कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेती गर्दै गाउँपालिका अध्यक्ष

‘नेताले भाषण गरेर मात्रै हुँदैन, केही गरी देखाएपछि बल्ल अरूले सिक्छन्,’ उनले भने, ‘कृषकलाई खेती कसरी गर्ने, कति उचाइमा, कसरी उत्पादन राम्रो हुन्छ, रोगकिराबाट कसरी जोगाउन सकिन्छ भन्ने सिकाउन जरुरी छ ।’
वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम पहिला काम, त्यसपछि मात्र भाषणमा जोड दिन्छन् । उनले पाखोबारीमा तरकारी खेती गरेका छन् । कुखुरापालनबाट आर्जन गरिरहेका छन् । त्यसैगरी, गुल्मीको रुरु गाउँपालिका अध्यक्ष नीलकण्ठ गौतमले कफी खेती गरी युवा आकर्षित गरिरहेका छन् ।

खेती गर्दै गाउँपालिका अध्यक्ष

आफैंले काम गरेर देखाएपछि अरूले सिक्छन् र व्यवहारमा लागू गर्छन् भन्ने मान्यता उनीहरूको छ । उमेरले ४४ वर्ष पुगेका अच्युतले पोखराथोकको भिरालो बारीमा बाह्रै महिना तरकारी खेती गर्दै आएका छन् ।

७३ वर्षीय नीलकण्ठले रुरु ३, थोर्गामा कफी खेती गरेका छन् । क्याम्पस पढ्दा–पढ्दै राजनीतिमा लागेका अच्युत कांग्रेसबाट गाउँपालिका अध्यक्षमा चुनिएका हुन् भने नीलकण्ठ नेकपाबाट । अच्युत कांग्रेस क्षेत्रीय सभापति पनि हुन् । गाउँपालिका अध्यक्ष भएदेखि अच्युत छिटो गाउँपालिकाको काम सकेर बारीमा पुग्छन् । १५ वर्षदेखि व्यावसायिक कृषिमा लागेका उनी जिल्लामा नमुना कृषकका रूपमा चिनिन्छन् ।

उनको कृषि फार्म हेर्न दैनिक भीड हुन्छ । जिल्लाका अरू जनप्रतिनिधिले पनि उनको फार्म देखाउन कृषकलाई भ्रमणमा लैजान्छन् र अच्युतले जस्तै गर्नुपर्छ भन्छन् । ‘मसँग जागिर माग्न आउनेलाई कृषि र पशु पाल्न सल्लाह दिन्छु, केही त गरेका छन्,’ उनले भने, ‘फरक तरिकाले खेती गरेपछि पैसा यहीं फल्छ । विदेश धाउनु पर्दैन ।’

आफू नेता भएर अरूलाई कृषि गर, पशु पाल भनेर मात्रै हुँदैन, आरम्भ आफैंबाट गरेपछि बल्ल अरूले गर्छन् भन्ने उनको भनाइ छ । बिहानै उठेर तरकारी बारीमा डुल्छन् । गोलभंडाको झाल कत्रो भयो, कति दाना फले हेर्छन् र कसरी ठूला, धेरै दाना फलाउन सकिन्छ भन्नेमै उनको ध्यान छ ।

बारीमा काउली, साग, मूला, आलु, करेला फलेका छन् । कुखुरा पनि हेर्छन् । दिउँसो पालिका कार्यालय, विभिन्न कार्यक्रममा पुग्छन् । बिदाको दिन दिनभर खेतीपातीमा भुल्छन् । स्थानीय हरिहर संस्कृत तथा साधारण उमावि व्यवस्थापन समिति अध्यक्ष, विभिन्न संघसंस्थामा सामाजिक काम गरेकाले उनलाई पालिका अध्यक्ष जित्न सफल भएको स्थानीय बताउँछन् ।

तरकारी र अन्डाबाट आम्दानी
अच्यूतको बारी भिरालो छ । अहिले गोलभेंडा, साग, मुला, आलु उत्पादन भएका छन् । १५ टनेलभित्र बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी फल्छ ।

अन्न उत्पादन भन्दा तरकारीबाट तेब्बर आम्दानी भएपछि अन्नखेती छाडेका छन् । ‘मल बोक्ने, बारी खन्ने, डल्ला फार्नेदेखि बिरुवामा सिँचाइ आदि म आफैं गर्छु, मिहिनेत गरेपछि पाखोबारीमै भविष्य उज्ज्वल हुन्छ,’ उनले भने । गोलभेंडा खेती धेरै छ । नेता भएर भाषण गर्ने र घर आएपछि बारीमा छिर्ने उनले बताए । नजिकै त्यति ठूलो बजार पनि छैन ।

पोखराथोकमा पाल्पाको तानसेनबाट दैनिक गाडी आउजाउ गर्छन् । बसको छतमा यहाँदेखि करिब ३० किमि टाढा बुटवल र तानसेन तरकारी पठाउँछन् । सुरुमा कोही थिएन । उनले गरेको देखेर भिसा रद्द गरी यता लाग्ने युवाको संख्या बढदो छ । ‘अन्नखेती गरेको भए खान पुग्दैनथ्यो, तरकारी खेतीबाट वर्षमा १२/१३ लाख रुपैयाँको कारोबार हुन्छ,’ उनले भने । उत्पादन गर्न सक्नुपर्छ, बिक्री नहोला भन्ने चिन्ता छैन । उनले १० रोपनीमा तरकारी उत्पादन गरिहेका छन् ।

पहाडको तरकारी खानलाई मिठो र स्वादिलो मान्दै बुटवलबाट व्यापारीले फोन गरी माग गर्छन् । प्रशस्त कुखुरा पालेका छन् । दैनिक ३ हजार अन्डा उत्पादन हुन्छ । कुखुरा थप्दै छन् । सुरुमा ब्रोइलर थिए । ती हटाएर अन्डा दिने पाल्न सुरु गरे । स्वच्छ हावापानी र खानपिनले अन्डाको आकार ठूलो हुन्छ । आधाजसो अन्डा गाउँमै खपत हुन्छ । गाउँमै मोटर चल्नुको फाइदा छ । गाडी नचलेको भए उत्पादन बाहिर पठाउन सम्भव थिएन ।

अन्डाबाट पनि वर्षमा आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए । अन्डा पनि गाडीमै बुटवल जान्छ । ठूलै कुखुरा फार्म विकास गर्ने उनको योजना छ । पालिकामा आएर कृषि गर्छु भन्ने सर्वसाधारणले उनको फार्म हेर्न आउँछन् । गौतमकी पत्नी शिक्षण पेसामा छन् । बिदाको दिन पतिपत्नीले मिलेरै बारीमा काम गर्छन् । ५ जनाले मासिक तलब पाउँछन् । ७/८ जना दैनिक ज्यालादारीमा काम गर्छन् । तरकारी खेती र कुखुरापालनमा कामको जिम्मेवारी छ । आफ्नै गाउँमा रोजगारी पाएपछि उनीहरू दंग छन् ।

कफीमै भविष्य
पाको उमेरमा रुरु गाउँपालिका अध्यक्ष बनेका नीलकण्ठले युवा उमेर परिवर्तनको लडाइँमा बिताए । तत्कालीन एमालेबाट निर्वाचित उनी जिल्लाकै लोकप्रिय नेता हुन् । आर्थिक रूपमा रूपान्तरण गर्न पहिला आफैंले खेती गर्नुपर्छ भन्ने सोचले गाउँमा कफी खेतीको अगुवाइ गरेको उनले बताए ।

०५४ सालमा आफूले कफीका बोट लगाए । दाना राम्रो फल्यो । कफी लगाउने अभियान चलाए । आफ्नो गाउँ थोर्गाका कृषकलाई कफी खेती गर्न सिकाए । आम्दानी राम्रो दियो । बीचमा गबारो किराले नोक्सान पार्‍यो । अहिले फेरि खेती विस्तार छ । रुरु गाउँपालिका कफी खेतीमा अग्रणी बनेको छ । उनकै अभियानले कफी कृषक धेरै भएका हुन् ।

जिल्ला कफी व्यवसायी संघका पूर्वअध्यक्ष गौतमले कफीबाट भविष्य उज्ज्वल रहेको बताए । उनका ५ सय बोट कफी छन् । ‘कफीको यति धेरै माग छ, थेग्नै सकिएको छैन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी राम्रो बिक्छ ।’ कफी खेतीले वातावरणलाई राम्रो, रोजगारी र विदेशी मुद्रा भित्रिने भएकाले पैसा कमाउन विदेश धाउन नपर्ने उनले बताए ।

सरकारले बजेटमा सम्बोधन मात्रै गरेको छ तर पूर्ण व्यावसायिक ढंगले ध्यान नदिएको उनले बताए । ‘भारत र तेस्रो मुलुक जाने युवालाई रोक्न म आफैंबाट कफी खेती सुरु गरें, यो सजिलो पेसा हो, धेरै दुःख गर्नु पर्दैन,’ उनले भने । थोर्गासहित सिंगो रुरु गाउँपालिकामा ५ सयभन्दा बढी कृषकले व्यावसायिक कफी खेती गरेका छन् । उनी जिल्लामा कफी खेती अगुवाका रूपमा चिनिन्छन् । गाउँमा कफीबाट वर्षमा २० हजारदेखि २ लाख रुपैयाँसम्म कमाइ गर्ने कृषक धेरै छन् ।

कफीबाट अब्बल
आफ्नो पालामा सबैका घरमा कफी बगैंचा बनाउने नीलकण्ठको लक्ष्य छ । सबै ठाउँमा कफी हुँदैन । नहुने ठाउँमा बेमौसमी तरकारी, बाख्रा, कुखुरा र गाईभैंसीपालन व्यवसायका लागि योजनाबद्ध रूपमा काम भएको उनले बताए । रुरुमा रेसुंगा कफी प्याकेट बनाएर महिना दिनदेखि बजारमा ल्याइएको छ ।

कृषकलाई प्रोत्साहन दिन बिरुवामा अनुदान, पल्पर मेरिन वितरण र गबारो किराबाट जोगाउने तरिकाबारे कार्यक्रम सञ्चालन भएको उनले बताए । ‘मेरो त उमरे ढल्क्यो, अब गर्ने पालो युवाको हो, मैले सुरु गरेको अभियानलाई गाउँलेले साथ दिएर खेती गरे यसमा म खुसी छु,’ उनले बताए । बगैंचा निर्धारण, छनोट, माटो परीक्षणलगायतका काम भइरहेको उनले सुनाए ।

रुरुमा २० लाख रुपैयाँको लिची उत्पादन हुन्छ । कफी पनि लिचीकै हाराहारीमा उत्पादन भइरहेको उनले बताए । एक घर २५ कफीका बिरुवा लगाउने अभियान सुरु भएको छ । एक किसानले अनुदान पाउनलाई ५ गाई, भैंसी र बाख्रा पाल्नुपर्ने नियम बनाएर कार्यक्रम भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख १७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?