कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमै रोजगारीले खुसी

वीरेन्द्र केसी

अर्घाखाँची — मालारानी गाउँपालिका–५, बाँगीकी विष्णुकुमारी केसीले गाउँकै डाँडाखर्क जोडने सडकमा काम पाएकी छन् । ‘सडकमा खाल्टा पुर्ने, नाली काट्ने, ढुंगा बोक्ने काम गरिरहेका छौं,’ उनले भनिन्, ‘सरकारी ज्यालामा काम पाउँदा खुसी लागेको छ ।’

बेरोजगार हुँदा गफ गरेर समय बित्थ्यो । बिहान र बेलुका घरको काम हतारहतार सकेपछि ९ देखि ४ बजेसम्म रोजगारी पाएपछि खुसी लागेको केसीले बताइन् । खनकी सावित्रा खनाल पनि घर नजिकैको सडकमा काम पाएपछि दंग छिन् । ‘सरकारले हामीलाई सधैं रोजगारीको व्यवस्था गरिदेओस्, हामी काम गर्न सधैं तयार छौं,’ उनले भनिन् ।


६ स्थानीय तहमध्ये मालारानी गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगर कार्यक्रम सुरु भएपछि बेरोजगारले काम पाएका छन् । ३० दिने रोजगारीमा सडकको नाली काट्ने, भल तर्काउने, एक वडाबाट अर्को वडासम्म पुग्ने सडकको काम गरिरहेका छन् । गाउँपालिकाका ९ वटै वडामा पोखरी निर्माणलगायत काममा १ सय ७२ जनाले काम पाएका हुन् । काम गरेबापत उनीहरूले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउँछन् । मालारानीमा बेरोजगार सूचीकृतको संख्या ३ हजार ७ सय २८ रहेको छ ।


स्वरोजगारका लागि मालारानीमा मात्रै ३८ लाख रुपैयाँ बजेट परेको छ । एउटा वडाबाट अर्को वडा जोड्ने र आन्तरिक रिङरोडका सडकमा भेल तर्काउन नाली काटने र पर्खाल लगाउने काममा खटिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । वर्षामा भेलले सडक खोल्ने र बिगार्ने समस्या छ । नाली काटेर भेल सडकमा आउनबाट छेकेपछि सडक बिग्रनबाट जोगिन्छ ।


गाउँमा आवश्यकताअनुसार पोखरी निर्माण गरिँदै छ । वर्षाको आकासे पानी संकलन गरी हिउँदमा सिंचाइ गर्न पोखरी निर्माण गर्न लागिएको अध्यक्ष आचार्यले बताए । आफ्नै गाउँमा रोजगारी पाएपछि बेरोजगार अहिले खुसी छन् । एउटा वडामा ४ देखि ५६ जनासम्मलाई आवश्यकताअनुसार काममा खटाइएको छ । सबैभन्दा धेरै वडा–४ मा ५६ जनाले काम गरिरहेका छन् । ग्रुपमा विभाजन गरेर बाटाका काममा लगाइएको छ । वडाभित्रका गाउँमा ४ वटा पोखरी निर्माणको काम भइरहेको छ ।


प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत छत्रदेव गाउँपालिकामा ३६ लाख रुपैयाँ बजेट परेको छ । कार्यक्रम संचालन गर्न तयारी गरिएको छ । भूमिकास्थान नगरपालिकामा १ सय ९० जना छनोट गरिएको छ । केही दिनमा काम पाउनेछन् । शीतगंगा नगरपालिकामा ४५ लाख, पाणिनिमा ३६ लाख रुपैयाँ बजेट आएको छ । मंगलबार १ सय २० जनालाई काममा खटाउने तयारी छ । सन्धिखर्क नगरपालिकामा ५२ लाख बजेट छ । यहाँ कामदार छनोट प्रक्रिया अघि बढेको छ ।


सडकलाई कम प्राथमिकता

रोल्पा– त्रिवेणी गाउँपालिकामा नयाँ सडक निर्माण योजनाबारे छलफल भएको छैन । ‘गाउँपिच्छे सडक खन्ने चलनले ठूलो आर्थिक क्षति भयो,’ गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने, ‘पुराना सडक मर्मत गर्न र अन्य क्षेत्रमा बजेट खर्चिने योजना बनाइरहेका छौं । नयाँ सडक खन्ने काम अब सकियो ।’


विगतमा सडक खन्ने कार्यमा बजेट खर्च गरे पनि अब कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा बजेट खर्च गर्नेबारे जनप्रतिनिधिबीच छलफल भइरहेको उनले बताए । पूर्वाधार निर्माणका योजना सम्पन्न गर्न सजिलो भएको अनुभव सुनाउँदै अध्यक्ष वलीले यस्ता योजनामा आफ्नै कार्यकर्ता र ठेकेदारले बढी चासो देखाएको बताए ।


‘काम चाँडो सक्ने, प्रगति छिटो देखाउने र नाफा पनि हुने देखेर धेरै प्रकारको दबाब पनि आउँदो रहेछ,’ उनले भने, ‘अबको बजेट कृषि उत्पादन र रोजगारी सिर्जना गर्ने योजनामा लगाउने सोच छ । यसमा साथ दिन सबैसँग आग्रह गर्छु ।’ उनले स्थानीयको सरोकार र लक्षित समूहका लागि बजेट खर्च गर्दै उपलब्धिमूलक योजना छनोट गर्नमा ध्यान दिएको समेत सुनाए ।


चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार योजनाका लागि प्राप्त करिब ३० करोड बजेट त्रिवेणी गाउँपालिकाले उत्पादनमूलक योजनामा लगाउने निश्चित भएको छ । सजिलो भूगोल मानिएका विभिन्न ५ वटा साबिकका गाउँ विकास समितिलाई गाभेर त्रिवेणी गाउँपालिका गठन गरिएकाले सडक निर्माण मुख्य प्राथमिकतामा नपरेको अध्यक्ष वलीले बताए ।


‘गाउँपालिकाभित्र दुईवटा चक्रपथ निर्माण गरिएको छ,’ उनले भने, ‘अब यिनको नियमित सुधार गर्ने र सडकको लाभयुक्त प्रयोग गर्ने योजना छनोट गर्नेतर्फ लागिनेछ ।’ जुगार, बुढागाउँ, नुवागाउँ, करेटी र गैरीगाउँ गरी ५ वटा साबिकका गाविसलाई त्रिवेणी गाउँपालिका बनाउने क्रममा गाभिएको थियो । गाउँपालिकाको केन्द्र जुगारको नेर्पामा छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?