कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ वर्षमा पर्यटकको ओइरो

पछिल्लो समय नेपालीमा पनि घुम्ने बानीको विकास भएको छ । लुम्बिनीमा काठमाडौं, धरान, विराटनगर, नेपालगन्ज र पोखरालगायतका स्थानबाट पर्यटक आएका छन् । 
मनोज पौडेल

लुम्बिनी — सुनसरीको धरानबाट सुलभ राई नयाँ वर्ष मनाउन बुद्धस्थल लुम्बिनी आएका छन् । ४ जनाको परिवारसहित उनी दुई दिनअघि यहाँ आएका थिए । ‘प्रचण्ड गर्मी छ,’ उनले भने, ‘लुम्बिनीको पवित्रता र महिमाले भने दुःख–कष्ट सबै भुलायो ।’ उनीजस्तै ललितपुर, झम्सिखेलका जीवन आचार्य पनि नयाँ वर्षसँगै आध्यात्मिक ऊर्जा सञ्चय गर्न पाउँदा निकै खुसी छन् ।

नयाँ वर्षमा पर्यटकको ओइरो

दैनिक काम गर्दागर्दै तनाव झेलेका उनले शान्तिका अग्रदूतको महिमा र ऊर्जाको भावले यहाँ शीतलताको अनुभूति गरेको बताए । नयाँ वर्ष मनाउन पहिलोपटक परिवारसहित आएका उनले यहाँ दुई दिन बितेको पत्तै नभएको बताए । चार दिनका लागि यहाँ आएका थिए । ‘शान्ति, सद्भाव र भ्रातृत्वको राम्रो अनुभूति गरें,’ उनले भने, ‘जीवनलाई सकारात्मक बाटोमा डोर्‍याउने प्रेरणा पनि पाएँ ।’


नयाँ वर्ष मनाउन अहिले लुम्बिनी आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् । सानादेखि तारे होटलसम्मका कोठा भरिएका छन् । पर्यटकहरू योजना बनाएर यहाँ आएका छन् ।


नजिकभन्दा टाढाबाट आन्तरिक पर्यटक धेरै आएको होटल व्यवसायीहरूले बताए । पछिल्लो समय नेपालीमा पनि आन्तरिक पर्यटकका रूपमा घुम्ने बानीको विकास भएपछि यहाँ भीड बढेको हो । लुम्बिनीमा काठमाडौं, धरान, विराटनगर, नेपालगन्ज र पोखरालगायतका ठाउँबाट पर्यटक आएका छन् ।


त्यस्तै सय किमि सेरोफेरोका आन्तरिक पर्यटक पनि लुम्बिनी घुम्न आएका थिए । आइतबार दिनभर लुम्बिनीमा आन्तरिक पर्यटकको घुइँचो नै लागेको छ । साँझ पनि मन्दिर परिसरमा उस्तै भीड थियो । मायादेवी मन्दिर दर्शन गर्न ५ सय मिटर लामो लाइन लागेको थियो । ‘४० मिनेट लाइन लागेर दर्शन गरें,’ तौलिहवाबाट आएका उपासक विकास पोखरेलले भने, ‘आध्यात्मिक र शान्तिको ऊर्जा सञ्चय भयो ।’


नजिकै भए पनि अहिलेसम्म उनी नयाँ वर्षमा लुम्बिनी आएका थिएनन् । नयाँ वर्षमा यहाँ पर्यटकको चाप थामी नसक्नु रहेको सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका महासचिव लीलामणि शर्माले बताए । ‘होटलले राम्रो व्यापार गरेका छन्,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आउनेले यहाँका सबैजसो होटल भरिभराउ छन् ।’


नयाँ वर्षमा अहिलेको जस्तो व्यापार पहिले नभएको सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । लुम्बिनी आसपासका होटल अहिले भरिभराउ छन् । नयाँ वर्ष मनाउन आउनेले मात्र आफ्नो होटलका १२ कोठा बुक गरेको उनले बताए । लुम्बिनीमा साना–ठूला गरी ८० बढी होटल छन् । नयाँ वर्षमा १४ कोठा बुक भएको २ महिनाअघिमात्र सञ्चालनमा आएको होटल अलोका इनका सञ्चालक किरणचन्द्र पौडेलले बताए ।


लुम्बिनीका थेरवादी क्षेत्रमा रहेका कम्बोडिया, थाई र म्यानमारका मन्दिरमा पर्यटकको भीड लागेको छ । त्यस्तै, पश्चिमी क्षेत्रको महायानी सम्प्रदायका द ग्रेट लोटस स्तुपा, लिनसन, सिंगापुर, अस्ट्रिया, क्यानाडा र चिनियाँ विहार र मन्दिरमा पनि उस्तै भीड छ ।

पर्यटकलाई नयाँ वर्षका दिन लुम्बिनी विकास कोषले मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क मिनाहा गरेको छ । नयाँ वर्षका दिन ६५ हजारभन्दा बढी पर्यटकले लुम्बिनीको अवलोकन गरेको लुम्बिनी विकास कोष सूचना शाखाले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?