कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुसी बाँड्दै आमाहरू

एचआईभी संक्रमितहरूबाट स्वस्थ बच्चा जन्मिँदै 
ठाकुरसिंह थारू

नेपालगन्ज — यहाँका एचआईभी संक्रमित आमाहरू स्वस्थ बच्चा जन्माउन थालेपछि खुसी छन् । यसअघि चिकित्सकले त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे । कारण उनीहरूले जन्माउने शिशु फनि संक्रमित हुन्थे । चिकित्साशास्त्रको आधुनिकीकरणसँगै संत्रमित आमाहरूको सपना पनि पूरा भएको छ । स्वस्थ शिशु जन्माउन पाएकामा उनीहरू खुसी र दंगदास छन् । 

खुसी बाँड्दै आमाहरू

‘एचआईभी संक्रमित भएपछि बच्चा नजन्माउन सुझाव दिन्थे । अहिले भने सम्भव भएको छ,’ एक आमाले भनिन्, ‘सन्तान पाउने इच्छा पूरा भयो । स्वस्थ बच्चा पाउँदा निकै खुसी छु ।’ चालु आर्थिक वर्षमा भेरी अस्पतालमा ४ एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् ।

अर्की एक गर्भवती आमा चिकित्सकको निगरानीमा छन् । ‘संक्रमित सबै आमाबाट जन्मेका शिशु पहिलो चरणको जाँचमा स्वस्थ देखिएका छन्,’ भेरी अस्पतालका फिजिसियन तथा एचआईभीका स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘पहिलो जाँचमा नेगेटिभ देखिएको शिशुमा एचआईभी संक्रमण हुने सम्भावना निकै कम रहन्छ ।’ गत वर्ष १२ संक्रमित आमाले स्वस्थ बच्चा जन्माएको अस्पतालले जनाएको छ ।

औषधि विज्ञानको नयाँ प्रविधिले फडको मारेपछि ऊक्त रोगबाट संत्रमित आमाले जन्माउने शिशुलाई पूर्ण रूपमा स्वस्थ बनाउने गरेको छ । आमाबाट बच्चामा सर्ने एचआईभी रोकथाम (पीएमटीसीटी) कार्यक्रम सरकारले लागू गरेको छ । भेरी अस्पतालमा छुट्टै वार्ड खडा गरिएको छ । गर्भवती महिलाको अनिवार्य एचआईभी परीक्षण गरिन्छ ।

पोजेटिभ पाइएका आमाको सुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिन्छ । ‘गर्भवती भएका महिलामा एचआईभी संक्रमण भएको पाएपछि निगरानी सुरु गर्छौं । त्यहीअनुसारको उपचार व्यवस्था मिलाउँछौं,’ डा. रिसालले भने, ‘संक्रमित भएका केही गर्भवती महिला अझै पनि निगरानीमा छन् । सन्तान नजन्माउँदासम्म निगरानी गरी उपचार गर्छौं ।’

संक्रमित महिलाले जन्माउने शिशुलाई एचआईभी संक्रमणबाट जोगाउन नेपाल सरकार राष्ट्रिय एड्स तथा यौन नियन्त्रण विभागले नयाँ रणनीति ल्याएको हो । यसका लागि गर्भवती महिला र नवजात शिशु केन्द्रित विशेष कार्यक्रम सुरु भएको छ । संक्रमित गर्भवती महिलालाई एन्टी रेक्टो भाइरल ट्रिटमेन्ट (एआरटी) औषधि नियमित खुवाइन्छ । त्यसले गर्भवती आमाबाट बच्चामा एचआईभी सार्न रोक्छ । चिकित्सकहरूका अनुसार बच्चा जन्मेपछि प्रोफाइल लेसिस नामक झोल खुवाइन्छ । शिशुको स्वास्थ अवस्था जाँच्न डीएनए पीसीआर गरिन्छ । संक्रमित आमाबाट जन्मेका शिशु १८ महिना पुगेपछि फेरि जाँच गरिन्छ ।

संक्रमित गर्भवती महिला नियमित चिकित्सकको सम्पर्कमा रहनुपर्छ । उनीहरूले डाक्टरले दिएको सुझाव मानेमा स्वस्थ बच्चा जन्माउन सहज हुन्छ । नियमित औषधि प्रयोग नगर्ने आमाबाट संक्रमित बच्चा जन्मिने खतरा रहने चिकित्सकहरूले बताए । बाँकेमा एचआईभी संक्रमण डरलाग्दो छ ।

हालसम्म १ हजार २ सय एचआईभी संक्रमित अस्पतालको सम्पर्कमा आएका छन् । तीमध्ये ४ सय ४० जनाले नियमित औषधि प्रयोग गर्दै आएका छन् । त्यसैले नयाँ शिशुलाई एचआईभीको संक्रमणबाट जोगाउन ऊक्त कार्यत्रम सुरु गरिएको हो । संक्रमित आमाको दूध चुस्दा एचआईभी सर्ने खतरा हुने भएकाले बच्चाका लागि पनि औषधि प्रयोग गरिँदै आएको छ । गर्भवती आमाबाट जन्मिने शिशुलाई पनि निगरानीमा राखिने गरेको चिकित्सकले बताए ।

अझै पनि धेरै संक्रमित सार्वजनिक हुन नचाहेकाले एचआईभीको संक्रमणको संख्या बढी हुने अनुमान गरिएको छ । कामका सिलसिलामा विदेश जाने सर्वसाधारण एचआईभीको बढी जोखिममा पर्ने गरेका छन् । घर फर्किंदा रगत परीक्षण नै नगरी सम्पर्क गर्ने गरेका कारण श्रीमतीलाई सजिलै एचआईभी सर्ने गरेको पाइएको छ ।

गर्भवती आमाको रगत परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल र प्राथमिक सेवा केन्द्रमा व्यवस्था मिलाइएको छ । त्यसैगरी जिल्लाभरि रहेका प्राथमिक सेवा केन्द्र र स्वास्थचौकीमा पनि रगत परीक्षण गरिँदै आएको छ । स्वास्थ केन्द्रले संक्रमित गर्भवती महिलालाई अञ्चल अस्पतालमा रिफर गर्दै आएका छन् ।

बाँकेमा एचआईभी संक्रमित भएका शतप्रतिशत गर्भवती महिलाले स्वस्थ बच्चा जन्माएका छन् । यो निकै ठूलो उपलब्धि भएको चिकित्सकहरूको दाबी छ । असुरक्षित यौन सम्पर्कले हुने एचआईभीको संक्रमण गर्भवती आमाबाट सीधै नवजात शिशुमा सर्छ । तर, संक्रिमत भएको पुष्टि भइसकेका मध्ये निकै कम व्यक्ति उपचारका लागि पुग्ने गरेका कारण जोखिम बढाएको छ । सामाजिक बहिष्करणमा पर्ने क्रासका कारण त्यस्ता व्यत्ति एचआईभी लुकाउन बाध्य भएका छन् । उपचार नगराउँदा त्यसको जोखिम बढेको हो ।

प्रदेश स्वास्थ्य कार्यालय बाँकेका अनुसार सबैभन्दा बढी खजुरा, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीपारिका क्षेत्र एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् । फोकल पर्सन रामबहादुर चन्दले ती क्षेत्रका युवाहरू बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने र असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले उनीहरू नै एचआईभीको जोखिममा रहेको बताए । त्यस्तै, लागूपदार्थका दुर्व्यसनी र त्यसका प्रयोगकर्ताहरू, यौन व्यवसायीहरू पनि यसको उच्च जोखिममा रहेका छन् ।

नेपालगन्ज उपमहानगरमा मात्र ३९ जना पुरुष लागूऔषध प्रयोगकर्तामा एचआईभी संक्रमित भएको पाइएको छ । असुरक्षित यौन सम्पर्क र साझा सुई प्रयोग गर्ने दुर्व्यसनीहरू एचआईभी र एड्सबाट संक्रमित हुने गरेका छन् । तर, परामर्श तथा जाँच केन्द्र स्थापना विस्तारसँगै एचआईझी र एड्स संक्रमित व्यत्तिको पहिचान हुन थालेपछि संख्या बढदो छ । जाँचपछि एचआईभी एडस भएको पुष्टि भएकाले सावधानी अपनाउँदा नियन्त्रणमा सहयोग पुगेको स्वास्थ्यकर्मीहरूले बताए ।

प्रकाशित : चैत्र २, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?