनवागढको टोपोग्राफी अध्ययन गरेका थिए । सानो ड्रोनमा क्यामरा जडान गरेर एरियल फोटोग्राफी गरिएको थियो ।

दुवै अध्ययनबाट जमिनको सतह, भू–बनावट र वर्तमान अवस्था थाहा हुन्छ । ‘पुरातात्विक स्थलको अध्ययन, अन्वेषण गर्ने यो एउटा विधि हो,’ पुरातत्व विभाग प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले भने, ‘यसबाट अध्ययन प्रमाणिकताका लागि महत्वपूर्ण सूचना संकलन हुन्छ ।’ अध्ययनले टोपोग्राफी नक्सा पनि लिएको छ । टोलीले सोनवागढमा रहेको मन्दिरको ३ सय मिटरवरिपरिको वस्तुस्थिति ड्रोनबाट लिइएको छ । उनका अनुसार ३ किलो तौलको ड्रोनमार्फत यहाँ तस्बिर खिचिएको हो । एरियल फोटोग्राफी विशेषज्ञले रिमोटबाट उचाइ मिलाउँदै तस्बिर खिचेका थिए ।

ड्रोनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जोडिएकाले त्यसबाट अक्षांश–देशान्तरसहितको तस्बिर खिच्न सकिन्छ । त्यसरी तयार टोपोग्राफी नक्साले कुन ठाउँ अग्लो र होचो भन्ने देखाउँछ । पुरातात्विक स्थल नासिए वा पुरिए पनि यस्तो नक्साले ठाउँ सहजै पत्ता लाग्छ । यसका आधारमा पछि ठाउँको खोज र अनुसन्धान गर्न सकिन्छ । जापनिज फन्ड एन्ड ट्रस्ट (जेफिड ३) अन्तर्गत बेलायतको डुह्राम युनिभर्सिटी, युनेस्को, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद् संलग्न टोलीद्वारा भइरहेको तिलौराकोट अन्वेषण उत्खनन परियोजनाअन्तर्गत यहाँ अध्ययन थालिएको हो ।


मन्दिर परिसरमा बेलायती पुरातत्वविद् डंकन हलले जियोफिजिक्स (भूभौतिक सर्भे) गरेका थिए । उनले जमिनको सतहदेखि ३ देखि ५ मिटर गहिराइसम्मको अवस्था पत्ता लगाउन सक्ने उपकरण प्रयोग गरेर अध्ययन गरेका थिए । उनले गरेको सर्भेबाट जमिन तल महत्वपूर्ण संरचना पाइएको छ । ती संरचना कहिलेका हुन् भन्ने जान्न थप उत्खनन गर्नुपर्छ । उनको टोलीले गत फागुन ६ गते भूभौतिक सर्र्भे गरेको हो । चन्द्रौटा बजारदेखि करिब ५ किमि उत्तर घना जंगलमा सनवागढ मन्दिर रहेको छ । मन्दिरमा शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखेको किंवदन्ती छ । त्यसकारण मन्दिरको नाम सनवागढ राखिएको स्थानीयले बताए । संरक्षण अभावमा मन्दिर जीर्ण र दयनीय बनेको छ । केही पुरातात्विक वस्तु चोरी भइसकेका छन् । ऐतिहासिक मन्दिरलाई जोगाई पर्यटकीय स्थल बनाउन अहिले स्थानीय लागिपरेका छन् । मन्दिर क्षेत्र रहेको ठाउँमा लुम्बिनी विकास कोषले गत पुस १० गतेबाट २ साता उत्खनन गरेको थियो । २ अग्ला ढिस्कामा ट्रेन्च बनाई उत्खनन गर्दा सनवागढमा गुप्तकालीन इँटाबाट निर्मित भग्नावशेष फेला परेको थियो ।


मन्दिरको दक्षिण र पश्चिम क्षेत्रमा उत्खनन गर्दा गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, नन्दी, विभिन्न माटोका घोडा तथा मूर्ति फेला परेका थिए । ‘तिनको कालक्रम पत्ता लगाउन थप अध्ययन गर्नुपर्छ,’ कोषका पुरातत्व अधिकृत कृष्णबहादुर केसीले बताए । मन्दिरको पश्चिमबाट बग्ने सुकबेल नदीले बर्सेनि कटान गर्दै आएको छ । परिसरमा ४ वटा अग्ला ढिस्का छन् । मन्दिरको पश्चिमको ढिस्कोमा केही वर्ष पहिला मूर्ति फेला परेको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?