कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय सरकार जुटे पर्यटक भित्र्याउन

नवीन पौडेल

(परासी) — पश्चिम नवलपरासीका सातै स्थानीय तहले सुविधासम्पन्न पर्यटकीय स्थल निर्माण गर्ने भएका छन्  । स्थानीय पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने र आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने उद्देश्यले बालउद्यानसहितका आकर्षक पार्क निर्माणका लागि बहुवर्षीय योजना अघि सारेका हुन्  ।

सुनवल नगरपालिकाले पर्यटकीय नगरी बनाउन प्रदेशकै व्यवस्थित नमुना हिल पार्कको निर्माण कार्य सुरु गरेको छ । नगरको वातावरण स्वच्छ, सफा र आन्तरिक तथा बाहय पर्यटक भित्र्याउन वडा ४ मा सुविधासम्पन्न र आकर्षक हिलपार्क बनाउन लागेको हो ।

नगरमा पार्क र व्यस्थित पर्यटकीय स्थल नभएकाले सुनवलवासी बुटवलको फूलबारी, सिद्धबाबा, वनवाटिका र जिल्लाको दाउन्ने, त्रिवेणीधामलगायतका स्थानमा जानुपर्ने बाध्यता छ । खुला स्थानको अभावमा बिदाका दिन स्थानीयलाई परिवार र साथीभाइसँग रमाइलो गर्ने स्थानको अभाव छ ।

सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापाका अनुसार हिल पार्कमा भ्युटावर, फूलबारी, चिडिया घर, बालउद्यान, वनभोज स्थल, बिहान–बेलुका व्यायामका लागि खुला स्थान र मर्निङ वाकका लागि छुट्टै गोरेटो निर्माण गरिनेछ । ‘हामीले प्रदेश ५ मा नै नमुना र प्राकृतिक रूपमा मनमोहक पार्क निर्माण गर्ने योजना बनाएका छौं,’ नगर प्रमुख थापाले भने, ‘बिहान–बेलुका व्यायाम गर्न र घुमफिरका लागि स्थान नहुँदा अन्यन्त्र जानुपर्ने बाध्यता छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल चोकबाट तीन किलोमिटर उत्तर पहाडको अग्लो डाँडामा रहने पार्कबाट जिल्लाका विभिन्न भागको दृश्यावलोकन गर्न सकिने वातावरणमैत्री पार्क बन्नेछ ।’ करिब २० करोडको लागतमा निर्माण हुने पार्कमा अहिले हिलपार्कसम्म पुग्ने सडक, शौचालय र ढल निकासको काम भइरहेको छ ।

यसै गरी बर्दघाट नगरपालिका बुद्धमंगल ताल र कृत्रिम सिमसार क्षेत्र निर्माण गर्ने र ओझेलमा परेका मठमन्दिरको संरक्षणमा जुटेको छ । बर्दघाट–२ स्थित संसारकोटमा भ्यु टावर निर्माण गरेर नगरको मुख्य पर्यटकीय क्षेत्र निर्माणमा लागिपरेको छ । रामग्राम नगरपालिकाले रामग्राम स्तुप र पण्डितपुरबाहेकको प्रवर्द्धनसँगै मुख्य चोकमा घण्टाघर निर्माण गरेर पर्यटक भित्र्याउने योजनामा छ । सुस्ता, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले संरक्षण अभावमा ओझेलमा परेका र जीर्ण भएका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकास गर्ने योजनामा बजेट विनियोजन गरेका छन् ।

सुविधासम्पन्न पर्यटकीय स्थल बनेमा स्वरोजगार हुने र व्यापार व्यवसाय फस्टाउने स्थानीयको आशा छ । यातायात, होटल र भौतिक पूर्वाधार नहुँदा पर्यटक भित्र्याउन नसकिएको रामग्राम–३ का नरेश जयसवालले बताए । ‘हामीले पूर्वाधार निर्माण नगरी पर्यटकको आशा गर्नु हुँदैन,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले पर्यटन क्षेत्रमा लगानी गर्न चासो दिएका कारण केही
वर्षमा नै हरेक स्थानीय तहमा रमणीय पर्यटकीय क्षेत्र बन्ने आशा जागेको छ ।’

पश्चिम नवलपरासीको संसारकोट, बाबा बर्दगोरिया, पण्डितपुर, तिलकपुर, बुद्धमंगल, नन्दन ताललगायतका ऐतिहासिक र सुन्दर प्राकृतिक स्थल भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

प्रकाशित : वैशाख ४, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?