कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारबर्दियामा वर्षैभरि मेला

ठाकुरसिंह थारु

बर्दिया — सामान्यतः गाउँमा सातामा कति दिन हाट लाग्छ ? बढीमा दुई दिन । विशेष उत्सव वा महोत्सवका बेला एक सातासम्म सञ्चालन गरिन्छ । जिल्लाको बारबर्दिया नगरपालिकामा भने ३ सय ६५ दिन नै मेला लाग्ने गरेको छ ।

आइतबारदेखि शनिबारसम्म एक दिन नबिराएर गाउँ-गाउँमा मोबाइल मेला सञ्चालन गरिन्छ । त्यसले सर्वसाधारणलाई किनमेल गर्न सहज भएको छ । स्थानीय युवालाई रोजगारी मिलेको छ । उनीहरू मेलामा पसल राखेर आम्दानी गर्दै आएका छन् । गाउँमा मेला लागेपछि स्थानीय उत्पादन बिक्रीमा पनि सहयोग पुगेको छ । मेलाले नगरपालिकाभित्र आर्थिक गतिविधि बढाएको छ । नगरपालिका भए पनि यहाँ गाउँ भरिएको छ ।


आइतबार नगरपालिकाको रम्भापुर, सोमबार बैदी, मंगलबार जबदहवा गाउँ, बुधबार बैदी कतर्निया चोकमा मेला लाग्ने गरेको छ । त्यस्तै बिहीबार विजयनगर, शुक्रबार जोधीपुर र जयनगर तथा शनिबार जमुनिया गाउँमा मेला लाग्ने गरेको छ ।


मेलामा कपडा, कस्मेटिक, फलाम, तरकारी, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू खरिदबिक्री हुने गरेको छ । मेला लगाउन आउने व्यवसायीले पसल हेरेर ६० देखि १ सय ५० रुपैयाँसम्म शुल्क तिर्नुपर्छ । उक्त शुल्क वडा कार्यालयले लिने गरेका हुन् । कतिपय वडाले मेलाका लागि ठेक्कासमेत दिएका छन् । व्यवसायीहरूका लागि निश्चित स्थान किटान गरिएका छन् ।


बाहै्र महिना मेला लगाउँदै आएका व्यवसायी रमेश चौधरीले मेलाकै कारणले धेरै युवाले रोजगार पाएको बताए । किसानले बारीमा उत्पादन गरेको तरकारी बिक्री गर्न पाएका छन् । कतिपय स्थानीयले व्यवसायीको समान ओसारपसार गरेर कमाइ गरेका छन् । 'गाउँमा लाग्ने मेलाले युवालाई रोजगार दिएको छ । गाउँमा पनि पैसाको गतिविधि बढाएको छ,' उनले भने, 'मजस्ता थुप्रै युवाले सानै भए पनि मेलामा गएर व्यवसाय गरेका छन् ।'


बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले मेलाका कारण राजस्व बढेको बताए । उनले मेलामा आउने व्यवसायीबाट सीमित राजस्व लिने गरेको जनाए । 'मेलाले व्यवसायीलाई मात्रै होइन, पालिकालाई पनि सहयोग पुगेको छ । राजस्व उठेपछि विकासको काममा पनि सहयोग पुगिरहेको छ,' उनले भने, 'पालिकाको पहिचान मेला बनिसक्यो । वर्षको हरेक दिन मेला हुन्छ ।'


मेलामा आउने व्यवसायीका लागि टहरा बनाइएका छन् । टहरा नबनेका स्थानमा व्यवसायी आफंैले टेन्ट बनाएर व्यवसाय गर्छन् । गाउँमा मेला लागेपछि किनमेलका लागि स्थानीयलाई टाढाको बजार धाउन परेको छैन । आवश्यक पर्ने वस्तु मेलामै किन्न पाइन्छ । 'लत्ताकपडा सबै यहीं किन्छाैं । बारीको सागसब्जी मेलामै गएर बिक्री गर्छौं,' बैदी मेलामा आएकी सरस्वती चौधरीले भनिन्, 'मेलाले गाउँमा चहलपहल बढेको छ । एक/दुई रुपैयाँ कमाउने अवसर मिलेको छ ।'

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?