कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झौताको चटारो

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लाका ६ वटै गाउँपालिकामा यतिबेला योजना र कार्यक्रम सम्झौता गर्नेको भीड छ । विगतमा जस्तै ढिलो गरी योजना सम्झौता भइरहेको छ । त्यसले हतारमा काम सक्नुपर्ने कर्मचारीले बताए । योजना अनुगमनमा जानुपर्ने कर्मचारी रकम भुक्तानीको काममा व्यस्त देखिएका छन् । 

सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरमा धेरैजसो योजना सम्झौता भएका छन् । जनप्रतिनिधि अनुगमन गर्छन् । योजना सम्झौताको काम देखिए पनि वित्तीय प्रगति न्यून छ । पाणिनि, मालारानी र छत्रदेव गाउँपालिकामा पनि योजना सम्झौता गर्ने उपभोक्ता समिति र ठेकेदार पालिका कार्यालय धाइरहेका छन् ।


पाणिनि गाउँपालिकाले मैदान गाउँमा खानेपानी योजना ल्याउन ५५ लाख रुपैयाँ छुट्याएको छ । बाग्दुला–मैदान खानेपानी योजनाको बुधबार उपभोक्ता समिति अध्यक्ष जीवनारायण कोइराला र प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीबीच सम्झौता भयो ।


मैदानका करिब एक सय घरधुरीलाई खानेपानी सुविधाका लागि उक्त योजनामा प्रदेश सरकारले पनि एक करोड बजेट दिएको छ । प्रदेशको बजेट सम्झौता भएर काम सुरु भएको छ । ‘पालिकामा बजेट योजना सम्झौता भएको छ । अब उपभोक्ता समितिको बैठक बसेर कसरी काम गर्ने छलफल गरेर तत्कालै काम सुरु गर्छौं,’ कोइरालाले भने ।


मुहानदेखि मैदानसम्म करिब १२ किमि दूरी रहेको छ । केही वर्ष पहिला कही गाउँमा कुला र धाराबाट पानी आउँथ्यो । मोटरबाटो निर्माण गर्दा डोजर, स्काभेटर सञ्चालन गरियो । त्यसले मुहान सुक्यो । अहिले धारामा पानी आउँदैन । फेरि योजना सञ्चालन गर्नुपरेको उनले बताए । असार मसान्तभित्र योजना सकेर रकम भुक्तानी गर्नुपर्नेछ ।


सम्झौता भएका योजनाको अनुगमन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बताए । केही योजनाको काम भइरहेको छ । केही टेन्डर र उपभोक्ता समितिबीच सम्झौता भइरहेको छ । सुरुमा भएका योजनाको काम गर्ने समय भएपछि आर्थिक वर्षको अन्तिममा हुने सम्झौताका योजनाको काम सक्न हतारो हुन्छ । ‘अनुगमन नगरीकनै भुक्तानी दिंदैनौं,’ पन्थीले भने । ८० प्रतिशत योजना सम्झौता भइसकेको उनले दाबी गरे ।


पूर्वाधार विकास र अन्य योजनामा अहिले काम भइरहेको छ । भुक्तानी ६० प्रतिशत भइसकेको छ । मोटो रकमका कुनै पनि योजना अझै सम्पन्न भएका छैनन् । कुल बजेट ५० करोड ९ लाख ७ हजारमध्ये पहिलो प्राथमिकतामा खानेपानी योजना राखिएको छ । ४५ प्रतिशत बजेट खानेपानीमा छुट्याइएको पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए । उक्त योजनामा प्रदेश सरकारबाट चार करोड रुपैयाँ बजेट परेको छ ।


पालिकाका सबै वडामा खानेपानी समस्या छ । केही मुहान र केही लिफ्ट प्रविधिका योजना रहेको उनले बताए । कृषि, पशुपालन र उत्पादनबाट आत्मनिर्भर बनाउन र बसाइँसराइ रोक्न पहिला पानी चाहिने स्थानीयले बताए । त्यसैले एक घर एक धाराको नारा अघि सारेर काम भइरहेको छ ।


बढी अभाव भएका गाउँमा टयांकी निर्माण गर्ने, त्यसमा पानी संकलन गरेर बिहान–बेलुका छोडेर सबैका घरमा धारा पुर्‍याउने गरी काम भइरहेको उनले बताए । मैदान, पोखराथोक, खिदिम, पाली, अडगुरी, धातीबाङ, पणेना र पटौटी गाउँमा खानेपानीको अभाव छ ।


मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासिनीले ८५ प्रतिशत योजना सम्झौता भएर काम भइरहेको बताए ।

प्रकाशित : वैशाख १४, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?