कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकामाथि यौन शोषण

नेपालगन्ज — हजुरआमाको उपचारका लागि १३ वर्षीय एक बालिका माघमा सुर्खेतबाट नेपालगन्ज आइन् । मजदुरी गर्ने उनका अभिभावक नेपालगन्जमा दिनभरि काममा व्यस्त हुन्थे । बालिका नेपालगन्ज-१० स्थ्िात छिमेकी सुष्मा रैदासको घरमा आवतजावत गर्न थालिन् ।

सम्बन्ध नजिकिँदै गएपछि रैदासले बालिकालाई विभिन्न प्रलोभन दिई यौन क्रियाकलापमा सरिक गराइन् । घरमा विभिन्न पुरुष

बोलाएर उनी ती बालिकासँग यौन क्रियाकलाप गर्न लगाउँथिन् ।


तिनै पुरुषले बालिकामाथि लगातार यौन शोषण गरे । बालिका फागुनको अन्तिम साता हजुरआमाको उपचारपश्चात आफ्नो घर सुर्खेत फर्किइन् । कक्षा ७ मा पढ्दै गरेकी बालिकाको तीन महिनापछि अस्वाभाविक रूपमा स्तन र पेट बढ्दै गयो । गाउँले र घरकी हजुरआमाले कारण पत्ता लगाउन बालिकालाई नेपालगन्ज पठाए । नेपालगन्जमा आमासँगको भेटमा उनले सबै कुरा सुनाइन् । 'छोरीले सबै कुरा भनेपछि बल्ल थाहा पायौं,' बालिकाकी आमाले भनिन्, 'छिमेकी सुष्मा रैदासले गर्भ रहेको भन्दै गर्भपतनका लागि जथाभावी औषधि खुवाउन थालिन् । अनि, रगत बग्न थाल्यो ।'


वैशाख ३१ गते बालिकाका पिताले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । गर्भपतन गराउन खोज्दा बालिकाको ज्यान नै खतरामा परेको छ ।


असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिएपछि बालिकालाई प्रहरीले कोहलपुर मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार गराइरहेको छ । बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलका अनुसार गस्तीमा रहेको प्रहरीले बालिका चिच्याएको थाहा पाएपछि गएर बुझ्दा रगत बगिरहेको थियो । त्यसपछि उनलाई भेरी अस्पताल, नेपालगन्ज पुर्‍याइयो । त्यहाँ उपचार हुन सम्भव छैन भनेपछि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरीको भनाइ छ ।


एसपी पौडेल आफैं राति कोहलपुर मेडिकल कलेज पुगेर 'आर्थिक कुरा पछि गरौंला, अहिले उपचार गरिदिऊँ' भनेर फर्किएका थिए । बालिकाका बुबा-आमा नेपालगन्ज-१०, गोसाइँगाउँमा बस्छन् । बालिका भने हजुरआमासँगै सुर्खेतमा बस्छिन् । बालिकालाई कसले यौन शोषण गर्‍यो भन्ने खुलिसकेको छैन । 'घरपरिवारबाट कुनै उजुरी नआए पनि बालिकालाई कसले यौन शोषण गर्‍यो भन्ने कुरा अनुसन्धान थालेका छौं,' एसपी पौडेलले भने, 'बालिकालाई त्यस्तो अवस्थामा कसले पुर्‍यायो, त्यसको खोजी गर्दै छौं । अपराधी कुनै पनि हालतमा उम्किन पाउँदैन ।'


बालिकाका पिताले भने छोरीले भनेका आरोपितलाई प्रहरीले पक्राउ नगरेको बताए । सुष्मा रैदासले बारम्बार आफ्नी श्रीमतीलाई फोन गरेर 'मलाई नफसाऊ, म उपचार खर्च दिन्छु' भन्ने गरेको पनि बालिकाका बुबाले बताए । बालिकालाई सीमावर्ती भारतीय बजारमा लगेर गर्भपतन गर्ने प्रयास भएको थियो । बालिकाको एबी नेगेटिभ रगत समूह हो । बालिकालाई चार पि्रन्ट रगत चढाइसकिएको अस्पताल प्रशासनले जनाएको छ ।


बालिकालाई अझै पनि रगत आवश्यक छ । बालिका बुबाले एबी नेगेटिभ भएका व्यक्तिलाई सहयोग गरिदिन अपिल गरेका छन् । बलात्कारपछि गर्भपतन गराइएकी बालिकाको अहिले आर्थिक समस्याले उपचारमा समस्या आएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गरिदिन बालिकाकी आमाले आग्रह गरेकी छन् ।


'हामीसँग पैसा छैन । आफन्तसँग लिएको २५ हजार ऋण पनि सकियो । उपचार गराउन नसकेर मेरो छोरीको अकालमा ज्यान नजाओस्,' बालिकाकी आमाले भनिन्, 'छोरीको निःशुल्क उपचारका लागि पहल गरिदिनुपर्‍यो ।' नेपालगन्ज मेडिकल कलेजका स्टाफ नर्स ज्योति शाहले रगत चढाइरहेकाले बालिकाको अवस्थामा पहिलाभन्दा सुधार आइरहेको बताइन् ।


शनिबारदेखि बालिका बोल्न थालेको उनले बताइन् । आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि शनिबार नेपालगन्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगर र महिला, बालबालिका शाखा प्रमुख शोभा शाहको सहयोगी समूह लागिपरेको छ । बालिकाको उपचारमा सहयोग गरिदिन सरोकारवालासँग अनुरोध गर्दै सहयोग जुटाउन पहल थालेको शाहले बताइन् ।


–रूपा गहतराज

प्रकाशित : जेष्ठ ६, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?