कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कवाडीले मालामाल

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट कवाडी सामान अवैध रूपमा भारत निकासी बढेको छ । एकपटक प्रयोग भएका फलाम, ब्याट्री, टायर, प्लास्टिक, जस्तापाता, तामालगायतका सामानको अवैध ओसारपसार बढेको छ । नेपालमा भन्दा भारतमा कवाडी सामानको मूल्य बढी रहेकाले चोरी निकासी बढेको हो ।

मूल भन्सार भए पनि चोर नाकाबाट खुलेआम निकासी हुँदा पनि भन्सार र सुरक्षाकर्मीले वास्ता नगरेको स्थानीयको गुनासो छ । झट्ट सुन्दा कवाडी व्यवसायमा के फाइदा होला भन्ने सबैलाई लाग्छ । तर, यो व्यवसायमा फाइदा बढी हुने पत्तो पाएकाहरू यसैको तस्करीमा लागिरहेका छन् ।

सीमा क्षेत्रमा राखिएका गोदामबाट व्यवसायीहरूले भारतको ठुठीबारी हुँदै भरिया लगाएर अन्य बजारमा पुर्‍याउने गरेका छन् । महेशपुर, झोलनीपुर, भुजहवा नाकाबाट कवाडी सामानको अवैध चोरी निकासी हुने गरेको छ । सुरक्षाकर्मीले पनि पुराना सामान ओसारपसार हुँदा निगरानी कम गर्ने गर्छ । कवाडी व्यवसायमा १ सयदेखि ५ सय प्रतिशतसम्म मुनाफा हुने गर्छ ।

सीमावर्ती गोदामका कवाडी सामान साइकल र रिक्सामार्फत तस्करले भारत पुर्‍याउने गरेको स्थानीय रमेश चौधरीले बताए । ‘केही सामान भन्सार गराउने र अधिकांश चोर बाटो हुँदै भारत लैजान्छन्,’ उनले भने, ‘झट्ट हेर्दा र सुन्दा कवाडी व्यवसाय गर्न आनाकानी गरे पनि यस क्षेत्रमा धेरै फाइदा हुन्छ भन्ने सुनेका छौं । कवाडी सामानका रूपमा दिनहुँ महत्त्वपूर्ण सामान भारत गइरहेको छ ।’

सीमा नाकामा कवाडीको काम गर्ने व्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा फर्म नै दर्ता गरेर त्यस्ता सामान संकलन गर्ने गरेका छन् । विभिन्न स्थान र जिल्लाबाट ल्याइएका कवाडीका सामान गोदाममा राख्ने गर्छन् । संकलन गरेका कवाडी सामान नेपालका विभिन्न उद्योगमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले कवाडी पसल दर्ता गरेका छन् ।

तर, सीमा नाकाको दशगजा क्षेत्र नजिक गोदाम नै राखेर केही व्यवसायीले कवाडी सामान भारततर्फ चोरी निकासी गर्ने गरेका हुन् । नेपाल र भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीलाई झुक्याउने र आर्थिक प्रलोभनमा पारेर सामान निर्यात गर्ने गरेको स्थानीयको आरोप छ ।

भन्सार कार्यालयले विभिन्न सामानको निकासी भन्सार दस्तुर तोकेको छ । तर, अन्य मुलुकमा जाने कवाडी सामानको भन्सार नतोकिएको भन्सार कार्यालयले जनाएको छ । भन्सार नलाग्ने भए पनि कवाडी सामान भारतर्फ लैजान नपाइने भन्सार कार्यालयले जनाएको छ । महेशपुर मूल भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले नाकाबाट ठूलो मात्रामा कवाडी सामान भारततर्फ निकासी भइरहेको सूचना पाएको बताए ।

‘भन्सार विभागले शुल्क नतोकेपछि हामीले यसबारे चासो राख्ने कुरा आएन्,’ उनले भने । जिल्लामा कवाडी सामानको कारोबार गर्ने उद्देश्यले ३४ पसल र फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय परासीले जनाएको छ । सबैभन्दा बढी सीमावर्ती पाल्हीनन्दन गाउँपालिकामा १४ वटा दर्ता छन् ।

प्रकाशित : असार ११, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?