कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरघरबाट बुझाइए अवैध हतियार

हरि गौतम

रुकुम पूर्व — अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार यहाँका सर्वसाधारणले घरघरबाट हतियार बुझाएका छन् । घरेलु प्रयोजनका लागि राखेका हतियार विशेषगरी भरुवा बन्दुक बुझाएका हुन् ।

घरघरबाट बुझाइए अवैध हतियार

पछिल्लो ६ महिनामा मात्रै १ सय ११ नाल अवैध घरेलु हतियार प्रशासन तथा प्रहरीलाई बुझाइएको छ । मंसिरयता मात्रै यी हतियार जिल्ला प्रहरी कार्यालयले बुझेको हो ।


सर्वसाधारणले स्वस्फूर्त भरुवा बन्दुक प्रहरी कार्यालय, स्थानीय तह तथा वडा कार्यालयमार्फत जिल्ला प्रशासन तथा जिल्ला प्रहरीमा बुझाएका छन् । गृह मन्त्रालयले हतियार बुझाउने सूचना ननिकाल्दा पनि प्रशासन तथा प्रहरीले गरेको अनुरोधलाई स्वीकारेर सर्वसाधारणले आफूसँग भएका हतियार बुझाउने गरेका थिए ।


पछिल्लोपटक ५६ नाल भरुवा बन्दुक प्रहरीले बुझेको छ । ५५ नाल चालु अवस्थाका र एक नाल बन्दुक बिग्रेको अवस्थामा सर्वसाधारणले बुझाएको प्रहरीले जनाएको छ । पछिल्लोपटक जिल्लाका विभिन्न ठाउँका ५६ नाल अवैध घरेलु बन्दुक बुझेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खडकाले बताए ।


जिल्लाका तीनवटै स्थानीय तहका ११ वडाका सर्वसाधारणले आफूसँग भएको अवैध घरेलु हतियार भरुवा बन्दुक बुझाएको डीएसपी खडकाले बताए । पुथाउत्तरगंगा गाउँपालिकाबाट ४४, सिस्ने गाउँपालिकाबाट ११ तथा भूमे गाउँपालिकाबाट एक नाल भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।


समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई सम्झाइबुझाइ हतियार बुझाउन आग्रह गरिएपछि सर्वसाधारणले यी हतियार बुझाएको डीएसपी खडकाले बताए । उनका अनुसार पछिल्लोपटक गृह मन्त्रालयले हतियार बुझाउन गरेको ३५ दिने सूचनाको अवधिमा २३ नाल बन्दुक सर्वसाधारणले बुझाएका थिए भने गृह मन्त्रालयले सूचना जारी गर्नुपूर्व प्रहरीले आफ्नै सक्रियतामा ३३ नाल भरुवा बन्दुक सर्वसाधारणबाट बुझिसकेको थियो ।


यसअघि मंसिर १२ जिल्ला प्रशासन कार्यालयले ५५ नाल अवैध घरेलु भरुवा बन्दुक बुझेर जिल्ला प्रहरीलाई बुझाएको थियो । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाका सर्वसाधारणले मात्रै ५५ नाल भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयलाई बुझाएका थिए । जसमा ४७ नाल प्रयोगमा रहेका छन् भने आठ नाल प्रयोगविहीन बन्दुक थिए ।


ती दुई वडाको वन तथा वन्यजन्तु संरक्षण स्थानीय समितिको सहयोगमा प्रशासनले उक्त हतियार बुझेको थियो । अभियानअन्तर्गत पुथाउत्तरगंगा गाउँपालिकाबाट ९९ अवैध भरुवा बन्दुक राज्यले बुझेको छ भने सिस्ने गाउँपालिकाबाट ११ र भूमे गाउँपालिकाबाट एक नाल अवैध भरुवा बन्दुक सर्वसाधारणले आफैं बुझाएका छन् ।


कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको वा इजाजत–पत्र नवीकरण नगराई वा इजाजत–पत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालाका नाममा नामसारी नगराई अथवा अन्य कुनै तरिकाले हतियार राख्न नपाइने कानुनी व्यवस्था छ ।


अवैध हतियार राज्य मातहत आएपछि शान्ति सुरक्षा कायम गर्न तथा वन्यजन्तुको चोरी सिकारी रोक्न सघाउ पुर्‍याउने प्रमुख जिल्ला अधिकारी मिक्रलाल शर्माले बताए । जिल्लालाई अवैध हतियारमुत्त बनाउनका लागि प्रशासन तथा प्रहरीबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सन्चालन गरिएपछि यो अभियान सफल भएको प्रजिअ शर्माले बताए ।


प्रशासन तथा प्रहरीको अनुरोधलाई मानेर सर्वसाधारणले सहयोग गरी अवैध हतियार बुझाएको उनले बताए । अवैध हतियार संकलनको अभियान जारी रहने प्रजिअ शर्माको भनाइ छ । ढोरपाटन सिकार आरक्ष आसपासका सर्वसाधारणले एक सयभन्दा बढी अवैध हतियार बुझाएकाले यसबाट वन्यजन्तुको चोरी निकासी न्यूनीकरण हुने उनले बताए ।


ढोरपाटन सिकार आरक्षमा सिकार खेल्ने ६ ब्लकमध्ये चार ब्लक रुकुम पूर्वको मैकोट क्षेत्रमा पर्छन् । आरक्षका दुई ब्लक मात्रै बाग्लुङ क्षेत्रमा छन् । बन्दुक भएकै कारण स्थानीयले जंगली जनावरको चोरी सिकार गर्ने गरेका थिए ।


ढोरपाटन सिकार आरक्ष नजिकका पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ वडामा गठित वन तथा वन्यजन्तु संरक्षण समितिले पनि स्थानीयले हतियार प्रशासनलाई बुझाएपछि वन्यजन्तु संरक्षणमा ठूलो सहयोग हुने बताएको छ । समितिका संयोजक अमरधन पुनले पर्यटनमा बाधा पुर्‍याउनेमध्येको बन्दुक पनि एक भएको बताए ।


गाउँमा रहेका बन्दुककै कारण पर्यटन प्रवर्द्धन हुन नसकेको, हिंसात्मक गतिविधि बढेको र सम्पदा संरक्षणले गति नलिएको उनको भनाइ छ । ‘जंगली जनावरको संख्या बढा त्यसको फाइदा हामीलाई नै हुन्छ,’ उनले भने, ‘त्यसको पूर्वानुमान गरेरै हामी सबैले अवैध हतियार बुझायौं र बुझाउन लगायौं ।’

प्रकाशित : वैशाख ९, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?