कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा बजेट खर्च भएन

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकामा जेठ मसान्तसम्म पुँजीगत खर्च ३५ प्रतिशत मात्र रहेको छ । जेठ मसान्तसम्मको खर्च सार्वजनिक गर्दै लेखा अधिकृत दिवाकर अर्यालले कुल ८५ करोड ६३ लाख ८४ हजार ५ सय रुपैयाँ बराबरको प्रस्तावित आम्दानीमा जेठ मसान्तसम्म ५२ करोड २६ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको छ ।

तर, चालु र पुँजीगत दुवै खर्च जोड्दा ६१ प्रतिशत छ । ‘पुँजीगत खर्च मात्र हिसाब गर्दा भने अत्यन्तै न्यून छ,’ उनले भने, ‘कुल पुँजीगत बजेटको ३५ दशमलव ०४ प्रतिशत मात्र खर्च भएको छ ।’


अनुमगन जान नपाएको, कार्यालयमा फाइल आइसके पनि भुक्तानी दिन नसकेको र कतिपय बजेट नै ढिला गरी आएकाले पनि खर्च कम भएको उनले बताए । असार मसान्तसम्ममा ८० प्रतिशत बढी खर्च हुने दाबी उनको छ । कतिपय संघ र प्रदेशबाट आउने बजेट ढिला आएको, समपूरक कोषको खर्च हुन नसकेको, ठेक्का ढिला लागेकाले पनि खर्चमा समस्या देखिएको उनले बताए । ‘असार मसान्तसम्म चालु र पुँजीगत गरी ९० प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य गरिएको छ,’ नगर प्रमुख अशोककुमार शाहीले भने, ‘प्रस्तावित आम्दानीमा केही बजेट आउन ढिलाइ भएका कारणले खर्च रकम कम देखिएको हो ।’


कतिपय बजेट चैत, वैशाखमा समेत अख्तियारी आएका थिए । संघीय समपूरक अनुदान, पाल्पा दरबार संग्रहालय, सडक बोर्डको बजेट, जगेडा कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलगायतका शीर्षकको बजेट आउन ढिलाइ भएकाले पनि खर्चमा कम देखिएको उनले बताए । ‘लक्ष्य अनुरूप बजेट खर्च हुन नसक्नुको कारण प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीको पटकपटक भएको सरुवा पनि कारण हो,’ उनले भने, ‘तर पनि असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न गरिनेछ ।’


केही योजना फर्स्योटका लागि पाइप लाइनमा रहेको र केही काम अन्तिम चरणमा पुगेको प्रमुख शाहीले बताए । नगरअन्तर्गत रहेका ३ सय ७९ योजनामध्ये १ सय ९४ वटा योजनाको फरफारक भइसकेको दाबी प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले गरे । ‘बाँकी योजनाको काम सम्झौता अनुसार अन्तिम चरणमा पुगेको छ,’ उनले भने । पूर्वखोला गाउँपालिकाको पनि ४५ प्रतिशत बढी पुँजीगत खर्च भएको छैन । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सोचेअनुसारको खर्च गर्न समस्या रहेको बताए ।


शिक्षा, स्वास्थ्य, सडक, पर्यटनलगायत धेरै क्षेत्रमा बजेट विनियोजन गरेर कार्ययोजना बनाएको उनले बताए । तर, जनशक्ति अभावले गर्दा ठीक समयमा ती कार्ययोजना पूरा हुन सकेनन् । ‘कामको हिसाबले ७५ प्रतिशत बढी सकिएको छ,’ उनले भने, ‘भुक्तानीको हिसाबले कुरा गर्दा ४५ प्रतिशतको हाराहारीमा रहेको छ ।’ वडा समिति, उपभोक्ता समितिलगायतबाट कागजपत्र पूरा नगर्दा पनि समस्या भएको उनले बताए ।


खर्चको अवस्था रामपुर नगरपालिकाको पनि उस्तै छ । निस्दी, माथागढी, बगनासकाली, रम्भा, तिनाउ, रिब्दीकोट, रैनादेवी छहरामा पनि वडाका योजना, गाउँपालिकास्तरीय साथै संघ र प्रदेशको योजनाका कारण भुक्तानीमा ढिलाइ भएको छ । अधिकांश स्थानीय तहले ५० प्रतिशत पुँजीगत खर्च गरेका छन् ।


‘योजना सम्पन्न भए पनि विभिन्न कारणले गर्दा भुक्तानीमा ढिलाइ भएको हो,’ तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले भने, ‘असार मसान्तसम्ममा ८० प्रतिशत बढी नै खर्च अनुपात पुग्नेछ ।’ स्थानीय तहले आफ्ना पालिकामा तला थप्ने, कम्पाउन्ड बनाउने, जस्तापाता किन्ने, सामुदायिक भवन, खेल मैदानलगायत काममा अहिले धमाधम खर्च भइरहेको जनाएका छन् । निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले पुँजीगत काम अगाडि बढाएर जेठमै फरफारकको काम सिध्याउने बताएका थिए ।


तर, सोही अनुसार वडाबाट आउने योजना, पालिकास्तरीय ठूला योजना, संघ र प्रदेशस्तरीय योजनाका कारण भुक्तानीमा ढिलाइ भएको उनले बताए । अघिल्लो वर्षमा भन्दा यस वर्ष काममा तीव्रता दिएको स्थानीय तहको दाबी छ । स्थानीय तहले तेस्रो सभाबाट पारित तथा चौथो गाउँसभाबाट संशोधित पालिकाको बजेट तथा कार्यक्रम र पालिकाले गरेको सेवा प्रवाहको समीक्षा गरेर अघि बढ्ने गरेको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए ।


‘आगामी वर्षका लागि योजना तय गरिसकिएको छ,’ उनले भने, ‘तर, अघिल्लो वर्षका फर्स्योट र फरफारकमा ढिलाइ भएको छ ।’ संघ र प्रदेशका ६०/४०, ८०/२० का योजनामा भएको ढिलाइले पनि स्थानीय तहमा पुँजीगत खर्च हुन सकेको छैन ।

प्रकाशित : असार १२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?