कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा सडक विस्तार गर्न घर भत्काइँदै

ठाकुरसिंह थारु

बर्दिया — बढैयाताल गाउँपालिकामा सडक विस्तारका क्रममा दर्जनौं घर भत्किएका छन्  । तीन दशकअघि निर्माण गरिएका पक्की घरसमेत भत्काएका छन् । सडक चौडा हुने भएपछि स्थानीयले सडक विस्तारको कामलाई सहज बनाएका हुन् ।

गाउँपालिकाले यस वर्ष सडक विस्तारका लागि २९ करोड रुपैयाँमा ठेक्का दिएको छ । भित्री मूल सडक १२ देखि १६ मिटर फराकिलो बनाइँदै छ ।

सडक क्षेत्रमा पर्ने घर, गोठलगायतका संरचना हटाउन १५ दिने समय दिइएको थियो । सडक विस्तारको कामलाई सहज बनाउन स्थानीय बासिन्दा आफैंले संरचना हटाइरहेका छन् । यसले सडक विस्तारको काम समयमै सुरु भएको छ । यसअघि गाउँभित्रका सडकमा मुस्किलले चारपांग्रे सवारी साधन छिर्थे ।

तर, सरकारी जग्गा नरहेको स्थानमा स्थानीयले सडकका लागि आफ्नो लालपुर्जाको जग्गा पनि छोडेका छन् । सडक विस्तारसँगै गाउँको दृश्य अहिले फेरिएको छ । सडकले राजमार्गको रूप पाएको छ । पालिकाले पर्यटकीय क्षेत्र बढैयाताल पुग्ने सडकलाई प्राथमिकतामा राखेको छ ।

यहाँ घुम्न आउने पर्यटकलाई सहजता प्रदान गर्नु पालिकाको मुख्य उद्देश्य छ । एक सय बढी बिघा क्षेत्रफलमा रहेको तालको अवलोकन गर्न दैनिक सयौं आन्तरिक पर्यटक यहाँ आउने गरेका हुन् । पहिलो चरणमा विस्तार गरिएका सडकमा कालोपत्रे गर्ने लक्ष्य छ । अर्को आर्थिक वर्षमा कालोपत्रे गरिने पालिकाले जनाएको छ । पालिकाले भोलागौडी–बढैयाताल, भोलागौडी–सतपतिया हुँदै डाँफे, सिमराचोक–छोटी भन्सार, मैनापोखर–छोटी भन्सार, कण्ठपुर×–जनता नगर र तिलकना–पडरिया गाउँसम्मको सडक विस्तार गरिरहेको हो ।

बढैयाताल–५ मा ४० वर्ष पुराना पक्की घर स्थानीयले भत्काएका छन् । ‘हाम्रो घर ०३६ सालमा बनेको हो । तर, सडक विस्तार हुन थालेपछि भत्काएका छौं,’ स्थानीय जयबहादुर चौधरीले भने, ‘गाउँमा भइरहेको विकासलाई रोक्नु भएन । सडक हाम्रै लागि बनिरहेकाले सहयोग गरेका हौं ।’ बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले सडक विस्तारका क्रममा पर्ने संरचना हटाउन १५ दिने सूचना प्रकाशित गरेलगत्तै स्थानीयले सहयोग गरेको बताए ।

जमुनी र पडरियामा छोटी भन्सार थिए । हाल बन्द छन् । पालिकाको सीमा क्षेत्रसम्मै कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य छ । यसअघि पालिकाका गाउँमा कालोपत्रे सडक छैन । बढैयाताल गाउँपालिका–३ का अगुवा डिलबहादुर केसीले पालिकाको सडक विस्तार योजनाले केही घर भत्किए पनि स्थानीयलाई आउजाउमा सहज भएको बताए । उनका अनुसार सडक विस्तारले पालिका सुन्दर देखिन थालेको छ । पालिकाले गाउँका भित्री सडक पनि कालोपत्रे गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : वैशाख १७, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?