१ सय ५० तोला सुनसहित एक पक्राउ
दाङ — प्रहरीले करिब १ सय ५० तोला सुनसहित एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ का ६९ वर्षीय तुलसीराम गुप्तालाई सोमबार राति उनकै घरबाट सुनसहित पक्राउ गरेको हो ।
सुन धरौटी राखेर ३० प्रतिशत ब्याजमा पैसा दिने गरेको उजुरी परेपछि प्रहरीले सोमबार राति उनको घरमा छापा मारेको थियो । घर खानतलासी गर्दा २ सय ६ जनाको सुन धरौटी राखेर पैसा दिएको कागजातसहित सुन फेला परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।
गुप्ताले सुन धरौटी राखेर ३ करोड बढी रकम लगानी गरेको पाइएको प्रहरीले बताएको छ । व्यक्तिले चर्को ब्याजमा सुन धरौटी राखेर पैसा लगानी गर्नु कानुनी रुपमा ठगी मानिने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया