कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्राथमिकतामा गाडी खरिद

सञ्चालन मापदण्डबिना झन्डै ३ करोड रुपैयाँ गाडी खरिदमा
काशीराम डाँगी

रोल्पा — जनप्रतिनिधिहरूले विकास बजेट कटौती गर्दै गाडी खरिदलाई प्राथमिकतामा राख्ने गरेका छन् । धेरैले खरिद गरिसके, केहीले चालु वर्षमा खरिद प्रक्रिया अघि बढाएका छन् । 

सडक पुर्‍याइसकेका र पुर्‍याउन बाँकी स्थानीय तहका जनप्रतिनिधिले समेत गाडी खरिदलाई प्राथमिकता दिँदै आएका हुन् । तर, केही जनप्रतिनिधिले भने आवश्यक परेको बेला भाडामा लिएर चलाउने गरेका छन् ।


गाडी खरिदभन्दा पनि भाडामा चलाउँदा आर्थिक व्ययभार थप बढ्दो छ । गाडी खरिदलाई प्राथमिकतामा राखेका जनप्रतिनिधिले सञ्चालनको मापदण्ड भने अहिलेसम्म बनाएका छैनन् । जनताको काम र कार्यालय प्रयोजनमा मात्र गाडी प्रयोग हुने गरेको उनीहरूको दाबी छ । त्यसले गाडीको दुरुपयोग पनि बढ्दो छ ।


‘कार्यालयको कामकै लागि आउजाउ गर्नुपर्ने हुन्छ,’ रोल्पा नगरपालिकाका प्रवक्ता मीमबहादुर घर्तीमगरले भने, ‘जनताकै काम छिटोछरितो गराउन गाडी खरिद गरिएको हो ।’ आफ्नो सुविधाभन्दा जनताको कामलाई महत्त्व दिएर गाडी प्रयोग हुने गरेको उनले दाबी गरे । रोल्पा–९ का वडाध्यक्षसमेत रहेका उनले सरकारी गाडीको दुरुपयोग रोक्नमा भने ध्यान दिनुपर्ने बताए ।


रोल्पा नगरपालिकाले एउटा नयाँ गाडी खरिद गरेको थियो । साबिकको लिबाङ नगरपालिकालाई सरकारले नै गाडी उपलब्ध गराएको थियो । रोल्पा नगरमा दुईवटा जिपसहित जेसीभी, दमकल, टिपर र केही मोटरसाइकल छन् । जिल्लाका सबै १० स्थानीय तहमध्ये रोल्पा नगरमा धेरै गाडी छन् ।


नगर प्रमुख पूर्ण केसीले आवश्यकताका आधारमा सवारी साधन खरिद गर्ने गरिएको बताए । नगरमा पहिला बोलेरो जिप थियो । पछि उनकै अगुवाइमा महिन्द्रा जिप करिब ४० लाख रुपैयाँमा खरिद गरियो । उपप्रमुखका लागि स्कुटर पनि खरिद गरेको छ । हाल दुवै गाडीमा प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधि र कर्मचारी चढ्छन् ।


गाडीको प्रयोग योजना अनुगमनबाहेक जनप्रतिनिधि घर र कार्यालय गर्नमै बढी प्रयोग हुने गरेका छन् । त्रिवेणी गाउँपालिकाले करिब २३ लाख रुपैयाँ खर्चेर महिन्द्रा कम्पनीको बोलेरो जिप खरिद गरेको छ । त्यसमा अध्यक्ष शान्तकुमार वली चढ्छन् । डबल क्याब भएकाले त्यसले जनप्रतिनिधिसँगै सामान बोक्नमा पनि प्रयोग हुने गरेको छ । ‘सबै वडामा सडक पुगेको छ,’ उनले भने, ‘हामी पुग्न र आवश्यक सामग्री पुर्‍याउनसमेत एउटै जिपले काम गरेको छ ।’ उनले अत्यावश्यक कामबाहेक सकेसम्म गाडीको प्रयोग नगर्ने नीति बनाएको दाबी गरे ।


सुनील स्मृति गाउँपालिकाले चालु वर्षमै नयाँ गाडी खरिद गरेको छ । गाउँ कार्यपालिकाबाटै निर्णय गराएर स्कार्पियो गाडी खरिद गरिएको हो । अध्यक्ष गुणेन्द्र घर्तीमगरले भाडामा लिनुपर्दाको भन्दा खरिद गर्दा इन्धन खर्च कम हुने देखिएकाले नयाँ गाडी खरिद गरिएको बताए । गाडीलाई ६५ लाख रुपैयाँ परेको छ ।


माडी गाउँपालिकाले गाडी खरिद गर्न टेन्डर आहान गरेको छ । गाउँ कार्यपालिकाका प्रवक्ता ललित घर्तीमगरले गाडी खरिद गर्न गाउँ कार्यपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको बताए । माडी गाउँपालिका दाङदेखि रुकुम पुग्ने निर्माणाधीन सहिद मार्गसम्म पर्छ । माडीका अध्यक्षसहित जनप्रतिनिधिले अहिलेसम्म भाडाको जिपमा यात्रा गर्दै आएका छन् ।


दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकाले पनि गाडी खरिद गर्न अघिल्लो वर्षमै बजेट छुट्याएको थियो । गाडी खरिद गर्ने प्रक्रिया जारी रहेको सहलेखापाल गोपाल पोखरेलले बताए । उक्त गाउँपालिकाले गाडी खरिद गर्न ६५ लाख रुपैयाँ छुट्याएको छ । हाल भाडाको गाडी चलाउने गरिएको छ ।


अन्य जनप्रतिनिधि र कर्मचारीका लागि गाउँपालिकाको बजेटबाटै केही मोटरसाइकल खरिद भइसकेका छन् । भाडाको गाडी र मोटरसाइकलका लागि महिनामा डेढ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । गाउँपालिका कार्यालय नजिकै रहेको पेट्रोल पम्पबाट उधारोमा इन्धन प्रयोग गर्न ‘चिट’ बाँडने सुविधा दिइएको गाउँपालिकाले जनाएको छ ।


पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले पनि गाडी खरिद गर्न बजेट छुट्याएको छ । हाल भाडाको गाडी चलाउँदै आएकाले खर्च बढेपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए । ‘तेल खर्च र भाडा खर्च धेरै हुने रहेछ,’ उनले भने, ‘खर्च जोगाउने उद्देश्यले नै गाडी खरिद गरिएको हो ।’


थबाङ गाउँपालिकाले पनि गाडी खरिद गर्न ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । गाडी खरिद गर्न ई–टेन्डर गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । यस्तै गंगादेव गाउँपालिकाले समेत भाडाको गाडी प्रयोग गर्दै आएको छ । अध्यक्ष वीरबहादुर खत्रीले भाडामा चलाउँदै आएको जिपमाथि दुई साताअघि अज्ञात समूहले आगजनी गरेको थियो । आगजनीबाट गाडीमा क्षति पुगेको छ । परिवर्तन गाउँपालिकाको स्वामित्वमा यसअघिदेखि नै गाडी छ ।


गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले निर्वाचन हुनुअघिदेखि नै आफूले प्रयोग गर्दै आएको अर्थ मन्त्रालयको गाडी हाल गाउँपालिकाले चलाउँदै आएको छ । अध्यक्ष डाँगीले हालका सभामुख कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला उक्त गाडी ल्याएका थिए । त्यसबेला डाँगी महराका स्वकीय सचिव थिए ।


लुंग्री गाउँपालिकाले पनि भाडाकै गाडी प्रयोग गर्दै आएको छ । उपाध्यक्ष भीमकला बुढाथोकीले भाडाको गाडी प्रयोग गर्दा महँगो भएको बताइन् । आफ्नै गाडी खरिद गर्नेबारे छलफल भए पनि निचोडमा पुग्न नसकेको उनले बताइन् । ‘भाडामा गाडी लिएर चलाउँदा खर्च निकै हुने रहेछ’, उनले भनिन्, ‘गाउँ पुग्नैपर्‍यो । उकालो/ओरालो छ ।’


वडामा पुग्दा, तालिममा जाँदा र अनुगमनमा जाँदा अध्यक्षसहित उपाध्यक्ष र कर्मचारीले गाडी प्रयोग गर्दै आएको उनले बताइन् । रोल्पाका ७२ वडाका जनप्रतिनिधिले मोटरसाइकल खरिद गरेका छन् । ती जनप्रतिनिधि र कर्मचारीले आलोपालो चलाउँछन् । कतिपय स्थानमा गाडी दुरुपयोग गरेको गुनासो आएको प्रहरीले जनाएको छ ।


दुरुपयोग रोक्न सीडीओको निर्देशन

बिदाको दिनमा र सरकारी कामबाहेकमा पनि सरकारी गाडीको प्रयोग भएको जनगुनासो बढेपछि रोक्न प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले चासो देखाएका छन् । दुरुपयोग रोक्ने सरकारी कार्यालय र स्थानीय तहमा निर्देशन दिएको उनले बताए ।


‘सरकारी गाडीको दुरुपयोग भइरहेको गुनासो आएपछि स्वीकृति लिएर मात्र चलाउन भनेका छौं,’ उनले भने, ‘सरकारी कामबाहेकमा गाडी प्रयोग गरेको पाइएमा कारबाही गरिनेछ ।’ प्रजिअले कार्यालय प्रमुखको बैठकमा पनि सरकारी कामकै सिलसिलामा बाहेक अन्य समयमा गाडी प्रयोग नगर्न निर्देशन दिएका थिए ।


प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य दीपेन्द्रकुमार पुनले सरकारी गाडीमै प्रेमी–प्रेमिका ओसारेको गुनासो आएकाले त्यस्तो दुरुपयोग प्रशासनलाई जानकारी गराएको बताए । प्रजिअ एमसीले गाडीलगायत सरकारी सम्पत्तिको दुरुपयोग भएको देखिए ‘अन द स्पट’ कारबाही गर्ने दाबी गरे ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?