कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृगौला रोगको निःशुल्क उपचार

पाल्पा — तानसेनस्थित लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । विश्व मृगौला दिवसको अवसर पारेर सेवा सुरु गरेको हो ।

लुम्बिनी मेडिकल कलेज, आरोग्य फाउन्डेसन ललितपुर र रोटरी क्लब अफ पाल्पाको संयुक्त पहलमा डाइलाइसिस सेवा सञ्चालन गरिएको कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।


विभिन्न अस्पतालमा नियमित रूपमा डाइलाइसिस सेवा लिइरहेका नियमित बिरामीले आवश्यक प्रक्रिया पूरा गरी आएमा उनीहरूको निःशुल्क डाइलाइसिस गरिने उनले बताए । १ करोड रुपैयाँ लागतमा सञ्चालन गरिएको हेमोडाइलाइसिस सेवाका लागि अस्ट्रेलियन राजदूतावासबाट ३ वटा मेसिन उपलब्ध भएको छ । पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वतलगायत जिल्लाका नागरिकले सेवा लिन पाउनेछन् । चिकित्सक तिलाचन पाण्डेले डाइलाइसिस सेवाका लागि दक्ष, योग्य चिकित्सक रहेको बताए । महँगो खर्च गरेर डाइलाइसिस गर्न जानुपर्ने मृगौलापीडितका लागि ठूलो राहत मिल्ने उनले बताए ।


‘गुणस्तरीय सेवा दिने हाम्रो प्रतिबद्धता छ,’ उनले भने, ‘यसबाट सयौं बिरामीको जीवन बचाउन सकिनेछ भन्ने विश्वास छ ।’ डाइलाइसिस गर्न आएका माथागढी–३ कसेनीका इन्द्रबहादुर सारूले नजिकमै पाएको सेवाबाट खुसी लागेको बताए । ‘मैले रूपन्देहीको भैरहवा पुगेर डाइलाइसिस गर्दै आएको थिएँ,’ उनले भने, ‘अहिले बढी खर्च हुने गरेकोमा अब घरबाट एक घण्टामै आएर निःशुल्क डाइलाइसिस गर्न पाएको छु ।’


बिरामी अवस्थामा निःशुल्क डाइलाइसिस गर्न टाढा जानुपर्ने बाध्यता हटेपछि यस भेगका बासिन्दालई फाइदा पुग्ने लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालले बताए । ‘बिरामीले नजिकमै सेवा पाएपछि धेरैलाई सहज भएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ४, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?