कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

ठगी र जबरजस्ती करणी अभियोगमा एक पक्राउ

दुर्गालाल केसी

दाङ — लाखौं रुपैयाँ ठगी र जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका ४० वर्षीय महेश भनिने भुवन धिताललाई ठगी र जवरजस्ती करणीका पीडितहरुको जाहेरीका आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।

ठगी र जबरजस्ती करणी अभियोगमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी धिताललाई विभिन्न सामग्रीसहित सार्वजनिक गरिएको छ । ठगीमा पाँचजना पीडितहरुको सामूहिक जाहेरी र जबरजस्ती करणीमा तीनजनाको छुट्टाछुट्टै जाहेरीका आधारमा धिताललाई बुधबार बेलुका दाङ र बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए । बाँके हुँदै भागेर काठमाडौ जान खोजेका बेला पक्राउ गरिएको उनले बताए ।


धितालको साथबाट १ करोड ६९ लाख रकमका ८२ थान चेक, दुईवटा खाली चेक, १ करोड २४ लाखका ३२ वटा तमसुक, बा १५ च ७६६८ नं. को एक सेतो फोर्ड गाडी, भे ८ प ३९५५ नं. को एक स्कुटर, चारवटा ढुकुटी खेलाएको रजिष्टर, चारवटा खाली तमसुक, दुई मोबाइल, दुई सुनका औंठी, एक ब्रासलेट, १८ हजार ५ सय नगद, एक घडी र एक पत्रकार परिचयपत्र बरामद भएको उनले जानकारी दिए ।


ठगी र जबरजस्ती करणी अभियोगमा पक्राउ परेका दाङका भुवन धितालबाट प्रहरीले बरामद गरेको गाडी र स्कुटर । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

धितालले शैक्षिक स्तर कमजोर भएका, एकल महिला र श्रीमान विदेश गएका महिलाबाट ढुकुटी खेल्ने नाममा रकम असुल्ने र ठगी गर्ने गरेको एसपी पाण्डेले बताए । रकम लिएर ठग्ने र माग्दा आफू पत्रकार भएको, प्रहरीका हाकिमहरुसँग राम्रो सम्बन्ध भएको भन्दै धम्काउने गरेको पीडितहरुले बताएका छन् ।


उनले जलजला खबर डट कमको नामबाट पत्रकार परिचयपत्र बनाएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ । रकम सापटी दिने र धम्काएर ३६ प्रतिशतसम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न तरिकाले प्रलोभन र दबावमा पारी यौनशोषण समेत गर्ने गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।


दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको एसपी पाण्डेले बताए । उनको आर्थिक स्रोत र सम्पत्तिबारे थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई समेत अनुरोध गरी पठाएको उनले जानकारी दिए । धितालबाट पीडित भएकालाई जाहेरी दिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।


२०३५ जेठ १ गते तुलसीपुरको बेलगनारमा जन्मिएका धिताल एसएलसीसम्म पढेर २०६० बैशाखमा बैदेशिक रोजगारमा मलेसिया गइ तीन वर्षपछि फर्किएका थिए । उनी केही वर्ष घरमै खेतीपाती र किसानी काम गरेर २०६६ मा फेरि दुबई गएका थिए । २०६८ मा नेपाल फर्केर घोराही १५ दिपशिखा रोडमा तीन वर्ष र इन्द्रेणी टोलमा ८ महिना जति होटल व्यवसाय गरेका थिए ।


२०७२ मा होटेल व्यवसाय छोडेका धितालले केहीसमय घरमै बसेर जग्गा कारोबार गरेका थिए । त्यसयता उनी निरन्तर ठगी र यौनशोषणमा लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १५, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?