कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै ठाउँमा हाेलीका दहन गरिने

बर्दिया/परासी — गुलरिया नगरपालिका–७ स्थित गुलरिया गाउँमा यादव समुदायको बाक्लो बस्ती छ । यहाँ वर्षौंदेखि एउटै स्थानमा होलिका दहन गरिन्छ । आसपास गाउँमा मौलिक होली देखिन छाडिसक्यो । यहाँ भने भगवान् कृष्णकालीन परम्पराअनुसार सद्भावपूर्ण होली खेलिन्छ । यहाँ पर्वका दिन मदिरा र मांसहारी खाना पाक्दैन । 

यहाँका अग्रज पुस्तासँगै युवाले परम्परा भुलेका छैनन् । वसन्त पञ्चमीका दिन होलिका स्थापना गरिएको थियो । बुधबार मध्यरात त्यसको दहन गरिन्छ । होलीको पूर्वसन्ध्यामा पूरै गाउँलेले देवहरा पूजा गर्ने चलन छ । यस्ता पूजा गाउँबाहिर गर्ने चलन छ । स्थानीय मनोजकुमार यादवले पूजाका लागि मिठाइँ, फलफूल चढाउँदै गेरु पानीमा मिसाएर गाई, भैंसीको सिङमा बाँध्ने चलन रहेको बताए । ‘गाउँ, सहर, जिल्ला र मुलुकमा शान्ति छाओस् भनेर पूजा गरिन्छ,’ उनले भने, ‘होलिका दहनका बेला भजन, कीर्तन मण्डली गीत गाउने चलन छ ।’


पुरोहितले दहनपछि आगोबाट निस्केको खरानी त्यहाँ आएका महिला तथा पुरुषलाई लगाउँदै सुख–शान्तिको कामना गर्छन् । होलिका जलाउन गाउँका महिला गोबरको गुइँठा लिएर आउँछन् । दहनको भोलिपल्ट होली खेलेपछि साँझ गाउँका मुखियालगायत मान्यजन आएर आगो पूर्ण रूपमा निभाउँछन् । पुरोहितले एक वर्षका लागि नयाँ पञ्चांग लिएर आउने गर्छन् । तिनले सर्वसाधारणको ग्रहदशा हेर्छन् । त्यसबापत गच्छेअनुसार स्थानीयले दक्षिणा दिएर पुरोहितलाई बिदा गर्छन् ।


यस्तो परम्परा सदियौंदेखि रहेको स्थानीय समाजसेवी धनेश यादवले बताए । परम्पराअनुसार गोडिया समुदायले हुडुक नाच गर्ने गरेका छन् । होली सकिएको साँझ कपाल काट्ने नाउ/ठाकुर समुदायका व्यत्तिलले ऐना लिएर मान्यजनलाई होली खेलेको अनुहार देखाउने गरेको यादवले बताए । राति मिठाइँ, फलफूललगायत शुद्ध खाना खुवाउँदै होली मिलन कार्यक्रम गरिन्छ । यस समुदायमा होलीमा विकृति भने छैन । परम्परागत संस्कार र शुद्ध आहारा खाने चलन रहेको समाजसेवी यादवले बताए ।


भूमि पूजा

पश्चिम नवलपरासीमा भूमिपुत्र थारू जातिले चीर दहन गरेपछि होली पर्व मनाउने परम्परा छ । एक सातादेखि गाउँका युवाले होली गीत गाएर पूर्णिमाका दिन चीर दहन गर्ने र भूमिको पूजा गर्ने गर्नुपर्छ । ‘गाउँका सबै पुरुष जम्मा भएर होलिकाको प्रतीकका रूपमा तोरीको गट्टे र उखुको डाँठमा आगो बालेर आकासतर्फ फालेर होलिका दहनको खुसी मनाउने गर्थे ।’ सरावलका मनिराम चौधरीले डम्फु बजाएर घर–घरमा जाने, रंग दल्ने र गीत गाएर नाच्ने थारू समुदायको पुरानो संस्कृति भएको बताए ।


उनका अनुसार अहिले यसमा कमी आएको छ । पछिल्लो समय युवाले परम्परागत मौलिक गीत र डम्फु बजाउन भुलेपछि हराउँदै गएको हो । ‘नयाँ पुस्ता अध्ययन र कामको सिलसिलामा घरबाहिर बस्दा मौलिक संस्कृतिमा आकर्षण घटेकाले परम्परा हराउँदै गएको छ,’ बर्दघाटका २२ वर्षका रोशन महतोले भने, ‘संघसंस्था तथा होटलमा गएर फागुपूर्णिमा मान्ने प्रचलनले गाउँघरको मौलिक परम्परा हराएको हो । पुराना पुस्ताले पनि संस्कृति हस्तान्तरणमा ध्यान दिएको पाइँदैन ।’


जिल्लाका विभिन्न संघसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेर सामूहिक रूपमा होली मनाउने तयारी गरेका छन् । केही वर्षअघिसम्म होलिमा सप्तरंगी रंग दलेर एकअर्कामा खुसी साटासाट गरेर मनाइने गरिन्थ्यो । तर, अहिले एक हप्तादेखि नै लोला हान्ने, हानिकारक रंगको प्रयोग, अण्डा, मैदाको प्रयोग गर्ने हुनाले स्वास्थ्यमा असर पुग्ने गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?