हिंसाविरुद्ध नानीहरू

समाजमा बढिरहेका यौन तथा घरेलु हिंसाको छाप कलिलो मस्तिष्कमा कसरी पर्छ भन्ने कुरा चित्रबाटै प्रस्तुत
दुर्गालाल केसी

दाङ — बालकल्याण मावि पेदामा ७ कक्षा अध्ययनरत विनीता ओलीले महिलामाथि भइरहेका हिंसालाई क्यानभासमा उतारिन् । त्यसपछि रंग भरिन् । जाँडरक्सी खाएर श्रीमती कुट्ने, सडकमा हिँडिरहेका युवतीलाई जिस्काउने, यौनहिंसा र बलात्कार गर्ने घटनालाई उनले रंगमार्फत उतारिन् । समाजमा बढिरहेका यौन तथा घरेलु हिंसाका छाप कलिलो मस्तिष्कमा कसरी पर्छ भन्ने कुरा उनको चित्रबाट देख्न सकिन्छ । 

दाङका स्कुले बालबालिका महिला हिंसाविरुद्धका चित्र बनाउँदै । तस्विर : दुर्गालाल/कान्तिपुर 

‘गाउँघरमा देखेका घटनालाई चित्रमा कोरेको हुँ । यस्ता घटना नभइदिए हुन्थ्यो भन्ने कामना छ,’ उनले भनिन्, ‘चित्रमार्फत हाम्रो आवाज उठाएका छौं । हामीमाथिका हिंसा रोकिनुपर्छ ।’ आदर्श आधारभूत विद्यालय काँशिपुरमा ८ कक्षा अध्ययनरत महेश चौधरीले पनि घरेलु हिंसाका घटनामा रंग भरे ।

Citizen

चित्र बनाउने नियमित अभ्यास नभए पनि हिंसाविरुद्ध बालबालिकाको आवाज दर्शाउन उनले सकीनसकी चित्र कोरे । ‘बेलाबेला चित्र बनाइन्छ । अहिले भइरहेका हिंसाका घटनाले बढी छोएको छ,’ उनले भने, ‘चित्र हेरेर हाम्रो आवाज सुनिदिए हुन्थ्यो । घरपरिवार र समाजमा हिंसा बन्द होस् । शान्त वातावरणमा हिँड्न पाइयोस् ।’

महिला र बालिकामाथि भइरहेका शारीरिक तथा यौनजन्य हिंसाविरुद्ध आवाज उठाउन यहाँका बालबालिकाले स्वस्फूर्त रचनात्मक उपाय निकालेका छन्– सिर्जनामार्फत खबरदारी । चित्रमा रुची राख्ने विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका पायक पर्ने ठाउँमा जुट्छन् र आफूलाई मन छोएको विषयमा चित्र बनाउँछन् । चित्र तयार भएपछि प्रदर्शन गर्छन् ।

शिक्षक, स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई बोलाएर चित्र देखाउँछन् । चित्रको भावबारे व्याख्या गर्छन् । यस्तो अभियानले अभिभावकलाई हिंशाबारे सोच्न बाध्य पारेको शिवशक्ती मावि धनौरीमा ८ कक्षा अध्ययनरत मुना भण्डारीले बताइन् । उनले बालिकामाथि भैरहेका दुर्व्यवहार, बलात्कार र हत्याका चित्र बनाइन् । ‘यसले धेरैलाई सचेत बनाएको छ । बालिका तथा महिलाहरूमाथि एकपछि अर्को हिंसा भइरहेको छ,’उनले भनिन् ‘बालिकाहरू कसरी सुरक्षित हुने ? हामीले समाजलाई नै प्रश्न गरेका छौं ।’

सरस्वती आधारभूत विद्यालय जुम्लेकुलामा ७ कक्षा अध्ययनरत सुधा विकले पनि गाउँसमाजमा देखेका महिला हिंसाका विभिन्न रूपलाई चिक्रमा व्यत्त गरिन् । त्यसबारे गाउँसमाजमै व्याख्या गरिन् । ‘धेरैजसो घरमा पुरुषले जाँडरक्सी पिएर महिलालाई कुटपिट गरिरहेको देखिन्छ । यसले मन खिन्न हुन्छ,’ उनले भनिन्, ‘त्यस्ता घटनालाई चित्रमा उतारेर अभिभावकलाई देखाएका छौं । चित्र हेरेर मानिसहरू गम्भीर भएको देखिन्छ ।’

कलाको शक्ति प्रभावकारी हुने ठानेर चित्र बनाउन जुटेको आधारभूत विद्यालय बस्तीखोलामा ७ कक्षा अध्ययनरत जानकी विकले बताइन् । ‘हामीले महिलामाथि हुने हिंसाका चित्रहरू बनाई हिंसाविहीन समाजको परिकल्पना गरेका छौं । यो हाम्रो सपना हो,’ उनले भनिन्, ‘समाजका अगुवाहरू यसप्रति जिम्मेवार हुनैपर्छ । घरमै बालिका बलात्कृत हुनेजस्तो डरलाग्दो अवस्थाको अन्त्य हुनुपर्छ ।’

मान्छेदेखि डराउने अवस्थाको अन्त्य हुनुपर्ने अम्बिकेश्वरी आधारभूत विद्यालय अमुवामा ८ कक्षा अध्ययनरत अनिशा ठाडामगरले बताइन् । ‘अहिले मान्छे देखेर डराउनुपर्ने अवस्था छ । बुबा, हजुरबुबा, दाजु, भिनाजुजस्ता आफन्तबाटै बलात्कार भइरहेका समाचार सुनिन्छन्,’ उनले भनिन्, ‘चित्रमा यही कुरा प्रस्तुत गरेका छौं । घरमा पनि सुरक्षा नभए अन्यत्रकहाँ जानु ?’

बोलेर सुनुवाइ नभएपछि चित्रजस्तो रचनात्मक अभियान थालेको जनकल्याण मावि सिमसुन्दरपुरमा ८ कक्षा अध्ययनरत मीना परियारले बताइन् । ‘हाम्रो आवाज कसैले नसुन्ने भए । ठूला मान्छेहरूजस्तो बन्द, हड्ताल गर्ने कुरा भएन । हामीले सिर्जनामार्फत आवाज उठाएका छौं,’ उनले भनिन्, ‘यसको सुनुवाइ हुनुपर्छ । हामीलाई ढुक्कसँग हिँड्डुल गर्ने वातावरण हुनुपर्छ ।’

बालबालिकाका चित्र निकै प्रभावकारी भएको चिक्रकलामा मार्गदर्शन गरिरहेका चित्रकार लेखराज गिरीले बताए । ‘सिर्जनामा कति शत्ति छ भन्ने कुरा बालबालिकाका चित्रमा देखिन्छ । हरेकले आफ्नै घरपरिवार, विद्यालय र गाउँघरमा समस्या चित्रमा उतारेका छन्,’ उनले भने, ‘यसले वयस्कहरूलाई सोच्न बाध्य पारेको छ । बालबालिकामाथि भइरहेका व्यवहार सुधार्न सचेत बनाइरहेको छ ।’

चित्रले समाजमा बालबालिका कुन मनोदशामा बाँचिरहेका छन् भन्ने कुरा प्रष्ट्याउने उनले बताए । ‘बालबालिका कति आतंकित र त्रसित मानसिकतामा छन् भन्ने कुरा चित्रमा देखिन्छ,’ उनले भने, ‘यसले अभिभावकहरूलाई जिम्मेवार र जवाफदेही बनाउन भूमिका खेल्छ ।’ अन्य आन्दोलन, हड्तालभन्दा सिर्जनाको आवाज रचनात्मक र प्रभावकारी हुने उनले बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एसईई उत्कृष्टको सुझाव : दोहोर्‍याएर पढ सिर्जनात्मक उत्तर लेख

राम्रो नतिजा ल्याउन लेखाइमा फरकपन चाहिन्छ । हरेक विषयलाई दोहोर्‍याएर पढ्ने हो भने फरक तरिकाले लेख्न सकिन्छ 
अमृता अनमोल

बुटवल — परीक्षामा राम्रोसँग उत्तर लेख्ने र उत्कृष्ट नतिजा ल्याउने सबैको चाहना हुन्छ । सबैको चाहना पूरा भने हुँदैन । कोही परीक्षा तयारी नै कसरी गर्ने भन्नेमा अलमलिन्छन् । कसैले परीक्षामा धेरै आत्तिएर जानेकै कुरा बिर्सन्छन् ।

 बुटवलको साधना महिला विद्यालयका विद्यार्थी एसईई परीक्षाको पूर्वतयारी गर्दै । तस्बिर : अमृता/कान्तिपुर 

कोही जानेकै कुरा पनि सिलसिलेवार रूपमा लेख्न र सिर्जनात्मकतामा ढाल्न नसक्दा पछाडि पर्छन् । यी सबैलाई चिरेर रूपन्देहीका धेरै विद्यार्थीले विगतका एसएलसी र एसईईमा मुलकमै उत्कृष्ट नतिजा ल्याएका छन् । परीक्षाको समयमा थोरै मात्र गम्भीर हुँदा पनि राम्रो नतिजा ल्याउन सकिने उनीहरूको सुझाव छ ।

गत वर्षको एसईईमा ४ जीपीए ल्याएकी सृष्टि पोखरेल सिर्जनात्मक तरिकाले उत्तर लेख्न सुझाव दिन्छिन् । उनको भनाइमा धेरै साथीहरूले सर, मेडमहरूले जस्तो सिकायो त्यस्तै घोकेर उत्तर लेख्छन् । यसो गर्दा उत्तर त मिल्छ । उत्तरमा फरकपन भने हुँदैन । राम्रो नतिजा ल्याउन लेखाइमा फरकपन हुनुपर्छ । हरेक विषयलाई दोहोराएर पढ्ने हो भने फरक तरिकाले लेख्न सकिन्छ ।

हरेक कुरालाई सिर्जनात्मकता दिन र राम्रो नतिजा निकाल्न सकिन्छ । ‘पढेको कुरा लेखेर पनि अभ्यास गर्नुपर्छ,’ स्कलर्स होम बोर्डिङबाट एसईई दिएकी उनले भनिन्, ‘पढेपछि लेख्दा सम्झन सजिलो हुन्छ । परीक्षामा समय व्यवस्थापनमा पनि सहज हुन्छ ।’ कतिपयको केरेर लेख्ने बानी हुन्छ । केरेर लेख्दा त्यसले कापी जाँच्ने शिक्षकमा नकारात्मक सन्देश जान्छ । यसैले अक्षर सफा र सुन्दर लेख्नुपर्छ । जुन प्रश्नको उत्तर आफूलाई सहज लाग्छ त्यसबाट लेख्न सुरु गर्नुपर्छ ।

बुटवलकी सलिना जीसीले पनि गत वर्षको एसईईमा ४ जीपीए ल्याएकी थिइन् । उनी कुनै पनि विषय दोहोर्‍याई तेहर्‍याई पढ्थिन् । पढिसकेपछि आफ्नो ढंगमा लेख्थिन् । यही बानीले उत्कृष्ट नतिजा ल्याउन सफल भइन् । ‘एसईई भन्दैमा परीक्षामा आत्तिनु हुँदैन । यसलाई नियमित परीक्षाजस्तै सामान्य कुरा ठान्नुपर्छ,’ बुटवलको तिनाउ बोर्डिङ स्कुलबाट एसईई दिएकी सलिनाले भनिन्, ‘तर आफूलाई शंका लागेको प्रश्नको उत्तर पक्का नभई लेख्नु हुँदैन ।’ समय छँदै सकिए आफैंले लेखेको उत्तर पनि दोहोर्‍याएर रुजु गर्न उनले सुझाव दिइन् । ‘परीक्षाका बेला पढेको कुरा छोटो समयमा सम्झे पनि बिर्सन सकिन्छ,’ उनले सुझाव दिइन्, ‘त्यसो हुन नदिन पटक–पटक दोहोर्‍याएर तयारी गर्नुपर्छ ।’

०७३ सालको एसईईमा सैनामैनाका आदर्श पाण्डेले ४ जीपीए ल्याएर देशकै सर्वोत्कृष्ट बने । रामापुर रिभाइवल बोर्डिङ स्कुलबाट एसईई दिएका आदर्श पढ्ने समयमा ध्यान दिएर पढ्थे । एक पटक भनेको कुरा सम्झिहाल्थे । तैपनि आफ्नो शैलीमा पटक–पटक दोहोर्‍याउँथे । उनीसँगै पढ्ने साथीहरू सजिलो विषय भनेर कतिपय विषयलाई बेवास्ता गर्थे । आदर्शले त्यसो कहिल्यै गरेनन् । ‘सर–मेडमले पढाएको कुरा मैले घरमा पनि दोहोराई तेहराई पढ्थें,’ आदर्शले भने, ‘पढेको कुरा रचनात्मक शैलीमा लेख्थें ।’

उनले त्यसअघि एसएलसी टपेका धेरै दाइ–दिदीसित कसरी पढेको कुरा सम्झनुपर्छ र लेख्नुपर्छ भनेर सल्लाह लिन्थे । सल्लाहबमोजिम कम्तीमा ७ घण्टा पढ्थे । आदर्श होस्टलमा बसेनन् । घरबाटै आउजाउ गर्थे । समूहमा पढ्दा डिस्टर्ब अनुभव गर्थे । त्यसैले उनी धेरैजसो छतमा बसेर पढ्ने र लेख्ने गर्थे । उनलाई एकान्त मन पर्थ्यो । छतमा शान्त वातावरण हुँदा पढेको कुरा पनि छिटो याद हुन्थ्यो । ‘उत्तर लेख्ने सिर्जनात्मक शैली र सफा लेखाइले पनि नतिजा राम्रो ल्याउन सहयोग गर्‍यो,’ आदर्शले सम्झे, ‘परीक्षाको समयमा सबै दोहोर्‍याएर तयारी गर्दा पनि सजिलो भयो ।’

०७२ सालको एसएलसीमा रूपन्देहीकी समीक्षा सुवेदी देशकै उत्कृष्ट अंक ल्याउने विद्यार्थी बनिन् । उक्त वर्ष उनीलगायत देशका २ जनाले मात्रै ४ जीपीए ल्याएका थिए । सैनामैना नगरपालिका मुर्गियाको सुनगाभा पब्लिक उच्चमाविकी छात्रा समीक्षाको सधै समयतालिका बनाएर पढ्ने बानी थियो । समयतालिका बनाएर पढ्ने, पढेको कुरा बेलाबेलामा दोहोराउने र सरहरूले सिकाएको खुरुखुरु सिक्ने उनको विशेषता थियो । नबुझेको कुरा पटक–पटक सोध्ने समीक्षाको बानी थियो । यही बानीले उत्कृष्ट बन्न सफल भएको समीक्षाले बताइन् ।

उनका अनुसार परीक्षाको बेला भन्दैमा जतिबेला पनि पढ्नु पर्दैन । दिनको ६ घण्टा सुत्नैपर्छ ।पढ्दा ध्यान दिनुपर्छ । याद भएको कुरा घरको अरू काम गर्दागर्दै पनि परीक्षण गर्नुपर्छ । ‘परीक्षाको बेलामा समेत समयतालिका बनाएर पढ्दा सबै तयारी गर्न समय पुग्छ । परीक्षामा सिर्जनात्मक लेख्नुपर्छ,’ समीक्षाले भनिन्, ‘तर, उत्तरको सुरुवात र समापन गर्ने तरिकामा सरहरूले दिएको सुझाव मान्नुपर्छ । यसो गर्दा राम्रो लेखाइ हुन्छ ।’

मेहेनत गरेर पढ्ने हो भने राम्रो नतिजा ल्याउन निजी विद्यालयमा पढ्नु पर्दैन । महँगो शुल्क तिरेर होस्टल बस्नु पनि पर्दैन । सामुदायिक विद्यालयमा पढेर पनि निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई जित्न सकिन्छ । त्यसका उदाहरण हुन्, रूपन्देहीको शान्ति नमुना उच्चमाविकी छात्रा भावना अर्याल ।

उनले ०७१ सालको एसएलसीमा ७ सय ५१ अर्थात् ९३ दशमलव ८७ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो र छात्रातर्फ प्रथम भएकी थिइन् । भावना दिनहुँ मेहेनत गरेर पढ्थिन् । ‘परीक्षाको समयमा पनि करिब २ घण्टा समूहमा छलफल गरेर पढ्थें । कुरा नबुझी अगाडि बढ्दिनथें,’ भावनाले सुनाइन्, ‘यही बानीका कारण उत्कृष्ट नतिजा आएको हो ।’

भावनाका भनाइमा कहिलेकाहीं पढ्न अल्छी लाग्न सक्छ । धेरै कुरा नजान्ने भएर तयारी गर्नै मन नलाग्न सक्छ । कमजोर विद्यार्थीले महत्त्वपूर्ण पाठ छुट्याएर त्यसमा ध्यान दिनुपर्छ । यसले उत्तीर्ण हुन सहयोग पुग्छ । जान्ने विद्यार्थीले भने सबै कुरालाई मसिनो गरी पढ्नुपर्छ । छोटा प्रश्नहरू जताबाट पनि सोधिने भएकाले राम्रो नतिजा ल्याउन सबै कुरा जान्ने हुनैपर्छ ।

तेज विद्यार्थीलाई पनि सबै कुरा जानेजस्तो लागेर परीक्षाका बेला तयारी गर्न मन नलाग्न सक्छ । यस्तो बेलामा के गर्ने ? भावना भन्छिन्, ‘पढ्न अल्छी लागे लेखेर अभ्यास गर्ने र लेख्न अल्छी लागे पढेर अभ्यास गर्नुपर्छ ।’ आफ्ना लागि सरहरूले देखाएको लगाव र अभिभावकको लगानी पनि सम्झेर आफ्नो चञ्चलता र आलस्यलाई रोक्न उनले सुझाव दिइन् ।

परीक्षाका बेला कतिपय विद्यार्थी होस्टलमा हुन्छन् । यस्तोमा उनीहरूलाई शिक्षकले निगरानी राख्छन् । परीक्षाका बेला शिक्षक आदर्श बन्नुभन्दा सहयोगी बन्नुपर्ने उत्कृष्ट विद्यार्थीको सुझाव छ । गत वर्ष बुटवलको न्यु होराइजन माविबाट ४ जनाले ४ जीपीए ल्याए । यी ४ जना नै सामान्य परिवारका थिए तर होस्टलमा थिए । पढाइमा निकै चाख दिन्थे । सबै विषय दोहोराएर पढ्थे । कक्षाका अतिरिक्त ५ देखि ६ घण्टा तयारीमा व्यस्त हुन्थे ।

‘हरेक कुरा सफा र शुद्धसँग लेख्थे । परीक्षामा लेख्ने तयारी गरिराख्थे,’ प्रधानाध्यापक लोकनाथ उपाध्यायले भने, ‘हामीले पनि राम्रो गर्न प्रोत्साहन दिन्थ्यौं तर परीक्षाका बेला यस्तो गर्नैपर्छ भनेर दबाब दिँदैनथ्यौं ।’ विद्यार्थी उत्कृष्ट बन्न उसको घरपरिवार र अभिभावकको पनि ठूलो हात हुन्छ । धेरै अभिभावकले अझै पनि एसईईलाई फलामे ढोका भन्दै आफ्ना छोराछोरीलाई तर्साउँछन् । छोराछोरीको खुबी र क्षमता नबुझी जसरी हुन्छ उत्कृष्ठ नतिजा ल्याउन दबाब दिन्छन् ।

अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली यस्तो दबाबले मात्रै एसईईमा उत्कृष्ट नतिजा नआउने बताउँछन् । ‘अरू समयमा छोराछोरीको निगरानी राख्नुपर्छ । तर परीक्षाका बेलामा आफ्ना तरिकाले पढ्न दिनुपर्छ,’ उनले भने, ‘यसले उनीहरू सहज महसुस गर्छन् । सम्झन र राम्रोसित लेख्न सक्छन् ।’

प्रकाशित : चैत्र ९, २०७५ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT