कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डढेलो नियन्त्रण पूर्वतयारी

परासी — पश्चिम नवलपरासीका सामुदायिक वन उपभोक्ताले डढेलो नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेका छन् । सुक्खा मौसममा बर्सेनि डढेलो लागेर बोटबिरुवा, जडीबुटी र वन्यजन्तु प्रभावित हुन थालेपछि उपझोक्ताले नियन्त्रणका लागि स्वयंसेवक समिति गठन गरेर जनचेतनामूलक कार्यत्रम सञ्चालन गरेका छन् । 

बर्दघाटस्थित पारिजात सामुदायिक वनले डढेलो नियन्त्रणका लागि उपभोक्ता समूहकी उपाध्यक्ष लक्ष्मी बर्तौलाको संयोजकत्वमा अग्नि नियन्त्रण उपसमिति गठन गरेको छ । उपसमितिले वन क्षेत्र नजिकै बसोबास भएका उपभोक्तालाई आगलागी कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरेको छ । समितिले अग्नि रेखा निर्माण, सरसफाइ गर्नेदेखि आगलागि नियन्त्रण गर्न टोल–टोलमा समिति निर्माण गर्ने उपभोक्ता समितिका अध्यक्ष चूडामणि भण्डारीले बताए ।


‘वन जोगाउनु भनेको जैविक विविधताको संरक्षण हो,’ उनले भने, ‘सम्भावित घटनाका लागि जनचेतना जगाउने र आगो निभाउने प्रयोगात्मक तालिम दिएर डढेलो नियन्त्रण प्रयास गरेका छौं ।’ जिल्लाका अन्य सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा फायर लाइन बनाउने र डढेलो नियन्त्रणका लागि आवश्यक प्रयासका विषयमा पूर्वतयारी सुरु गरिएको छ । जिल्लामा वन डढेलोको उच्च जोखिममा रहेको छ । पहाडमा खोरिया फाँड्ने नाममा आगजनी गरिन्छ । राजमार्ग आसपास विभिन्न प्रयोजनका लागि आगो बाल्दा सल्किएर आगलागी हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।


अधिकांश सडक जंगल क्षेत्रमा रहेका छन् । सडक छेउमा लागेको डढेलोले बाटोमा गुड्ने पराल बोकेका सवारी, मट्टितेल, पेट्रोल, डिजल, ग्यासजस्ता प्रज्वलनशील पदार्थको ढुवानी गर्ने सवारी साधन जोखिममा पर्ने गरेका छन् । आगो नियन्त्रणमा लिने सीप, औजार तथा तयारी नहुँदा बर्सेनि वन क्षेत्र मासिने गरेको छ । तराईमा आगो लगाएपछि च्याउ उम्रिने, पहाडमा माटो मलिलो हुने र बिरुवा सप्रिने मान्यताले स्थानीय आफैंले आगो लगाउने गरेका छन् ।


डढेलो नियन्त्रणसम्बन्धी जनचेतनाको अभावले समेत बर्सेनि सयौं हेक्टर वन क्षेत्रमा आगो लाग्ने गरेको छ । सामुदायिक वनमा सीमा विवादका कारण कतिपय वनमा बदनियत राखेर आगो लगाइँदासमेत नियन्त्रणमा समस्या हुने गरेको छ । सुख्खा मौसममा पात झर्छन् ।


जंगल बाक्लो हुँदासमेत आगलागी समयमा नियन्त्रण गर्न नसक्दा अमूल्य जडीबुटी देखी वन्यजन्तु आगलागीमा परेर नष्ट हुने गरेको सुनवलकी हीरादेवी गौतमले बताइन् । अहिले डढेलो नियन्त्रणका लागि हरेक सामुदायिक वनमा फायर लाइन बनाउने तथा डढेलो लागिहालेमा नियन्त्रणसम्बन्धी उपभोक्ता र सुरक्षाकर्मीलाई प्रयोगात्मक प्रशिक्षण गराएको डिभिजन वन कार्यालय परासीले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?