कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'एक वन एक पोखरी’ अभियान

रूपन्देही — वातावरण संरक्षण गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ‘एक वन एक पोखरी’ अभियान सुरु गरेको छ । रूपन्देहीस्थित चुरे र त्यसको फेदमा रहेका सामुदायिक वनमा पोखरी निर्माण गरिने उपमहानगरले जनायो ।

चुरेको वन जोगाउँदा त्यहाँ पानीका स्रोत संरक्षण हुने र पोखरी निर्माणले वन्यजन्तु र पक्षीले पानी पिउन पाउने उपमहानगरको भनाइ छ ।


तराईमा भूमिगत पानीको स्रोत पनि सुक्न थालेकाले सुधार गर्न र वातावरण संरक्षणका लागि पोखरी निर्माण अभियान सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । अहिले यहाँस्थित पुराना पानीका मूल र पोखरी मासिएकाले जमिनमुनिबाट पानी आउन छाडेको छ ।


वातावरण जोगाउने अभियानमा समुदायलाई सहभागी गराउने उद्देश्यले पोखरी निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको प्रमुख सुवेदीले बताए ।


बुटवलमा २० वटा सामुदायिक वन छन् । यीमध्ये अहिले ७ वटा वनमा पोखरी निर्माण गरिएको छ । चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेका छन् ।


पोखरी निर्माणका लागि चालु आवमा बजेट विनियोजन गरेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । यसका लागि चालु वर्ष २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत वर्षको नगरसभाबाट पारित भएको कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।


चुरे सामुदायिक वनका अध्यक्ष कमल केसीले चिडियाखोलाभन्दा माथि रहेको चिसापानीमा पोखरी निर्माण गरिएको बताए । त्यहाँ प्राकृतिक मूल रहेको छ । चारपालाको प्रगतिनगरदेखि पानी रहेको पुरानो नर्सरीमा पोखरी खनिएको छ । त्यहाँ वर्षातो पानी संकलन गर्ने लक्ष्य रहेको वनका अध्यक्ष रामबहादुर पुनले बताए ।


शिवनगरको आँपखोलामा पोखरी खनिएको छ । त्यहाँ नजिकैको पानीको प्राकृतिक मूललाई संरक्षण गरेर पानी पोखरीमा ल्याइनेछ । वन्यजन्तुका लागि र पानीको सीमसार बढाउनका लागि पोखरी खनिएको उक्त वनका अध्यक्ष नारायणबाबु बस्नेतले बताए ।

प्रकाशित : असार ९, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?