कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक साताका लागि विद्यालय बन्द

मनोज पौडेल

कपिलवस्तु — चर्को गर्मीले जिल्लाको जनजीवन प्रभावित बनेको छ । गर्मीसँगै तातो हावा चल्दा सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । बिहीबारदेखि यहाँ अत्यधिक गर्मी बढेको हो ।

शनिबार यहाँको तापक्रम ४० दशमलव १ डिग्री सेल्सियस पुगेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभाग एकाइले जनाएको छ । आइतबार बढेर ४० दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।


उखरमाउलो गर्मी बढ्दै गएपछि यहाँका केही विद्यालय एक साताका लागि बन्द गरिएका छन् । वाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । जेठ १२ देखि १७ गतेसम्मका लागि गर्मी बिदा दिइएको छ । जिल्लाका अन्य ८ स्थानीय तहले विद्यालय बन्द गर्नेबारे छलफल चलेको बताए ।

गर्मीले विद्यार्थीलाई गाह्रो भइरहेको थियो । प्रचण्ड गर्मीमा टिनको छानो र अनियमित विद्युत् आपूर्ति हुँदा पठनपाठनमा समस्या भएकाले एक साताका लागि बिदा दिइएको वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले बताए । गर्मीका कारण साना बालबालिका कक्षाकोठामै निदाउने, अल्छी मान्ने र बिरामी पर्न थालेपछि बिदा दिइएको हो ।


‘गर्मीले दिनभरि घरभित्रै बस्छौं,’ भिक्षु चोककी गृहिणी सुशीला बेल्बासेले भनिन्, ‘स्कुल गएका छोराछोरी लिन जान पनि निकै गाह्रो भइरहेको थियो ।’ २० मिनेट हिंड्दा खलखली आएको पसिनाले शरीर भिजेर बस्नै नसकिने अवस्था रहेको उनले बताइन् ।


चर्को घामसँगै तातो हावा चल्दा सर्वसाधारणलाई हिंडडुल गर्न निकै सास्ती भइरहेको छ । छिटफुट रूपमा हिंड्ने सर्वसाधारण पनि मुख/टाउको छोपेर हिंडडुल गर्ने गर्छन् । ‘छाता नभई त हिंड्नै सकिंदैन,’ नयाँ टोलका माधव घिमिरेले भने, ‘नहिंडी नहुने मात्र बाटोमा देखिन्छन् ।’ बाटो पनि सुनसान छ । तातो हावाले मानिस हिंडडुल गर्न सकिरहेका छैनन् । ‘दिनभरि चल्ने पश्चिमी तातो हावाको वेगले शरीर पोल्छ,’ आनन्दवागका भूपाल थापाले भने, ‘खान मन नलाग्ने र जीउ दुख्दा बिरामी परेको छु ।’


तातो हावा निरन्तर चलिरहेका कारण सापेक्षित आर्द्रता बढेपछि गर्मीले उछितो काढेको छ । जलवायु परिवर्तनका कारण हरेक वर्ष ताप बढ्दै गर्मी बढेको महसुस भइरहेको हो ।


गर्मीले मजदुर बढी मारमा परेका छन् । रिक्सा चलाएर सात जनाको परिवार पाल्दै आएका सिकटवाका बिल्लु यादवले एक–दुई दिनयता दैनिक सय रुपैयाँ पनि कमाइ हुन छाडेको बताए । ‘गर्मीका कारण सर्वसाधारण बाहिर ननिस्कँदा हाम्रो पेसा त संकटमै पर्‍यो,’ उनले भने ।


गर्मीले सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घटेको छ । तातो हावाले आँप र तरकारीलाई नोक्सानी पुर्‍याएको छ । अब सबैको उत्पादन घट्ने निश्चित भएको तरकारी जोनका सहायक कृषि अधिकृत खुर्सेद अहमद खाँले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?