कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहका केन्द्र जोड्न सुरु

अमृता अनमोल

बुटवल — प्रदेश सरकारले स्थानीय तहका मुकाम सडक सञ्जालसँग जोड्न थालेको छ । ‘स्थानीय तह पहुँच मार्ग’ का नाममा राजमार्गसँग स्थानीय तह जोड्न थालिएको हो । प्रदेशका १ सय ९ स्थानीय तहमध्ये ३० वटाका मुकाम जिल्ला तहको सडक क्षेत्रभन्दा बाहिर छन् ।

स्थानीय तहका केन्द्र जोड्न सुरु

ती सबै सडक जोड्ने काम सुरु भएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।


स्थानीय तहलाई सडकले जोड्न चालु आवमा ३० करोड बजेट विनियोजन भएको छ । त्यसमा सडक अनुसार ७५ हजारदेखि २ करोड ५० लाख रुपैयाँसम्म बजेट छ । मन्त्रालयका प्रवक्ता तथा सडक महाशाखा प्रमुख सहदेव भण्डारीले प्राथमिकता साथ काम अगाडि बढाउने र कम दूरी भएकामा चालु आवमा सक्ने गरी निर्माण थालेको बताए । मन्त्रालयअन्तर्गत दाङ, रूपन्देही, प्यूठान, गुल्मी र बाँकेमा रहेका कार्यालयले काम अघि बढाएका छन् ।


मन्त्रालयका अनुसार दूरीका हिसाबले सबैभन्दा टाढा रोल्पाको सुनछहारी गाउँपालिका जिल्ला तहको सडक सञ्जालभन्दा ३० किमि दूरीमा पर्छ । प्यूठानको ऐरावत गाउँपालिका २२ किमि टाढा छ । अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका १८ किमि पर छ ।


गुल्मीको मालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाका मुकाम भरपर्दो सडक सञ्जालबाट १६ किमिको दूरीमा छन् । अर्घाखाँचीको छत्रदेव र मालारानी, गुल्मीको चन्द्रकोट र रोल्पाको त्रिवेणी गाउँपालिकाका मुकाम जिल्लास्तरीय सडक सञ्जालबाट १५ किमि टाढा छन् ।


दुर्गम र पहाडी जिल्ला मात्रै होइन, सुगम मानिने तराईका जिल्लाका स्थानीय तहका मुकामसमेत सडक सञ्जालबाहिर छन् । पूर्वाधार विकासमा अब्बल मानिने रूपन्देहीका ४ गाउँपालिका कञ्चन, सियारी, मायादेवी र सम्मरीमाई मुकाम सडक सञ्जालबाट बाहिर छन् । कञ्चन गाउँपालिकाको कार्यालय जिल्लास्तरको पक्की सडकभन्दा करिब ८ किमि टाढा छ । मायादेवी र सियारी ३ एवं सम्मरीमाई सडक सञ्जालबाट १ किमिको दूरीमा छ ।


भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सडक नहुँदा स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको गुनासो धेरै आएकाले प्राथमिकताका साथ काम अघि बढाएको बताए । सबै स्थानीय तहलाई चालु आवभित्रै सडक सञ्जालसँग जोड्ने उनले दाबी गरे । प्रदेशको स्थितिपत्र अनुसार प्रदेश ५ मा राष्ट्रिय र ग्रामीण सडक गरी करिब ११ हजार किमि सडक छ ।


सडक उपलब्धताका हिसाबले चौथो धेरै सडकको लम्बाइ भएको प्रदेश हो । प्रदेशका सबै जिल्लामा सडक सञ्जालको विस्तार भएको छ । प्रादेशिक आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्थानीय तहले क्षेत्रफल र भूगोलका आधारमा मुकाम तोक्दा त्यहाँ पुग्ने सडक सञ्जाल कमजोर रहेको बताए । सडककै कारण नागरिकले लिने सेवामा समस्या नहोस् भनेर स्थानीय पहुँच मार्ग चालु आर्थिक वर्षमै जोडिने उनले दाबी गरे ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?