कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारलाई कारबाही माग

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित सुस्ता बस्ती जोड्ने पुल विभिन्न बहाना बनाएर वर्षौंदेखि अलपत्र बनाउने ठेकेदार कम्पनीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

ठेकेदारलाई कारबाही माग

टापुका रूपमा रहेको बस्ती जोड्न नारायणीमा निमार्ण गर्न लागिएको झोलुंगे पुल २ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारले केही दिन काम गर्छन् । त्यसपछि महिनौं हराउने गरेका छन् । ०७३ पुसमा काम सुरु गरेका थिए । डेढ वर्षमा निर्माण सक्नुपर्नेमा अहिलेसम्म २५ प्रतिशत काम भएको छैन ।


स्थानीयले जोखिम मोलेर नारायणी तर्नुपर्ने बाध्यता भए पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको भन्दै सम्बन्धित निकायले ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । अब नयाँ प्रक्रियाबाट अगाडि बढ्नुपर्ने सुस्ता बचाऊ अभियानका उपाध्यक्ष आदम खाँले बताए । 'कहिले निर्माण सामग्रीको अभाव छ भन्ने, कहिले महँगीको कारण देखाउँदै ठेकेदार बेपत्ता हुने गरेको छ,' उनले भने, 'अनुगमन र नियमन गर्ने निकायले चासो दिन आवश्यक छ ।' नारायणीपारि भारतसँग जोडिएको सुस्ता र गाउँपालिकाको केन्द्र जोड्नका लागि झोलुगें पुल निमार्ण गर्न लागिएको हो । निर्माण कम्पनीका कर्मचारी सम्पर्कविहीन छन् ।


काम बन्द गरेर सम्पर्क विहीन बनेको यो तेस्रो पटक हो । विभिन्न कारण देखाउँदै पटक-पटक काम बन्द गरेको ठेकेदार कम्पनीले अहिले काम ठप्प पारेको स्थानीय जगदीश गुप्ताले बताए । 'आफ्नै गाउँपालिका पनि भारतीय भूमि भएर आउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा पुल निमार्ण नहुनु दुखद हो,' उनले भने, 'काम रोकिएको महिनौं भयो, कसैले पनि वास्ता नगर्दा ठेकेदारको मनोबल बढेर काम बन्द गरेको छ ।' १ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको छ ।


सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले ठेकेदार सम्पर्कमा नआएको बताए । 'काममा अवरोध नहँुदासमेत ठेकेदारले काम अगाडि बढाएको छैन,' उनले भने, 'मन्त्रालयमा खबर गरेको छु, ठेक्का नै रद्ध गरेर पुन खुलाउने तयारी भइरहेको खबर आएको छ ।' नारायणीपारि विहारसँग जोडिएको नेपाली भूमि सुस्ता पुग्न डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । पक्लिहवास्थित नदी किनारबाट ३ किलोमिटर डुंगामा यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : चैत्र ५, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?