कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी जोगाउनै मुस्किल

बुटवल — अबोध बालिकाले चिनेको सबैभन्दा नजिकको पुरुष बाबु हो । जो संरक्षक र सृष्टिकर्ता पनि हो । विडम्बना ! तिनै बाबुले अवोध बालिकामाथि यौन दुर्व्यवहार र बलात्कार गरेका उजुरी पर्न थालेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा ०७५ पुस २० मा यस्तै उजुरी पर्‍यो । 

छोरी जोगाउनै मुस्किल

देवदहकी १० वर्षीया बालिकाको उजुरी आफ्नै बाबुविरुद्ध थियो । ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी रहिछन् । उनको दर्दनाक कथाव्यथा सुनेर प्रहरीको समेत मथिंगल हल्लियो । आफ्नै नाबालिक छोरीलाई बलात्कार गर्ने देवदह नगरपालिका २, ढेकारका उनी पुस २२ मा पक्राउ परे । उनले एक महिनादेखि नाबालिक छोरीमाथि जबर्जस्ती गरेका थिए ।

५० वर्षीय बाबुले पटक–पटक बलात्कार गरेपछि सहन नसकेर छोरीले आमालाई बताएकी थिइन् । यसपछि आमाले उजुरी दिन लगाइन् । बाबु अहिले जबर्जस्ती करणी मुद्दामा थुनामा छन् । तर, बालिका अझै सामान्य अवस्थामा फर्केकी छैनन् । केटामान्छे देख्यो कि डराउँछिन् । एकान्तमा बस्छिन् । पढ्न र खान मन गर्दिनन् । आमाका भनाइमा कलिलो उमेरमा सबैभन्दा भरोसाको व्यक्तिबाटै जबर्जस्ती हुँदा उनमा मानसिक समस्या परेको छ ।

मंसिर २१ मा देवदहमै पाँच वर्षीया बालिका बलात्कारमा परिन् । घरमा हजुरआमासँग बसेकी उनलाई स्थानीय युवाले फकाएर घरदेखि पर लगेर बलात्कार गरे । बलात्कारपछि बालिका रक्तश्रावले गम्भीर बनिन् । लामो समय लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भयो । पाठेघरको भित्री भागमा चोट लागेकी बालिकामा पछिसम्मै समस्या देखिन सक्ने चिकित्सकले बताएका छन् । बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले सुरुमा ६ जना युवालाई पकाउ गरेको थियो । प्रत्यक्ष संलग्नताको हिसाबले मुद्दा भने १८ वर्षीय जीवन खत्रीविरुद्ध मात्रै दर्ता गर्‍यो । खत्री अहिले जेलमा छन् ।

गत तिहारका दिन आफन्तजन रमझममा रमाइरहेका बेला रोहिणी गाउँपालिकाको धकधईकी ३ वर्षीया बलात्कृत भइन् । खेल्न आफ्नै घरमा आएकी बालिकालाई चकलेट दिने लोभ देखाएर छिमेकी दाजुले बलात्कार गरे । दिउँसो साढे २ बजेतिर बालिका चिच्याएपछि हेर्न जाँदा आफन्तले बालिकालाई वीभत्स अवस्थामा भेटे । बलात्कार आरोपी १९ वर्षीय सुशान्त भन्ने डिलाराज सिग्देल अहिले प्रहरी हिरासतमा छन् ।

यी केही प्रतिनिधि घटना हुन् । पछिल्लो समय रूपन्देहीमा अवोध बालिका करणी तथा यौन हिंसाको सिकार भएका उजुरी बढेका छन् । सार्वजनिक क्षेत्र मात्रै होइन, नाबालिका घरभित्रै पनि असुरक्षित बन्दै गएका छन् । कञ्चन गाउँपालिका ३, धमिरा तालमा मामाघरमा सुतेकी ७ वर्षीयामाथि जबर्जस्ती करणी भयो । भदौ ७ गते मावली छिमेकी तथा आफ्नै मामाका साथी २० वर्षीय विक पुनले उनलाई जबर्जस्ती गरे । राती करिब ११ बजे नाबालिका चिच्याएपछि बल्ल घरपरिवारले चाल पायो । पक्राउ परेका पुनलाई जबर्जस्ती करणी मुद्दा चलाइएको छ । धादिङकी ती बालिका मामाघरमै बसेकी थिइन् ।

अबोध बालिका बलात्कारमा घरपरिवारका सदस्य, चिनजानकै व्यक्ति, आफन्त तथा छिमेकी सहभागी छन् । आफ्नै बाबु, हजुरबुबा, काका, दाजु तथा नातेदारबाट पनि यौन हिंसाका आरोपमा पक्राउ परेका छन् । बलात्कार गर्नेमा युवादेखि र वृद्धसम्म छन् । बालिकालाई फकाउन र लोभ्याउन सहज हुने भएकाले धेरैले घरलाई नै यौन दुर्व्यवहारको स्थल बनाएका छन् ।

घरभित्रै बलात्कारको सिकार बनिन् सियारी गाउँपालिका–६ की दुई वर्षीया दूधे बालिका पनि । ०७५ साउन १४ मा बालिका राति चिच्याउँदा बल्ल घरपरिवारले थाहा पायो । बलात्कार गरेको आरोपमा प्रहरीले छिमेकी २६ वर्षीय राजकुमार चौधरीलाई पक्राउ गर्‍यो । उनी अहिले जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा थुनामा छन् ।

चालु आवको चैत मसान्तसम्म मात्रै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ७३ बलात्कारविरुद्धका उजुरी दर्ता भएका छन् । त्यसमध्ये यौन हिंसाका २३ छन् । बलात्कार हुने ५५ बालिका छन् । सात वर्षमुनिका बालिका ९ जना छन् । गत वर्ष ६७ बलात्कारका घटना दर्ता भएका थिए । त्यसमा ४१ बालिका थिए । नाबालिका १० थिए । त्यसको अघिल्लो वर्ष ७३ बलात्कारका घटना दर्ता भएका थिए ।

बालिका यौन दुर्व्यवहारविरुद्ध उजुरी धेरै आए पनि न्याय पाउने बालिका भने निकै कम छन् । प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक मीना आचार्यले धेरै घटनामा बालिकालाई पीडकले प्रलोभन देखाएर बयान फेर्न लगाउँदा समस्या पर्ने बताइन् । कतिपयमा घरपरिवारले बालिकाको भविष्य र आफ्नो इज्जत जोगाउन भन्दै घटना लुकाउने गरेका छन् । आफन्तबाटै यौन हिंसा हुने, प्रमाण लुकाउने, बयान फेर्न लगाउने, घरपरिवार तथा प्रत्यक्षदर्शी पीडितको सट्टा पीडकको पक्षमा लाग्दा पनि प्रहरीलाई अनुसन्धानमा झमेला पर्ने गरेको उनले बताइन् ।

प्रहरी अनुसन्धानमा बालिका वा उनको परिवारसँग नजिक भएको, मादक पदार्थको प्रयोग गर्ने र घरमा यौन सन्तुष्ट नभएका धेरै व्यक्ति बलात्कारमा संलग्न भएका छन् । अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक उमेश जोशीका अनुसार सानो कुरामा लोभिने र घटनाबारे सही सूचना दिन नसक्ने भएकाले पीडक सहजै उम्किन सक्ने सोचले बालिकामाथि बलात्कार घटना वृद्धि भएका हुन् ।

बालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने र यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले उनीहरूमाथि धेरै यौन हिंसा हुने गरेको छ । अधिवक्ता मीना पाण्डे पन्तले घरपरिवारले बालिकाको भविष्य र आफ्नो इज्जत जोगाउन भन्दै घटना लुकाउँदा पनि पीडकको मनोबल बढेको र बलात्कारका घटना थपिने र दोहोरिने गरेको बताइन् । किशोरावस्थामा प्रवेश गर्न लागेका बालिकालाई माया गरेको बहानामा र रमाइलोको प्रलोभनमा यौन हिंसा गरेको भेटिएको छ । बाहिरी वातावरणमा घुलमेल नभएका, मातृत्व नपाएका वा घरमा आमा नहुने र विद्यालय नजाने बालिका बढी बलात्कारको निसानामा पर्ने गरेका छन् ।

नाबालिकामाथिका यौन हिंसा र बलात्कारले समाजको छविसमेत धमिलिएको छ । प्रजनन अंगको विकास नभइसकेका बलात्कारमा पर्ने धेरैजसो बालिका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । यसले बालिकाको वर्तमान मात्रै होइन, भविष्य पनि संकटमय बनाएको छ । लुम्बिनी अन्चल अस्पताल बुटवलका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीधर आचार्यले बलात्कारले संक्रमण भएका बालिकामा पछिसम्मै असर रहने बताए ।

जिल्ला प्रहरी प्रमुख हृदय थापाले भने बलात्कारका घटना बढ्नुभन्दा पनि सार्वजनिक धेरै भएको दाबी गरे । ‘बलात्कारलाई लुकाउने होइन, पीडकलाई कारबाहीको दायरामा ल्याउने हो भन्ने कुरा फैलिंदै गएको छ,’ उनले भने, ‘यसैले पहिले घरभित्र तथा समाजमा लुकेका घटना प्रहरी हुँदै अदालतसम्म गएका हुन् ।’ बलात्कारबाट जोगिन के गर्ने त ? ‘पीडकलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्नुपर्छ,’ सामाजिक मनोविज्ञानका प्राध्यापक नारायण पन्थले भने ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?