कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साक्षर बनाउँदै विद्यार्थी

मनोज पौडेल

कपिलवस्तु — यहाँका विद्यार्थीले निरक्षरलाई साक्षर बनाउने अभियान सुरु गरेका छन् । जेठ पहिलो साताबाट कक्षा सञ्चालन गरेर उनीहरूले अक्षर चिनाइरहेका छन् । शिवराज नगरपालिकालाई पूर्ण साक्षर नगर बनाउने अभियानमा उनीहरू जुटेका हुन् ।

अभियानमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको छ । धेरै छात्रछात्रा एसईई दिएर बसेकाले छोटो समयका लागि काम पनि पाउने र शिक्षण विधि राम्रो हुने हुँदा उनीहरूलाई परिचालन गरिएको हो । नगर प्रमुख नेत्रराज अधिकारीको अध्यक्षताको बैठकले यस्तो निर्णय गरेको हो । ‘पहिले नगरमा कति निरक्षर छन् भन्ने तथ्यांक थिएन,’ नगरपालिका शिक्षा शाखाका अधिकृत पूर्ण विकले भने, ‘विद्यार्थी परिचालन गरेर यकिन संख्या पत्ता लगायौं ।’


विद्यार्थीले घरघरै गएर तथ्यांक संकलन गरेका थिए । तथ्यांक संकलन गर्न ३ लाख रुपैयाँ खर्च भएको थियो । नगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ११ मा ६ हजार ६ सय २६ निरक्षर संख्या रहेको छ । उनीहरूलाई समयथान मावि खरेन्द्रपुर, रंगीलाल मावि सडा र त्रिभुवन आदर्श मावि पिपरीका विद्यार्थीले साक्षर बनाउँदैछन् । दुर्गा भगवती मावि नयाँबस्ती, जनचेतना मावि लक्ष्मणपुर र बालज्योति मावि विसुनपुरका विद्यार्थी निरक्षरलाई साक्षर बनाउन लागेका छन् । साक्षरताका लागि अनुशिक्षण कक्षा सञ्चालन गर्न दिइएको हो ।


यसका लागि पाठ्यपुस्तक र स्टेसनरी दिइएको छ । दैनिक २ घण्टा कक्षा सञ्चालन गरेर सिकाउँछन् । ८ वटा वडामा ३ सय १ केन्द्र कायम गरिएको छ । एक निरक्षरलाई साक्षर बनाएबापत विद्यार्थीलाई १ सय ५० रुपैयाँ पारिश्रमिक दिइनेछ ।


साक्षरता अभियान एक महिनाको हुनेछ । १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर अभियानमा सहभागी छन् । ‘साक्षर हुन १२ वटा सक्षमता हुन आवश्यक छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भने, ‘तीमध्ये ९५ प्रतिशत जान्नेलाई साक्षर मान्छौं ।’


नाम, अंक, अक्षर लेख्न जान्ने, दस्तखत गर्न र परिवार तथा आफन्तको पनि नाम, ठेगाना लेख्न सिकाइँदैछ । त्यस्तै मोबाइल चलाउन जान्ने र भित्तेपात्रो हेर्न सक्ने सक्षम बनाइनेछ । क्यालकुलेटर चलाउन र बजार गएर किनमेल गर्न सक्ने बनाइन्छ । त्यस्तै ट्राफिक नियमबारे पनि सिकाइन्छ ।


नगरपालिकाका ११ मध्ये १, ९ र १० पूर्ण साक्षर वडा हुन् । तीमध्ये ९ र १० यसअघि नै पूर्ण साक्षर वडा घोषणा भइसकेका छन् । वडा नम्बर १ मात्र घोषणा हुन बाँकी छ । असार पहिलो सातासम्म निरक्षरलाई साक्षर बनाइने नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।


शिवराज नगरपालिका भर्खर खुला दिसामुक्त नगरपालिका घोषणा भइसकेको छ । साक्षरताका लागि २६ लाख बजेट विनियोजन गरिएको छ । ‘करिब ३ लाख नपुग छ,’ शाखा अधिकृत विकले भने, ‘प्रदेश मन्त्रालयबाट सहयोग मागेका छौं ।’


शिवराज नगरपालिका जस्तै गरेर विजयनगर गाउँपालिकालाई विद्यार्थी परिचालन गरेर साक्षरता बनाउने अभियान थालिएको उनले बताए । शिवराजभन्दा काममा ढिलो छौं उनले भने । असारसम्ममै विजयनगरलाई साक्षर गाउँपालिका घोषणा गर्ने गरी अघि बढेका छौं ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?